Sunday, July 18, 2021

अठारौँ चरणमा प्रतिस्पर्धी लघुकथा---- लघुकथा- राजनीति - लक्ष्मी रिजाल

 अठारौँ चरणमा प्रतिस्पर्धी लघुकथा----


लघुकथा- राजनीति

- लक्ष्मी रिजाल



- हजुरबा ! हजुरलाई एउटा प्रश्न गरूँ ?


- किन अनुमति मागेकी प्यारी नातिनी !


- म प्रतिपक्ष हो । हजुर अहिले सत्तापक्ष हो त्यसैले ।


- ए । कसले भनेको ?


- कलमले सत्तालाई खबरदारी गर्नेगर्छ । कलम जहिले पनि प्रतिपक्षको कित्तामा उभिन्छ । म सत्तापट्टी हैन कलमपट्टीकी मान्छे हुँ त्यसैले ।


-ए । ( उहाँ बडबडाउँदै हुनुहुन्थ्यो । मैले बुझिनँ । सायद भन्दै हुनुहुन्थ्यो- नुन खाने मेरो गुन गाउने अर्काको ?)


- अनुमति लिएपछि त अरूलाई जस्तो मलाई नहकार्नुस् है हजुरबा ?


- ए बाबा ! त्यो दिन रिसाको प्रश्नले हैन । सत्ता नपाएको झोकले हो ।


-उसो भा, हजुरको केस सेतो र बोली अबुझ किन भाको ?


- यो सब राजनीति शक्ति र सत्ताले नै हो । देश र जनताको सोचले केश सेतो भो । राजनैतिक यातनाले बोल्ने अङ्ग बिग्रियो ।


- शक्ति र सत्तामा बल्ल पुग्नुभो । अब के गर्नुहुन्छ ?


- राजनीतिलाई सोझो बाटोमा हिँडाउँछु र देशलाई उँघो जानबाट जोगाई उँभो लग्छु । र; राजनीति गर्छु ।


- अनि थरीथरीका काण्ड मच्चाएर जनताको नजरमा घिनाएका र कानुनले दण्डनीय ठानेका मान्छेलाई किन आफ्नो मेरुदण्ड ठान्नुहुन्छ ?


(फेरि एक पटक उहाँ रिसाएको स्पष्ट झलक देखियो । शुरुमा त शक्ति र सत्ताको संरक्षणमा नबोली नबोली जित्ने प्रयासमा लाग्नुभयो । केहीबेर पछि म नजिक आएर खुसुक्क भन्नुभयो । र; मेरै मुख खुलेको खुल्यै पार्नुभयो ।)


- सप्पै कुरा खेल हो । तिमी बुझ्दिनौ नानी । जे बोल्यो त्यही गर्ने बालखेल हैन राजनीति । एक थरी बोलेर अर्को थरी गर्ने प्रौढखेल हो यो ।


+++


-रूपनगर; सप्तरी ।

2078/04/04/02

No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...