Sunday, July 18, 2021

कथा समालोचना : "छापामारकी स्वास्नी" कथाका पन्ध्र दृष्टि - नन्दलाल आचार्य

 कथाकुनोको  शुभकामनासहित


कथा समालोचना : "छापामारकी स्वास्नी" कथाका पन्ध्र दृष्टि


- नन्दलाल आचार्य



 दिनभर सडकका ढुङ्गा टिपिहिँड्नु, चौतारो र प्रतिक्षालयमा कुचो लाउनु, नदी कुवा र पँधेरामा जमेको फोहोर प्रत्येक दिन सफा गर्नु, बाटा र खोलामा फ्याँकेका काँढा टिपेर जलाउनु, गाँउमा भोकाएको वस्तुलाई घाँस काटेर दिनु, सडकमा नाकभरि रालसिँगानको लेघ्रो बोकेर नानी देख्दा सिँगान पुछिदिनु, आफ्नो घरको कुनै ठेगान नहुनु, तर कोही खान नपाएर भोकै बसिरहेको छ कि भनेर चिन्ता गर्नु, बूढाबूढी एवं अशक्तहरूको काम सित्तैमा गरिदिनु, आफ्नो आङ् नाङ्ो राखेर अर्कालाई भएको जाडोको चिन्ता गर्नु, आफ्नो पेटको हेक्का नराखी अर्काको पेटको हेक्का राख्नु, सडकमा उभिएर सत्य र न्यायको स्वरहरू उराली हिँड्नु, एक छिन पनि नसुस्ताई सार्वजनिक स्थलमा थाँती रहेका सानातिना कामहरू गरिरहनु, जनताले चेतना भेट्ने खालका जनगीत श्लोक र कविता स्वतःस्फुर्त रुपमा भन्नु, बोरा नै ओड्नु, र बोरा नै लगाएर हिँड्नु, भोक रोग र शोकमा डुबेको समाज देख्ता आफूले लगाएको वस्त्रको मूल्य नदेखी त्याग गर्नु, सबै नेपालीले सजिलै खान नपाउने त्यो पनि आयातित नुन खानु, र विदेशीको कृतार्थ हुनुभन्दा अलिनै बस्नु उचित छ भनेर नुन त्यागिदिनु, विना श्रम अर्काले दिएको कुनै पनि चिज नखाँने र नलिँने सिद्धान्तमा जीवनपर्यन्त अडिग रहनु, जस्ता क्रियाकलाप गरी जीवन विताएका त्यस्ता महापुरुषलाई पनि उदयपुरले जन्मायो । ती महापुरुष हुन्- गम्भीरबहादुर थापा । राजनीतिमा सानो मान्छेलाई पनि पोशाक चाहिन्छ तर साहित्यमा भने सम्राट पनि नाङ्गै हुन्छ भन्ने विश्वेश्वरप्रसाद कोइराला साहित्यमा आफूलाई अराजकतावादी ठान्थे । अहिले त नेपाली समाज आफैँ पागल छ अराजक छ । अनि आफ्नो पागलपन र अराजकताको ढाकछोप र आफ्नो टिठलाग्दो विक्षिप्तता लुकाउन गम्भीरबहादुर थापा जस्तालाई पागलको संज्ञा दिन्छ । उनकै बाटो अंगाल्न पुगेका अर्का गाउँघर ब्युँझाउने कवि हुन्-लेखबहादुर कार्की । त्यस्तै अन्य बालकृष्ण पोखरेल मातृका पोखरेल पुन्य कार्की टीकाराम पौडेल इन्द्र राउत दीपक चिन्तक जोतारे धाइवा स्वस्ती थापा महेश्वर चामिलङ् रत्नप्रसाद काफ्ले गिरिलाल परियार तेजनारायण शेर्पा भक्तबहादुर िसंह यादवकुमार कार्की केदारकुमार थापा शंकरबहादुर थापा भागवत राउत जीवराज ढुगााना हरि शरण हेमबहादुर बस्नेत कुबेरध्वज कार्की छविनकुमार मगर मदन तामाङ् नारायण कार्की बोधविक्रम घिमिरे शिवहरि राई नारायण काफ्ले बिमल कार्की कुमारिसंह कार्की नन्दप्रसाद पोखरेल राजकुमार खड्का कौशल चेमजोङ् वृषबहादुर तामाङ् कपिल ठकुरी बिरशबाबु शाही लीलाप्रसाद निरौला नन्दलाल आचार्यजस्ता दर्जनौँ कलमजीवीहरूमा बलियो कलमका साथ देखापरेका स्रष्टा हुन्-राममणि पोखरेल ।


