Wednesday, May 8, 2024

मातृसम्मान दिवसको अवसरमा आमामा समर्पित ३७ लघुकथाहरु-

लघुकथा प्रतिष्ठान, नेपालको आग्रहमुताबिक मानव जीवनकी सर्वश्रेष्ठ शिक्षक (आमा) लाई स्मरण गर्दै सम्मानमा लघुकथा लेखी प्रेषण गर्नुहुने तपाईं तमाम सर्जकमा आभार व्यक्त गर्दछ । लप्रने परिवार । मातृसम्मान दिवसको अवसरमा अहिलेसम्म संकलित आमामा समर्पित लघुकथाहरु-

१. लघुकथा~अग्राख आमै ✍️नन्दलाल आचार्य
२. लघुकथा- अग्ली आमा ✍️मनोहर पोखरेल 
३. लघुकथा : प्रसव वेदना ✍️तुलसी पण्डित 
४. लघुकथा- माता तिर्थऔंसी ✍️-सुरेशकुमार पाण्डे 
५. लघुकथा : आमा ✍️ढाकामोहन बराल
६. लघुकथा- लोरी ✍️सोम कुमार सुब्बा 
७. लघुकथा- कटुआमा ✍️लक्ष्मी रिजाल 
८.  लघुकथा- गह्रुङ्गो कोसेली  ✍️रचना शर्मा 
९. लघुकथा- आमाको काँध ✍️एन्जल निलु
१०. लघुकथा- आमा ✍️नन्दलाल आचार्य
११.लघुकथा : महत्त्व  ✍️नानि भारद्वज
१२. लघुकथा : पीडा  ✍️लता के. सी .
१३. लघुकथा-आमा ✍️पी पी कोइराला
१४. लघुकथा -अामाकाे राेजाई  ✍️बिष्णु उप्रेती 
१५. लघुकथा- आमाकाे मन  ✍️टीकाराम जाेशी
१६. लघुकथा- आमा ✍️गुरुदत्त ज्ञवाली
१७. लघुकथा : आमा ✍️सुस्मिता अधिकारी
१८. लघुकथा - फेरिएको मन्दिर ✍️खगेन्द्र बस्याल
१९. लघुकथा : व्यस्त छोरो  ✍️ एलपी पराजुली 
२०. लघुकथा : माताको ममता ✍️कल्पना भण्डारी 
२१. लघुकथा- माफी ✍️अन्जु शर्मा 
२२. लघुकथा : मातातीर्थ औँसी ✍️कात्यायन
२३. लघुकथा- मातृत्व  ✍️लक्ष्मण ज्ञवाली
२४. लघुकथा : महिमा  ✍️शुक्रराज कुँवर
२५. लघुकथा-  भोक  ✍️रमेन्द्र कोइराला
२६. लघुकथाः मातृस्नेह  ✍️कल्याण पन्त
२७. लघुकथा- मृत आमाको चाहना ✍️इन्द्रराज पौड्याल
२८. लघुकथा: मदरस् डे ✍️प्रेम पुन मगर
२९. लघुकथा- आमा ✍️माधव पाेखरेल गाेज्याङ्ग्रे
३०.  लघुकथा : ममता ✍️ सुनिता निरौला पौडेल
३१. लघुकथा : जननी ✍️सुस्मिता अधिकारी
३२. लघुकथा- आमा ✍️ टीकाराम जाेशी
३३. लघुकथा - भार  ✍️ बालकृष्ण गजुरेल 
३४. लघुकथा- कोसेली ✍️तुलसी पण्डित 
३५.  लघुकथा- माया ✍️राेशन पराजुली
३६. लघुकथा - सन्तुष्टि ✍️खगेन्द्र बस्याल
. लघुकथा- समय ✍️सविता भट्टराई
++++
✍️मनोहर पोखरेल 

बोल्न सिकाउनेकै बारेमा म के बोलौ
मेरै तस्विर कोर्नेका लागि रंग के घोलौ
शब्दको भण्डारमा अभावै अभाव रहेछ
मलाई नै लेख्नेका बारे कलम के खोलौ !
 (सम्झनामा मातातीर्थ ओंसी  २०८०)

सबेरै उठन चाँडो सुत्न भन्छ्यौ
निन्द्रा नपर्दा केश सुम्सुम्याउँछ्यौ
हिजो भन्दा फरक छ सब कुरा
आज सम्झनामा मात्र आउँछ्यौ ।
+++
स्वार्थरहित स्वस्फूर्त प्रेम सच्चा हो 
अरुले पाक लगाए पनि कच्चा हो 
सन्तान संसारमै ठूलो कहलिए पनि
आमाका लागि सानु-सानु बच्चा हो ।
+++++++++++++++++++

कतैबाट आए तिमीलाई नै खोज्थे
केही हराएमा तिमीलाई नै सोध्थे
बरदान माग एउटा ईश्वरले भने
भाग्य लेख्ने तिमीलाई नै रोज्थे ।
+++
ममताको धरोहर ढल्यो
छाती नि भतभती पोल्यो
आगो नबली आउँदैन धुवाँ
मुस्लो उर्लिने गरी मन जल्यो ।

कैयौं सम्झनाको पहाडहरु छ
धुलाउन बाँकी केही तस्वीर छ
आँगन मानिसले भरिए पनि
तिमी छैनौ त खाली खाली छ !
+++++++++++++++++
बाबु बन्यौ बाल्यकालमा बुबा बित्दा
कति रमाउँथ्यो सँगै फोटो खिंच्दा
सब सकियो रह्यो सम्झना मात्र
टुहुरो भए चिरनिन्द्रामा तिमी सुत्दा ।
आगमन: १९९९ वैशाख १ = प्रस्थान : २०८१ वैशाख १९
++++