राष्ट्रिय स्तरमा द्वन्द्व कथा लेखन क्षेत्रमा नाम कमाएका खगेन्द्र संग्रौला दिल सहानी डा बराल मातृका पोखरेल पुन्य कार्कीहरू अग्रपंक्तिमा छन् भने यिनै कथाकारहरूको लहरमा आफूलाई उभ्याउन खोज्ने राममणि पोखरेल पनि सिद्धहस्त कथाकार रुपमा चिनिएका छन् । समाजमा घटेका अन्याय अत्याचारका कहिरन र दुःख पीडा र बेचैनीका बेलिविस्तार उनका कथामा प्रशस्त भेटिन्छन् । कतै तराईको कतै पहाडको त कतै हिमालको आाचलिकता दर्शिने घटनाक्रम पनि प्रशस्त छन् । अग्रगामी विचारयुक्त कथा लेखन धेरै ठाउँमा एक न एक आदर्श पात्रको जन्म प्रकृतिको वस्तुगत चित्रण निम्न वर्गीय मानिसहरू प्रति विशेष सहानुभूति अन्याय थिचोमिचोको विरोध आाचलिकताको प्रभाव जस्ता प्रवृत्तिहरू कथाकार पोखरेलमा पाइन्छन् । युद्धमा पिल्सिएकाहरूको व्यथा सम्बोधन गर्ने काम पनि यिनीबाट भएको छ । मूलभूत रुपमा यिनी समाज रुपान्तरणको पक्षमा मत जाहेर गर्दछन् । मैथिली भाषाको संवादले कथा रोचक बनेका छन् तर कतैकतै लामा संवादका कारणले भने खोजेजस्तो परिपाक तयार नभएको स्पष्ट झलक मिल्दछ । कुनै कथाहरू त टिपोटजस्ता लाग्ने पनि छन् । परिष्कृत भाव हुँदाहुँदै पनि विषयवस्तु जताततै छरिएकोले स्पष्ट भाव प्रकटमा कमी भने नपाइने होइन । जे होस् उदयपुर जस्तो ठाउँमा एक साहित्यिक हस्ती उदाउनु र जनताले आफ्ना पिरमार्का सम्बोधन गर्ने कलमजीवि भेट्नु गर्वको कुरा हो ।

उनले "हरिमानको आत्महत्या", "सोममाया र शान्ति अभियान", "दण्डहीनता" र "सूचना टाँस" गरेर चारवटा कथासंग्रह प्रकाशन गराएका छन् । "सूचना टाँस" कथासंग्रहमा जम्मा १५ वटा कथा रहेका छन् । ती हुन्-"बुहारी", "सूचना टाँस", "छिमेकी", "मित्रता", "स्वनाम धन्य व्यक्तिका आँखा", "छापामारकी स्वास्नी", "पीडितको पक्षमा कानून" व्यवहार र विचार", "पश्चात्तापले निहुरिएको शिर", "भगौडाको ताँती", "विस्थापित देशभक्त", "खतिवडा कान्छा र मनि एक्सन", "अर्धचेत गाउँ", "इन्द्रमती" र "द्वन्द्व पीडितको बयान" ।

"सूचना टाँस" कथासंग्रहको "छापामारकी स्वास्नी" कथामा छापामार प्रकाश उनकी श्रीमती डल्ली र बालक छोरो अनि म पात्र जस्ता पात्रहरू मुख्य रुपमा छन् । प्रत्यक्ष भूमिकामा रहेकी डल्ली र म पात्र नै कथामा महत्वपूर्ण भूमिका खेल्ने पात्र हुन् । प्रकाशले जनयुद्धमा लागेर ज्यान गुमाए पछि डल्लीलाई व्यवहार धान्न मुस्किल पर्छ । पतिको जायजेथा आफ्नो नाममा सार्न लागेकी डल्ली सहयोगको अपेक्षा लिएर म पात्रकहाँ पुगेकी हुन् । मृत्यु कसरी भएको हो र भविष्यका लक्ष्यहरू केके हुन् भन्ने बारे लामै हुन्छन् । म पात्रले पनि नामसारीको काम फत्ते गर्दिने आश्वासन दिएर कथा समाप्त भएको छ । यहाँ विवेच्य कथाका लागि चन्द्रमोहन जैन नामले बाल्यकालमा चिनिएका ११ डिसेम्बर १९३१ मा भारतको मध्यप्रदेश जवलपुरमा जन्मेका र १९ जनबरी १९९० मा देह त्याग गर्न पुगेका ध्यान योग प्रणायम र सशक्त विचारबाट विश्वलाई नै विउँझाउनॆ एक महापुरुष दार्शनिक ओशोका दृष्टिकोणको सहयोग लिइएको छ । यहाँ उनैका जीवनोपयोगी तर्कहरूका आधारमा कथाकार पोखरेलको "सूचना टाँस" कथामा समाविष्ट "छापामारकी स्वास्नी" शीर्षकको कथामा केन्द्रित भई पन्ध्र किसिमका दृष्टिकोणको संक्षिप्त विवेचना गर्ने अभीष्ट लिइएको छ ।