१. लघुकथा~अग्राख आमै ✍️नन्दलाल आचार्य
 "मुखले जे बोले पनि मनमा अर्कै कुरा छ तपाईंको ।" आमैलाई गलाउन प्रहरीले भन्यो । आमैले ठुला आँखा पारिन् तर शब्द चुहाइनन् । 
"आमै गल्दै छिन्,  आफ्नो अडान बदल्दै छिन् । आखिरमा यी आमा नै हुन् नि ! आफ्नो मुटुको टुक्का जेलमा कोचिएको कुन आमाले टुलुटुलु हेर्न सक्छन् र !" आमैलाई फकाउने उपाय स्वरूप प्रहरीले आफ्नै प्रकारले अश्त्र छाड्यो । 
"एकदमै ठिक भन्यौ  बाबू ! डाँडा पारीको जून हुँदा जसले पनि  सहारा खोज्छन् आफ्नो सन्तानबाट । म अलग नारी कहाँ हुँ र ?" आमैले सहजै भनिन् ।
हाकिमको स्यावासी आफ्नो थाप्लोमा पर्ने भयो भनेर प्रहरीको मुहारमा गुलाफ फुल्यो । छोरालाई माफी मगाउन हजार कोसिस गरेर  नसकेपछि आमाले मागे  हुने निष्कर्षमा प्रहरी प्रशासन पुगेको थियोे । "जेल भरौँ" भन्दै पक्राउ पर्ने थुप्रिँदा थिए । हकअधिकार, स्वाधीनता र आत्मस्वाभिमानका पक्षधरहरूले सडक कब्जा गरेका थिए ।  
पक्राउ परेका मानिसहरूलाई घर फर्काउनु नितान्त आवश्यक  थियोे । जेलमा खुट्टा राख्ने ठाउँ थिएन । देशभर सङ्कटकालीन वादलले अँध्यारो बनाएको थियोे ।
सोही अनुरूप आमैलाई राज्यसँग माफी मागेर कानुनको सम्मान गर्न भनेको थियो ।  त्यतिबेला उनी टसमस भएकी थिइनन् । यतिबेला आमैको लचिलोपन प्रहरीको लागि एक प्रकारको राहत सावित भएको थियो ।
"तपाईंका छोरालाई जनआन्दोलनको बाटो त्यागेर राज्यसामु आत्मसमर्पण गर्नुस् । पछि राज्यको सम्मान हात लाग्छ भनेको कानमा बतास पसेन उहाँको । पुनरावृत्ति गर्न खोज्दा हाम्रा कुरा भुईंमै पर्न दिनुभएन । आज तपाईंका कुराले मात्रै उहाँ खुला आकाशमुनि आउँदै हुनुहुन्छ ।"
आमैले  झन् ठुला आँखा पारिन् । प्रहरीले आँखाले हैन मुखले बोल्नुस् र हातले सहीछाप गर्नुस् भन्दै कागज अघि सार्यो । 
आमैले खुशी हुँदै सहीछाप गरिन् । त्यसमाथि आफ्नै हातले लेखिदिइन्;  "नेपाल आमालाई चाहिएको सन्तति  जन्माउने कोख आफ्नो  पनि भएकोमा आज गर्वले छाती ढक्क भयो ।"
कुटिल मुस्कानका साथ प्रहरीले कुरा स्पष्ट पार्न भन्यो । उनलेे थपिन् ; "स्यावास पुत्र, जनआन्दोलनको पक्षमा चट्टान बनेर तैंले म मेनकादेवीको मात्रै  होइन नेपाल आमाकै छोरो भएको प्रमाण पेस गरिस् ।"
२०८१.०१.२१ एनेलकुटी, सिरहा ।
+++
२. लघुकथा- अग्ली आमा ✍️मनोहर पोखरेल 
आज एकाविहानै अचानक घरमा आमा आउँदा मेरो मनमा लाग्यो, ‘दाजुको घरमा केही समस्या पो पर्यो कि आमालाई ।' श्रीमतीले कानेखुशी गरिन्, ‘फेरि के माग्न आइन्, छैन भन्नु है ।’
‘आमाले मुखै खोलेर मागेपछि छैन कसरी भन्नू ?’ मनमनै कुरा खेलिरहेको थियो । चुपचाप रहँदा श्रीमतीले जवाफ फर्काउलिन् र रडाको मच्चिएला भन्ने डर थियो मलाई । आमाले श्रीमती अगाडि रहुञ्जेल केही नबोले हुन्थ्यो भनेर मनमनै प्रार्थना गरिरहेको थिएँ । उता श्रीमती नेत्रसङ्केतमा भन्दै थिइन्, ‘आमाले पैसा माग्लिन् र दानी भएर देउलाऊ नि ।’
‘उता के हेर्छस्, यता सुन् ।’ आमाको आदेशात्मक स्वरले ध्यान खिचियो । आमासँग आँखा जुध्यो, सास पनि रोकियो एकछिन मेरो । ‘आमा के कसरी बसेकी छे तैँले सोधखोज पनि गरिनस् । ६ महिनासम्म भेट्न आइनस् ।’ आमाको गुनासोले म नाजवाफ भएँ ।
आमाले थप के भन्लिन् भनेर एकटक लगाएर सुनिरहेको थिएँ । सामाजिक सुरक्षा भत्तावापत एक वर्षको एकमुष्ठ पैसा निकालेको जानकारी दिँदै आमाले भनिन्, ‘लु पाँच हजार राख्, तेरो हातमा पैसा भएको भए तँ पक्कै भेट्न आउथिस् मकहाँ ।'
राजविराज ६, सप्तरी 
+++
३. लघुकथा : प्रसव वेदना ✍️तुलसी पण्डित 