१) "छापामारकी स्वास्नी" भित्रको हाँसो:- दार्शनिक ओशो हाँसोको बारेमा भन्छन्- "हाँसोले तिमीलाई निर्मल बनाउँछ । तिमीलाई जीवन्त ऊर्जावान् तथा सिर्जनशील बनाउँछ । हाँसो मानिसले प्रकृतिबाट पाएको सबभन्दा गहिरो औषधी हो । हरेक विहान जाग्नासाथ आँखा नखोलीकन पाँच मिनेट खित्का छाडेर हाँस । त्यसले पूरै दिन उत्सवमय बनाइदिनेछ ।" कथामा भने छापामारको छोरो खान नपाउँजेल छटपट गरिरहेको थियो । भात दिएपछि भने "भातको कचौरा दलानमा राखेर आमा र मेरो मुख हेर्दै भातमा हात गाडेर मुछ्न थाल्यो र कपाकप हसुर्न थाल्यो" भनेर थोरै हँसाउन खोज्छ । त्यस्तै "चारोले आन्द्रो भरिए पछि डल्लीले आफ्नो बयान मलाई सुनाउन थाली" भन्ने कुराले पनि खान पाएपछि गफ आउँने सन्दर्भलाई विचार्दा हँसाउँछ तर यी दुबै प्रसङ्ले बौद्धिक तवरले हँसाएका हैनन् । मान्छेको निरीहपनमा मन खोलेर हाँस्न सकिन्न ।

२) "छापामारकी स्वास्नी" भित्रको गरिबी:- दार्शनिक ओशो गरिबीको बारेमा भन्छन्-"गरिबी प्रकृतिको सिर्जन होइन । परमात्माले सम्राट मात्र जन्माउँछ । संसारमा गरिब कोही पनि छैन । सबैसँग अपार सम्पदा छ । तर मानिसको धारणा गरिब छ । मानिसको दृष्टि दुःखपूर्ण छ । दुःखपूर्ण दृष्टिबाट मुक्ति नै दुःखबाट मुक्ति हो ।" कथामा सामान्य सारी र सस्ता चप्पल लगाएकी डल्ली र भोको छोरोको चित्रण छ । निधन भइसकेका पतिको जेथा आफ्नो नाममा पार्ने डल्लीको कथन छ । यी सम्पूर्ण कुराहरू भौतिक अभाव र असन्तोषका कुराहरू हुन् । दृष्टि दुःखपूर्ण हुँदा मात्र मान्छे गरिव हुने भएकोले र श्रम गरी जीवन धान्ने सामर्थ्य डल्लीमा रहेको कारण उनी गरिव छैनन् । गरिव भन्नु नै दुःखपूर्ण सोच र दृष्टिभ्रम मात्र हो । भौतिक सम्पदाका मालिकका निम्ति पनि यो प्रकृति उस्तै छ डल्लीका लागि पनि उस्तै हो । डल्लीको पछिल्लो खुजुरा पसल गर्ने योजना र सुखको दृष्टि भने ओशोदृष्टिमा समायोजन गर्ने दृष्टिकोण हो ।


३) "छापामारकी स्वास्नी" भित्रको देवता:- दार्शनिक ओशो देवताको बारेमा भन्छन्- "देवता कतै आकाशबाट आउँदैनन् । सबै यहीँ छन् । खास गरी हाम्रै वरिपरि नै मल्टी डायमेनसनल एक्जिस्टेन्स छ । एउटै विन्दुमा बहुआयामिक अस्तित्व छ । एउटै विन्दुमा त्यो सबै हुन्छ । तिमी आफूलाई देवतामा परिणत गर्न सक्छौ ।" मान्छेले गणेश भगवान् भन्दै पुज्दै आएको हात्तीले गाउँमा आतङ्क फैलाएको र त्यसलाई धपाउन ढ्याङ्ग्रंो ठोक्ने आगाको राँको बाल्ने ठूलो स्वरले कोलाहल मच्चाउनुपर्ने काम गर्नुपरेको कुरा कथामा वर्णित छ । मान्छेको देवताले मान्छेलाई नै दुःख नदिनुपर्नेमा दिएर विरोधाभाषी अवस्था सिर्जना भएको छ । राजनेता तथा प्रहरी प्रशासनले आफ्नो कर्मद्धारा देवतुल्य हुनु पर्ने हो तर विपरीत दिशाातर्फ उन्मुख अवस्था मात्र कथामा आएको छ । यस समाजमा आफूलाई देवतामा परिणत गर्न लायकको पात्र नजन्मिएको कुरा कथामा आएको छ । समाजमा भएका कुरा दुरुस्त उतार्दा यस्तै अवस्था आउँछ भन्ने कुरा पनि यहाँ स्मरणीय छ ।

४) "छापामारकी स्वास्नी" भित्रको मानिस:- दार्शनिक ओशो मानिसका बारेमा भन्छन्- "कुनै पनि मानिसमा उसका पहिलेका जन्महरूको स्मृति जगाउने हो भने थाहा हुन्छ ऊ मानिस हुनुभन्दा पहिले गाई थियो आत्मिक विकासको हिसावले । शारीरिक हिसावले त ऊ बाँदर नै थियो । यसरी हेर्दा मानिसको शरीर बाँदरबाट र आत्मा गाईबाट विकसित भएको हो ।" हो मान्छेको मन सुधो छ तर काम बाँदरको भन्दा फरक छैन । मान्छे विहीन अवस्था त कथामा छैन । भएका सबै मान्छे असल नियतका पनि छैनन् र सबै खराबै नियतका हुन् भन्न पनि मिल्दैन । शान्तिसम्झौता पछि पहिलेका साथीहरू गाह्रो गरेर बोल्छन् । अझ संविधानसभाको निर्वाचन पछि त बोलचाल नै छैन भनेर डल्लीले दिएको वयान मान्छेको स्वार्थीपन बुझ्न घतलाग्दो र मननीय छ । यसले मान्छे दिनप्रतिदिन स्वार्थी बन्दै गएको मानवीय मूल्य र मान्यतामा कुठाराघात भएको देखाउँछ । मानिसको शरीर बाँदरबाट र आत्मा गाईबाट विकसित भएको हो भन्ने कुराको प्रमाण कथामा वर्णित पात्रहरूको मनोदसाले पुष्टि गर्दछ ।

५) "छापामारकी स्वास्नी" भित्रको जीवन:- दार्शनिक ओशो जीवनका बारेमा भन्छन्- "मेरो दृष्टिमा जीवन नै परमात्मा हो र जीवन नै मोक्ष हो । जो मानिस जिउने कला जान्दछ जीवनको गहिराइमा तैरिन र उचाइमा पुग्न सक्छ । त्यो मानिसले कहिल्यै सोध्ने छैन कि जीवनको लक्ष्य के हो उसलाई त जीवन नै प्रयाप्त हुनेछ ।" अर्कै केटोसँग घरजम गरेर जीवन चलाऊँ कि प्रकाशकै अर्धािङ्नी बनेर जीवन चलाऊँ भन्ने द्धिविधामा अल्झेकी डल्लीलाई म पात्रले भौतिक सुख प्राप्त नभए पनि छापामारकी स्वास्नी भएर जीवन धान्न पाउनु गौरवको विषय हो भनेर सम्झाएका छन् । जे भए पनि जनताको काम गर्दागर्दै मृत्युवरण गर्न पुगेकोले एक दिन न एक दिन तिम्रो योगदानलाई तिम्रो संस्थाले कदर गर्दछ भनी डल्लीलाई जीवनवोध गराउने काम गरेका छन् । त्यस पछिको डल्लीको जीवनको लक्ष्य के हो भन्ने बारे स्वयम्मा प्रष्ट छ । यसरी फराकिलो जीवन जिउनुपर्ने कुरा समेत कथाले देखाउन खोजेको छ ।