छोरी तिमी किन घमण्ड गरिरहन्छौ । तिमी गर्भमा छदा बाबाको देहावसान भयो । पेटमा भए पनि सुनौलो भविष्यको तिमी नै थियौ मेरो आधार । नौलो सपनाको कल्पना गर्दै तिमीलाई जन्माए । हो मैले त्यो प्रसव वेदनाको पीडा तिम्रो आगमनले भुलेँ । खाइ न खाइ तिमीलाई हुर्काएँ । पढाएँ ,सक्षम बनाएँ । अहिले मेरो आकाङ्क्षामा लात मार्दै एक केटो समातेर गयौ । अझ जाने बेलामा भन्दै थियौ । 
"मेरो चाहना कहिल्यै तिमीले पूरा गरिनौ । तिमीलाई सम्झेर म यो घरमा आउने छैन ।"
" तिम्रो माग बमोजिम म लाख रुपैयाँको मोवाइल कसरी किनि दिन सक्छे र । न मेरो जागिर थियो । न कुनै व्यावसाय । निमेक गरेको भरमा तिमीलाई हुर्काए ।लालनपोषण गरे । इन्जिनियर सम्म पढाए । अब तिमी नै भनत यो बोझ थाम्न मलाई कति गाह्रो भयो होला ?"
"आमा म आए । आज आमा खुवाउने औसी । हजुरको सम्झनाले विह्वल बनायो । हजुरको देन अमूल्य रहेछ । बल्ल मैले यसको महत्व बुझे । ल लिनुहोस् हजुरलाई मैले ल्याएको उपहार ।"
"होइन छोरी तिमी त तेरो अनुहार सम्म पनि हेर्दिन भन्थ्यौ ? आज यति धेरै उपहारका साथ आइछौँ । फलफूल ,मिठाई, साडी अझ सुनको सिक्री पनि छ । खै त नाति ?"
"आमा छोरीहरुलाई आमाको महत्व त्यो बेलामा थाहा हुने रहेछ जब उ प्रसव वेदनाले छट्पटीन्छे ।"
+++
४. लघुकथा- माता तिर्थऔंसी ✍️-सुरेशकुमार पाण्डे 
" नैना ! बाहिर हेर त को आयो डोर वेल बज्यो।" पुस्पाले आफ्नो छोरीलाई बताइन्।
छोरिको अनुरोधमा केही वर्ष देखि आमा छोरी सँगै बसेका थिए। नैनाको लोग्ने विदेश बस्ने भएकोले पुस्पा छोरिकै घरमा बसेकि थिइन्।
" दादा हजुर ! " - अशोकलाई देखेर नैनाले अंगमाल गर्दै आश्चार्य प्रकट गरि।किन की अशोक करीव तीन वर्ष देखि नैनाको घरमा आएकै थिएन।दाजुलाई देखेपछि उसका आँखा रसाए।
तर पुस्पाको भने छोरालाई देखेर खासै हर्षित अधर देखिएन।
अशोकले आमाको पाउँ छोयो। छोराको व्यवहार अलि लचिलो देखेपछि आमाको मनमा दुइव़टा बिचार खेल्न थाले।एउटा त अशोकमा सुधार आएको अनुभव गरि सकारत्मक बिचार पलायो ,आर्को यसमा पनि कुनै स्वार्थ अवश्यपनि हुनसक्छ। सङ्का पलायो।
" आमा हजुर कती दुब्लिनु भएछ हिंजो आज। सञ्चै त होला स्वास्थयमा।"-अशोकले सोध्यो।
" तंलाई र तेरो परिवारलाई कस्तो छ नी ? "  पुस्पाले अशोकको कुराको उत्तर नदिएरै  आफ्नो प्रतिप्रश्न राखिन ।
" हामी सबै ठिकै छम् आमा। लिनु यो बर्की हजुरलाई अनि यो खानेकुरा। आज आमाको मुख हेर्ने दिन् अर्थात माता तिर्थ औंसी
नैना एउटा फोटा खिचाईदेउ त हाम्रो।"- अशोकले बहिनीलाई मोबाईल दियो र आमालाई सोल ओडाउँन थाल्यो।
 नैनाले आफ्नो आमातिर पिर्लुक्क हेरी।
नैना खिचाईदेऊ फोटा त आमालाई दिएको उपहारको फोटा खिच्नै पर्छ नी छोराले । साथै तिमीले विर्द्धाश्रमबाट मलाई फिर्ता ल्याएको फोटा र डोकोमैन्ट पनि अशोकलाई दिनु ।
मुहार पुस्तिकामा राखेर सबै साथिहरूमा खुबै प्रचार गरे बाबु । आफ्नो आमालाई सोल दिएको। अरू वृद्धाश्रममा पठाएको समेत राख्न नभुल्नु "-पुस्पाले छोरातिर हेर्दै भनिन्।
आमाको कुरा सुनेपछि अशोकको सिर ठाडो हुन सकिन।
दाङ घोराही १८
०८-०५-२०२४
+++
५. लघुकथा : आमा ✍️ढाकामोहन बराल
" मैले भाँडा मस्काउँदै थिएँ , आगो सल्काइ हाल्यौ ? " आमाले भनेको सुनेर मक्कलमा दाउरा मिलाउँदै गरेकोबमेरा हात रोकिए।
" ठिकै छ , सल्काउ । आमा आउँछे अनि दाउरा थपौंला नि । " नजिकै बसेर दाम्दो बनाउँदै गर्नु भएको बाले भन्नु भयो ।
हिँउदको चिसो साँझ आगो ताप्ने बानी नै पर्न थालेको थियो हाम्री घर । 
"  मकैको खोया पनि बालौँ । " मैले सिधेँ ।
" धुँवाले आत्तिएलास् नि । " आमाले भन्नु भयो ।
" यस पटक किनेको भैँसीले दाम्लो चपाउन थाल्यो । रात साँझमा झुक्याउँछ कि के हो ? दुईचारवटा बढी नै दाम्लो बनाउनु पर्यो । बाबियो पो कति होला ? " बाले सोध्नु भयो ।
" छ प्रसस्त यो वर्षको लागि त । " अन्तिम भाँडो पखाल्दै जुठेल्नाबाट आमाले भन्नु भयो ।
माझेका भाँडा भित्र लैजानु भयो । हात धुनु भयो ।
" टहटह जुन लागेको बेला बाहिर बसेर आगो ताप्न मन लाग्ने । " आमाले भन्नु भयो ।
" भित्र धुवाँ नाचेर आँखा पिरो हुन्छ । समयमा नै गोबरग्याँस जोडिएछ र पो नत्र कसरी पकाउँदिहोस् है ?" बाले भन्नु भयो ।
मक्कलमा आगो तापिरहेको मलाई आमाले आफूले ओढेको पछ्यौरा ओढाउनु भयो । 
मैले आमाको मुखमा पुलुक्क हेरेँ ।
" अगाडिबाट आगो तापे पनि पछाडिबाट स्याँठले सेक्यो । " आमाले भन्नु भयो ।
" तपाइँलाई नि आमा ?" मेरो प्रश्न थियो ।
" म त अब आगो ताप्छु नि । " आमको उत्तर थियो ।
पोखरा ७ मासबार, कास्की ।
२०८१।१।२५
+++
६. लघुकथा- लोरी ✍️सोम कुमार सुब्बा 
उनीहरु अस्पतालबाट फिरे।छोरोले वृद्धा बिरामी आमालाई डोर्‍याएर घरभित्र हुले,औ औछ्यानमा ढल्काए।त्यसपश्चात झोलाबाट औषधीहरु निकालेर टेबलमा राख्दै थिए,अनायासै श्रीमतिको चर्को आवाजले झस्के।उनी घडी हेर्दै आत्तिन्दै थिइन् -
"ला मेरो सिरियल सक्नै आटेंछ!"
उनले हत्तरपत्तर टिभी खोलिन् र पलङ्मा बसेर हेर्न थालिन्।
श्रीमान भान्साकोठातर्फ लागे।
तत्क्षणै आमा खोक्न थालिन्।खोकीको गति बड्दै गयो,बड्दै गयो।उनी राल,सिंगान र आँशुमा लतपत भइन्।अनुहार राताम्मे र श्वासमा तीव्रता थियो।स्याँ स्याँ गर्दै पानीको गिलासतर्फ इशारा गर्दै थिइन्।
त्यसताका छोरो आईपुगे।हत्तपत्त आमालाई उठाए।पानी पिलाए र मुख पुछिदिदैं श्रीमतिलाई हकारे-
"आमाको ख्याल गर्नुपर्दैन?"
श्रीमतिले दुवै कानबाट औंलाको ठेडी निकाल्दै आँखा फुकालेर हेरिन्।उनी लुरुक्क परेर आमापट्टि फर्के।आमाको ढाड मुसार्दै रुञ्चे स्वरमा भने -
"आमा,बिस्तारै खोक्नुपर्छ नि,अरुलाई बाधा पुग्छ!"
आमाले खोकी रोक्ने प्रयत्न गर्दै भनिन् -
"सानोमा यही आवाजले गाएको लोरी नसुनी सुत्दैन थिइस्,अहिले बाधा भो!"
       समाप्त
लिङ्दोक,पूर्व सिक्किम
२६/०१/२०८१
+++
७.लघुकथा– कटुआमा ✍️लक्ष्मी रिजाल
“मेरो गर्भ तुहिएछ भन्ठान्छु, सधैँका लागि तँ मेरो आँखाबाट ओझल पर् त ।” आमाले आक्रोस पोख्नुभयो ।
“म मातृसम्मान दिवसमा आमाको गोडा छोएर आशीर्वाद लिन आएको ।” आमाको रिसलाई वास्तै नगरी छोराले सहजपाराले भन्यो ।
 “पहिले नै भनिसकेँ मेरो गर्भ तुहियो भनेर । तँ न मेरो छोरा होस् न म तेरी आमा हुँ । तँसँग मेरो सम्बन्ध कहिल्यै थियो भने पनि त्यो प्रकृतिको भुल थियो । माफ गरिदे र मलाई मुक्ति दे ।” आमाले आँखाको डिल भत्काउँदै याचना गर्नुभयो ।
छोराले आफू जेठो छोरो भएको दोहोर्याइरह्यो । आफूले गरेको मानलाई अपमान नसम्झिन अनुरोध गरिरह्यो । आमाछोराको गल्फती चलिरह्यो । आमा मुक्ति दे भन्ने र छोरो विगत नकोट्याउनु भन्ने । आमा हारेर नबोल्ने, छोरो जितेर बोलिरहने क्रम केहीबेर चलिरह्यो ।
अन्ततः थाकेर छोराले भन्यो, “आज मातातीर्थ औँसीका दिनदेखि म तपाईंका हर कुरा खान्छु । एक शब्द उलंघन गरे जे मन लाग्छ त्यही गर्नुस् ।”            
आमा झन् रातिपिरी बन्नुभयो । दाह्रा किट्दै आँखाबाट ओझल पर्न उर्दी दोहोर्याउनुभयो । अटेर गरे बाँकी जीवन जेलबासी हुने भन्दै हातमा कट्टी लिएर निस्कनुभयो ।
छोरो डराएर जुरुक्क उठ्यो । उसका साथका रक्सीका दुई बोतल खसेर झर्यामझुरुम भए । आँगन भट्टीघरमा परिणत भयो । सुरक्षित हुँदै उसले भन्यो, “मैले गरेको गल्ती के थियो र त्यस्तो ?”
आमाको स्वर सुनियो, “इज्जत डुबाएर आफू जिउँदो लास बनिस् । बाहिरफेरो मुख देखाउन नहुने बनाइस् तँ जाँडका भकारीले ?”
२०८१.०१.२६ रुपनगर, सप्तरी । मातृ सम्मान दिवस सन्दर्भ
+++