६) "छापामारकी स्वास्नी" भित्रको प्रेम:- दार्शनिक ओशो प्रेमका बारेमा भन्छन्- "प्रेम स्वभाव हो सम्बन्धको कुरा होइन । प्रेम हो स्टेट अफ माइन्ड । प्रेम हामी भित्रै छ । प्रेम हाम्रो स्वभाव हो जसलाई खोज्न कहीँ जानुपर्दैन ।" पति प्रकाश जनयुद्धमा जान लाग्दा राष्ट्रप्रेमभन्दा पतिप्रेम ठूलो भएको ठानी डल्लीले बम र कार्तोस बोक्न जान पर्दैन भनी रोक्ने कोशिस गरेकी थिइन् । प्रकाश चाहिँ पत्नीप्रेमभन्दा राष्ट्रप्रेम ठूलो ठानी जनयुद्धका छापामार हुन गए । डल्लीका करुण एवं प्रेमपूर्ण कुराहरूका कारणले नै म पात्रले जेथाको नामसारी गर्दिन सहयोग गर्ने वचन दिएका थिए । सासूससुराको प्रेम प्राप्त भएकै कारणले लोग्नेको जायजेथा आफ्नो नाममा नामसारी गर्ने अवसर पाएकी हुँ भन्ने निष्कर्ष डल्लीको छ । यसरी कथाले प्रेमका यी विविध रुपमार्फत् आफ्नो प्रभुत्व जमाएको छ ।

७) "छापामारकी स्वास्नी" भित्रको सेक्स:- दार्शनिक ओशो सेक्सको बारेमा भन्छन्- "सेक्स परमात्माको शक्ति हो । आनन्दको द्धार हो । मैथुनको समयमा मन विचार शून्य हुन्छ । सोही विचार शून्य अवस्था नै आनन्दको वर्षाको कारण हुँदो रहेछ र म भन्छु जुन रसको अनुभूति सेक्सको समयमा हुन्छ त्यो विनासेक्स पनि बसर्िन सक्छ । त्यो सूत्र हो ध्यान । त्यसैले म सेक्सको शत्रु हुँ । तर मेरो शत्रुताको अर्थ के होइन भने म सेक्सको निन्दा गर्छु । मेरो शत्रुताको मतलव के हो भने म सेक्सलाई रुपान्तरण गर्न चाहन्छु । सेक्सको निन्दा गर्ने होइन बरु काम ऊर्जालाई राममा परिणत गर्ने हो ।" यस "छापामारकी स्वास्नी" कथामा सेक्स वारे उत्तिको प्रसङ् आएको देखिन्न । पति वियोगले पीडित डल्लीलाई मन पराउने युवकहरूले र विवाहको प्रस्ताव राख्नेहरूले समेत डल्लीको भौतिक रुपरंगलाई मन पराएको हुनुपर्छ । सेक्सलाई रुपान्तरण गर्ने हिसावको म पात्रको सल्लाह डल्ली र उसका लालाबालाका निम्ति फलदायी हुनुपर्छ ।

८) "छापामारकी स्वास्नी" भित्रको धर्म:- दार्शनिक ओशो धर्मको बारेमा भन्छन्- "तिमीभित्र जुन चेतना छ त्यसको अविर्भाव नै धर्म हो । तिमीभित्र जुन बोध छ त्यसकै प्रज्ज्वलित हुनु धर्म हो । धर्म आन्तरिक क्रान्ति हो । धर्मबाट निरपेक्ष हुनुको अर्थ हो मानिस सत्यबाट निरपेक्ष हुनु । राजनीतिलाई धर्म निरपेक्ष बनाएकै कारण राजनीति झुटको खेती बन्न पुगेको छ ।" जनताले उत्पात मच्चाउने हात्तीबाट बच्न प्रहरीप्रशासन गुहार्दा उनीहरू कानमा तेल हालेर सुत्थे र यसरी आफ्नो धर्म विपरीतको काम गर्थे । असल कार्य गर्नु नै धर्म हो । जनहितमा ज्यान अर्पेका प्रकाशले ठूलो धर्म कमाए । पैतृक धनको सही सदुपयोग गरी लालाबाला सम्हालेर र प्रौढ सासूससुरालाई सक्तो सहयोग पुर्याउने हो भने त्यो पनि महान् धर्म हो । समाजका बेथिति विरुद्ध खरो उत्री जीवन धान्ने संकल्प हुने हो भने डल्ली बढी धार्मिक व्यक्ति ठहरिन सक्छिन् ।