८.  लघुकथा- गह्रुङ्गो कोसेली  ✍️रचना शर्मा 

अमितले सामान सहितका दुईवटा कार्टुन ल्याए। श्रीमती जमुनाले बाहिरबाट कार्टुन नियालिन् र उचालिन् । एउटा कार्टुन गह्रुङ्गो र अर्को हलुङ्गो थियो। अमितलाई सोधिहालिन्, "के ल्याउनुभएको?"
"माताहरूको लागि कोसेली ।" 
"दुइटा कार्टुन किन नि ?"
"एउटा कोसेली सहरमा रहेकी मेरी सासुलाई, अर्को चाहिँ गाउँमा रहेकी तिम्री सासुलाई।"
"ओहो! भनेपछि धेरै समयपछि आज गाउँ जाने निर्णय गर्नुभएछ ।"
"हो । तिमी अटोमा चढेर माइत जाऊ । म अफिसको अलिकति काम सकेर गाउँ जान्छु ।"
"हस् हस् !"
पतिको आज्ञा पाएर उनी गह्रुङ्गो कोसेली बोकेर छिटो छिटो माइत गइन्।
आमाको मुख हेरेर कोसेली टकारिन्। "के ल्याइछ यति गह्रुङ्गो !" भन्दै आमाले कार्टुन खोल्न थाल्दा उताबाट ज्वाईँको फोन आयो। ज्वाईँले भने, "आमा!  जमुनालाई फोन गर्दा उठाइनन् । कोसेली त साटिएछ । गाउँ जान लागेको छु । यहाँ भएको कोसेली त्यहीँ लिएर आउँछु त्यो नखोल्नुहोला ।" यो कुरा जमुनाले पनि सुनिन्। उनको अनुहारमा औंसी छायो। भित्रभित्र खुब रिसाइन् । एकैछिनमा अमित आइपुगे। कोसेली साटे।
जमुनाले सोधिन्, "अलिकति बढी सामान त आएको होला। साट्नै आइहाल्नुपर्थ्यो र?"
"हो जमुना ! यो कार्टुन नलगिकन गएँ भने त उता आमाको मुख पनि अँध्यारो हुनेछ।" 
"तेस्तो के छ र यसमा?" 
"खासमा यो कार्टुनमा मैले आमालाई चुल्हो लिप्न चाहिने रातो माटो राखेको थिएँ ।"
२०८०/०१/२६
+++
९. लघुकथा- आमाको काँध ✍️एन्जल निलु

- “जाऊ, आराम गर !”
- “मैले मानिन ।”
- "दुई महिनादेखि अहोरात्र सेवा गरेर, तिम्रो जिउज्यान गलेको छैन ?”
- “तपाईँले मेरो स्याहार-सुसार गर्दा  गल्नु भएको थियो ?”
- “त्यो मेरो कर्तव्य थियो ।”
- “यो मेरो धर्म हो ।”
- “तिमी कलिली मुना थियौ । म जर्जर वृक्ष ।”
- “यही वृक्षको काँधबाट मैले संसार नियालेको छु ! बुझेको छु ! अझैधेरै अनुभव बटुल्नु छ !”
हाम्रो वार्तालाप चुलिँदै गयो । केही छिनको मौनतापछि, रिक्तता भङ्ग गर्नु भयो, “तिमी धैर्यपूर्वक बस्नु ! कत्ति पनि बिचलित न हुनु ! मेरोलागि हैन अब, आफ्नोलागि सोच्नु !”
- “नाईं आमा ! मलाई हजुरको काँध चाहिन्छ !” 
फेरि हामी केहीबेर दुबै चुप रह्यौँ ।
म वहाँको काँधमा पल्टिएँ । बेस्सरी च्याप्नु भयो । अलिबेर भुसुक्कै निदाएँ ।
बुँझिएँ । म झसङ्ग भएँ । 
आमाले, मेरो काँधबाट, आफ्नो हात झिकिसक्नु भएको रहेछ !
***   ***   ***

१०. लघुकथा- आमा ✍️नन्दलाल आचार्य 
साथीहरूका आमाहरू भेटघाट गर्न  आए । सबैलाई यथार्थ बताएर घर फर्काएँ । आफ्नै आमा आए के भन्ने ? सत्य सुन्दा उहाँलाई पङ्गु  लाग्ला । मेरो मनमा आँधी थामिएकै थिएन ।
उहाँ टुप्लुक्क देखापर्दा सुरुमा तर्सिएँ । बोली घाँटीमै अड्कियो, आँखा रुझे । उहाँको मुहारमा विषाद्का रेखा थिएनन् । उमङ्गको खहरे बिल्कुलै उर्लिरहेको थिएन । उहाँले मेरो पक्राउको वृतान्त सुन्नुभयो । 
"तैंले सजिलैसँग पिँजडा स्वीकार गरिस् । सजिलो बाटोबाट क्रान्ति सम्भव हुन्न । लोकतन्त्रलाई ठोकतन्त्र पार्दा सहनु हुन्नथ्यो । जनक्रान्ति पुण्यकर्म भएकाले सबैबाट सकिन्न ।" यसरी आमाले आशङ्काको जरो उखेल्नुभयो ।
"मुखले हैन कर्मले फत्ते गर्नुपर्छ ।  जनताको काम थालेको रहिछस् तैंले । तेरो मनको विचारले व्यवहार भेटोस् । मेरो आशीर्वाद तेरा हरेक कार्यलाई ।" उहाँले मेरो निधार रङ्ग्याउँदै थप्नुभयो । 
म खुशीले बुरुक्क उफ्रिँदै थिएँ । आमाको आशीर्वचनलाई प्रसाद ठान्दै थिएँ । म क्रान्तिको बाटोमा अविचल रहेँ । उहाँले मेरो अमन्याइँलाई थप्पड लगाउनुभयो; "राष्ट्रघात गरे मेरो अनुहार नहेर्नू ।"

+++
११.लघुकथा : महत्त्व  ✍️नानि भारद्वज
" आज आमाको मुख हेर्ने दिन माइत जाने होइन ?" बिहानै मझेरीमा टोलाएर बसेकी ढाँडघरे माइलीलाई माझघरे ठूलीले सोधिन्।
" खोइ के गर्नु गर्नु दिदी !" निनाउरो मुख लाउँदै उनले भनिन्।
" के भयो र माइली ?"
माइली चैं कुनै जवाफ नदिइकन साविक मुद्रामै रहिन्।
" आमाबाउ पनि हुनेलाई सस्तो नहुनेलाई कस्तो हुनेरहेछ है माइली!"
" हो रैछ दिदी !" भन्दै माइलीले मजेत्रोले आँसु पुछिन्।
बुधबार २६ वैशाख २०८१
इटहरी,सुनसरी।
+++