९) "छापामारकी स्वास्नी" भित्रको मृत्यु:- दार्शनिक ओशो मृत्युको बारेमा भन्छन्- "मृत्यु छँदै छैन । मृत्यु एउटा झुट हो । मात्र भ्रान्ति हो । तिमी बच्चा थियौ तन्नेरी भयौ । त्यो बच्चा कहाँ गयो मर्यो तन्नेरी थियौ अब बूढो भयौ । त्यो तन्नेरी कहाँ मर्यो त जसरी मानिसको उमेरअनुसार रुप परिवर्तन हुँदै जान्छ मृत्यु पनि रुप परिवर्तन मात्र हो । शरीरबाट आत्मा अलग हुने प्रक्रिया मात्र हो । शरीर पहिलेदेखि नै मृत हो अब मृतको कसरी मृत्यु हुन्छ आत्मा अमृत हो । अब अमृत त कहिल्यै मर्ने कुरा आएन । भनेपछि यहाँ मृत्यु कतै छैन ।" आन्तरिक दुर्घटनामा परेर प्रकाशको भौतिक शरीर सदाको लागि समाप्त भएको र डल्लीको जीवनमा तुषारापात भएको कुरा कथामा वर्णित छ । ओशोदृष्टिमा प्रकाश मर्दैन मात्र उसले शरीर फेर्छ र रुप फेर्छ । हाम्रो शरीर पलपल मरिरहेको छ तर हामी मरिरहेका छैनौँ । प्रकाशको आत्मा शरीरबाट मात्र अलग भएको हो । तसर्थ प्रकाशका लागि शोक र सुर्ता गरेर डल्लीले ज्यान सुकाउनु र प्रगतिको बाटो आफै थुन्नु किमार्थ उचित छैन । नयाँ नयाँ सोच र सिर्जना उमारेर प्रकाशले छाडेर गएका अधुरा कामहरू पूरा गर्न चित्त लगाउनु नै मृत शरीरको शान्तिको कामना हो । यस खाले आशय कथामा आएको छ ।

१०) "छापामारकी स्वास्नी" भित्रको क्रान्ति:- दार्शनिक ओशो क्रान्तिको बारेमा भन्छन्- "अहिलेसम्म हाम्रो के सोचाइ रह्यो भने क्रान्ति दुईचार वर्षमै होस् । यो बेबकुफी हो । व्यवस्था र शासन बदलेर केही हुँदैन । मानिसको मन बदल्नुपर्छ । त्यसका लागि समय लाग्छ । क्रान्तिको नाममा हठात् सबै कुरा बदल्नेहरूले पहिला समाजको मन बदल्न सक्नुपर्छ । यदि कुनै मुलुक सय वर्षसम्म क्रान्तिकारी हुने हिम्मत जुटाउन सक्दैन भने उसले क्रान्तिको झन्झटमै पर्नु हुँदैन ।" व्यवस्था र शासन बदलिँदैमा क्रान्ति हुन्न । क्रान्ति हुनलाई मान्छेको मन रुपान्तरण हुनु आवश्यक छ । कालो मन भएका शासकहरूको हातमा देशको डाडूपैयु रहिरहने हो भने जस्तो व्यवस्था आए पनि सकारात्मक परिवर्तन केही हुँदैन । कथामा आपसी सद्भाव र छलफल गुमाई त्रास फैलाएर र मान्छेलाई डरपोक पारेर दशौं वर्ष पुराना भौतिक संरचना तोडी आफ्नो निहित स्वार्थ पूरा गर्न मान्छे उद्यत भएको भनी जनयुद्धप्रति कटाक्ष गरिएको पनि छ । साथै राजनैतिक नारा र जुलुसले मात्र मान्छेमा सांस्कृतिक रुपान्तरण नआउने कुरालाई पनि स्थान दिइएको छ । सांस्कृतिक क्रान्ति र रुपान्तरणका निम्ति पुराना संरचना बाधक छन् भने र ती भत्कँदा नै समाजको मन रुपान्तरण हुन्छ भने भत्कनुपर्छ । दुई पैसाको क्षति बेहोरेर बीस पैसाको लाभ मिल्छ भने दुई पैसाको क्षति बेहोर्न तयार रहनुपर्छ ।

११) "छापामारकी स्वास्नी" भित्रको पाखण्ड:- दार्शनिक ओशो पाखण्डको बारेमा भन्छन्- "जो सहजताका साथ बाँच्छ जसको कुनै आदर्श हुँदैन जो आफ्नो स्वभावमा बाँच्छ उसको जीवन पाखण्ड हुँदैन ।" कथामा म पात्र गरिवीले गर्दा चाहेका काम गर्न सकिनँ भन्ने कथन अघि सार्छन् भने डल्ली पनि पतिको ज्यानको सट्टा आर्थिक सहयोग नपाएको गुनासो गर्छिन् । यी सम्पूर्ण कुराले ओशो दृष्टिमा असहजतापूर्वक बाँचेको जीवन भनी ठम्याएको छ । जग्गा बेची खुजुरे पसल बनाउने डल्लीको योजना भने आफ्नो स्वभाव र विचारमा बाँचेको अवस्था हो । त्यहाँ कुनै पाखण्ड छैन । अझ म पात्रलाई नगुहारी कानुनसम्मत ढंगले आफैँ जायजेथाको नामसारी गर्ने काममा लागेकी हुन्थिन् भने त्यो अझ स्तुत्य कार्य ठहरिन्थ्यो । सामाजको यथार्थतालाई दुरुस्त उतार्न खोज्दा यस्तो अवस्था आउनु स्वभाविक हो ।

१२) "छापामारकी स्वास्नी" भित्रको पुरुषस्त्री:- दार्शनिक ओशो पुरुषस्त्रीको बारेमा भन्छन्- "पुरुष एक प्रकारको सतह हो जहाँ सक्रियता छ आँधीतुफान छ । स्त्री एक गहन गहिराइ हो जहाँ सबै मौन र शान्त छ । तर ख्याल रहोस् पुरुषको जुन सक्रियता छ स्त्रीको त्यही गहिराइको माथिल्लो हिस्सा हो । त्यसैले म भन्छु स्त्री केन्द्रमा छ पुरुष परीधिमा छ ।" समाज रुपान्तणको कार्यमा प्रकाश जति सक्रिय रहे डल्ली त्यत्ती गहिराइमा पुग्न सकिनन् । पुरुष एक धारमा उभिए भने स्त्री अर्कै धारमा उभिइन् । पछि समयको आँधितुफानसँगै दुबैको भौतिक विछोड भयो भनी कथामा वर्णित छ । स्त्री अर्थात् डल्ली केन्द्रमा बसेर कार्य गर्न खुजुरे पसल चलाउने योजना बनाउँदै छिन् । आफ्नो सामर्थ्य अनुरुप अघि बढ्दै छिन् ।

१३) "छापामारकी स्वास्नी" भित्रको भोजनकला:- दार्शनिक ओशो भोजनकलाको बारेमा भन्छन्- "भोजन गर्ने बेलामा तिमी भोजनलाई राम्ररी हेर सुँघ । कुनै हतार नगर । भोजन ग्रहणलाई नौ ध्यान बनाऊ । कसैले तिमीलाई पागल ठान्छन् भने ठान्न देऊ । खानालाई चारैतिरबाट ओल्टाइपल्टाई हेर । अनि आँखा बन्द गरेर त्यसलाई छोऊ । गालामा लगाऊ । हर प्रकारले खानाको महसुस गर । अनि थोरै मुखमा लेऊ र त्यसलाई धेरै बेरसम्म स्वाद लिई चपाऊ । त्यसको पूरापूरी स्वाद लेऊ । त्यस वेला तिमीलाई थोरै खाना पनि प्रयाप्त हुन्छ ।" कथामा भने छापामारको छोरो खानका लागि भात पाएपछि भने "भातको कचौरा दलानमा राखेर आमा र मेरो मुख हेर्दै भातमा हात गाडेर मुछ्न थाल्यो र कपाकप हसुर्न थाल्यो" भन्ने प्रसङ् र "चारोले आन्द्रो भरिएपछि डल्लीले आफ्नो बयान मलाई सुनाउन थाली" भन्ने वाक्यांशले भोजनकलालाई समेट्न खोजेको देखिन्छ । स्वाद लिई लिई न खाए पनि एकचित्तले खान बसेकाले छोराको भोजनग्रहण कला आंशिकरुपमा सफलीभूत रहेको स्पष्ट हुन्छ ।

१४) "छापामारकी स्वास्नी" भित्रको राजनीति:- दार्शनिक ओशो राजनीतिको बारेमा भन्छन्- "राजनीतिको अर्थ हो अर्कोमाथि विजय पाउनु । जहाँ अरुमाथि विजय पाउनु छ त्यहाँ सत्यको कुनै प्रयोजन हुँदैन । त्यसैले राजनीतिमा सत्यले कहिल्यै विजय प्राप्त गर्दैन । राजनीति सत्यको जगमा हुँदैन । जुन दिन राजनीतिमा सत्यको विजय हुन थाल्नेछ त्यस दिन खासमा राजनीति खासमा राजनीति नै रहने छैन । राजनीतिको गुणवेत्ता नै अर्कै हुनेछ । राजनीतिमा भंगवक्ता हुनेछ । मलाई लाग्छ त्यसै दिन राजनीतिको बिदाइ हुनेछ । राजनीति धर्ममा रुपान्तरण हुनेछ ।" लोडसेिडङ्को समस्या राजनैतिक समस्या हो हत्या अपहरणको समस्या राजनीतिकको उपज हो बारुद ह्वास्स गन्हाउँने राजनैतिक कार्यकर्ताहरूले गाउँलेहरूलाई सताउँनु राजनैतिक विजय हो पीडित वर्गलाई राहत दिने बजारीया गफ चुटेर सरकारमा टिकिरहनु राजनीतिको कला हो समाज रुपान्तरणका लागि भनेर जनतालाई युद्धमा होम्नु तर फलस्वरुप नेतानेतृहरूको आर्थिक उचाई मात्र रुपान्तरण हुनु राजनीतिको गुण हो भ्रष्ट कर्मचारीतन्त्र देखिनु राजनीतिको अर्को नीति हो भन्ने प्रसङ् कथाभरि यत्रतत्र आएका छन् । यो "छापामारकी स्वास्नी" कथा राजनीतिकै उपज भएकोले यस अर्थमा कथा सशक्त छ । समाजमा राजनीतिले उब्जाएका यी तमाम विकृति नाश गर्ने हो भने राजनीतिको साटो धर्मनीतिको देशमा लागू हुनुपर्छ । राजनीतिले राष्ट्रकल्याण गर्न नसक्ने कुरा जगजाहेर छ ।

१५) "छापामारकी स्वास्नी" भित्रको गुरु:- दार्शनिक ओशो गुरुको बारेमा भन्छन्- "धर्मलाई नष्ट गरिदिए पण्डित एवं पूजारीले । ठीक के हो भन्ने जान्ने मान्छे अरुलाई लडाउँदैन । अनुयायीहरू पछि उभिएर सारा उपद्रव खडा गर्दिन्छन् । त्यसैले कोही कसैको गुरु हुनुहुन्न भन्ने मेरो ठहर छ । यसो भएमा दुनियाँमा कतै उपद्रव हुन्न । अनुयायीले झमेला खडा गर्छन् संगठन बनाउँछन् । त्यसैले यो दुनियाँमा जति शिक्षक जन्मन्छन् उनीहरूले ख्याल गर्नुपर्छ कि कोही कसैका गुरु र कोही कसैका शिष्य नबनूँन् । अनि मात्र हिन्दू जैन क्रिष्चियन इस्लाम बीच भएको मतभेद टुङ्गिन्छ । कुनै राम कृष्ण क्राइष्ट बुद्ध मोहम्मादहरूले कहिल्यै मतभेद ल्याएनन् । यी सब अनुयायीहरूले खडा गरेको चुनौती हो । मान्छेले स्वविवेकले काम गर्न सक्नुपर्छ ।" यसरी स्वविवेकबाट संचालित हुनु नै विभेद नासकको एक उत्तम बाटो हो भन्ने सिद्धान्त ओशोदृष्टिमा देखिन्छ । कथामा डल्लीले स्वविवेकले जायजेथाको नामसारी गर्न नसकेर म पात्रलाई हार गुहार गरेकी छिन् तर भविष्यको योजनाका बारेमा आफैँ स्वविवेकले फैसला गरेकी छन् । अतः यस दृष्टिले हेर्दा कथा आंशिकरुपले सबल छ ।

आजका मान्छेका मनमा उब्जने लोभ पाप जालझेल षड्यन्त्र स्वार्थ तेरोमेरोको निकृष्ट भाव क्ष्ाद्रता अहङ्कार र इर्ष्या कलुषितभाव कामेच्छा मद मात्सर्य दुष्टता पापाचार दुराचार अनाचार जस्ता कुभावनाले मानवता नै हराएकोमा कथाकार पोखरेल खेद प्रकट गरेका छन् । आजका हामी ढोँगी स्वार्थी संकिर्ण आडम्वरी भएर स्वावलम्वी तथा स्वनिर्भर संस्कृतिका कुराहरू बिसर्ी लुच्चा लफङ्गा स्वार्थी निर्घिणी कामचोर दलाल भ्रष्टाचारी द्रव्यपिपासु भएको दृश्य कथासंग्रहभरि यत्रतत्र देख्न पाइन्छ । कथा लेखन शैलीको परिष्कारको अपेक्षा गर्नु स्वभाविक हुन आउँछ । वर्णविन्यासको उचित रखाइको अभावका कारणले कथाको स्वाद लिँदालिँदै ढुङ्गै लाग्ने अवस्थाको सामना गर्नुपर्छ । कथाकार पोखरेल पौने एक दर्जन जति कृतिका सर्जक भएको कारणलॆ यस्ता कुराहरूलाई सामान्य भन्न सकिन्न । उदयपुरे भूमीबाट नेपाली साहित्य फाँट फराकिलो पार्ने काममा सर्जक पोखरेलको नेतृत्वदायी योगदानको निरन्तरताकॊ अपेक्षा सहित कलम बिसाउँछु ।

No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...