१२. लघुकथा : पीडा  ✍️लता के. सी .
 तीनकुने , काठमाडौँ 
 मातातीर्थ औशीँको दिन थियो । रितु सबेरै उठिन् । हिजै किनेर ठीक्क पारेको लुगा , गहना र मिठाई  किस्तीमा सजाइन् । सासूआमाको कोठामा गइन् । खुट्टामा ढोग्दै भनिन् ,`` मुख हेरेँ,  आमा ! ´´ 
 बुहारीको उपहार र संस्कार देखेर दङ्ग परेकी सासूले आशीर्वाद   दिँदै भनिन् , ``  उता  बाटो हेराइमा सम्धिनीको आँखा थाकिसके होलान् । छिट्टै गरेर जाऊ । बेलैमा फर्किनू  !´´ 
`खे खोज्छस् कानो , आँखा ´भनेजस्तै उनी माइतीघर दौडिन् । चेली घर आइपुगेको देखेर भाउजूले आमाले सुन्ने गरेर भनिन् , `` सबैका छोरी चेली माइती पुगिसके । आफ्नो त खै के हो,  के हो ? ´´ 
रितुले अघि सर्दै भनिन् , ``दिनभरि म आमाको स्याहार गरेर बस्नेछु  ।  तपाईं माइती पुगेर छिट्टै आउनु न त ! म रात बस्दिनँ ।´´
  हतार गरेर जानै लाग्दा  भाउजूले  भनिन् , ``   आमालाई एकलै नछाड्नु है !  गाह्रो भए फोन गर्नू , म आइहाल्छु । ´´ 
रितुले आमालाई सोधेर खान मन लागेको कुरा पकाइन् । दिउँसोतिर माइत आएका बाल्यसखीहरू  काखमा बच्चा चेपेरै भेटन आए । सबैले रमाइलो गरे । 
 साथीहरू फर्किएपछि रितुको अनुहारमा कालो बादल छायो ।  आमाले  सोध्नु भयो , `` किन तेरो अनुहारमा  एक्कासी ग्रहण लागेको छोरी ! ´´ 
उसले रूँदै भनी , `` आमा !  भोलि म पनि बुढी हुनेछु त्यसबेला म निसन्तानलाई कसले मुख हेर्न आउँछ र ? ´´
+++

१३. लघुकथा-आमा ✍️पी पी कोइराला
                धरान १३
   बुबाको मुख हेर्न  भनेर दिदी र बहिनी  माईत आएका थिए।
  राती अबेरसम्म रमाइलो गरि टिकटक बनाइ सकेर परिवारका सबैजना आआफ्ना कोठामा सुत्न गए। 
करिब रातको बाह्र बज्नै आँटेको थियो।दिदी सुतेकै थिइनन्। उनी हतार हतार  बहिनी सुतेको कोठामा आईन् र भनिन् "तेरो पैंचो लिएको पचिस हजार तिर्न ल्याईरथेँ दिनै पो बिर्सें छु।लु राख "
" बिर्सेर के भयो ।भोलि दिदा भैहाल्थ्यो नि"बहिनीले पैसाको मुठो समाई र सिरानी मुनी राखि।
त्यसपछि दिदी सुस्तरी पाइला चाल्दै आफ्नो कोठातिर लागि।त्यसको दुइ मिनेटमै बहिनीको कोठाभित्र त डाका पसेर धुमचट्ट गर्यो।
उसले "पैसा, सुन जेजे छ ल्या ,नत्र मार्दिन्छु "भन्न  थाल्यो।
बहिनीले नाक कानको खोलेर तुरुन्तै
दिइ र सिरानी मुनीको पैसाको मुठो पनि दिइ।
बहिनीलाई त्यस डाकाले खाटतिर घचेडिदिदै 
 दिदीको कोठातिर पनि
पस्यो र "नगद जे जे छ ल्या "भन्यो।
  बाठी दिदीले टोलमा डाका पसेको धेरै अघिनै चाल पाएकि थिइ।उसले पैसा त थन्क्याइ थन्क्याई सुनहरु पनि सबै बारी तिर फ्यालिसकेकि थिई।
डाकाले  "छिटो गर "भन्यो। 
"मसँग केहि छैन" भनेर दिदी रुन थाली।डाकाले पत्याएन र झापड मुक्कासबैथोक बजाउन थाल्यो।अन्तमा बेहोस हुनेगरि पिटाइ खाँदापनि केहि ननिकालेको देखेर डाका त्याहाँबाट भाग्यो।
 एकछिनको सुनसान पछि परिवारका सबै एकैठाउँ भेला भए।
  दिदी बल्ल होसमा आई र सबैतर्फ हेर्दै निन्यारो पाराले भनि,"गाउँमा डाकाहरु पसेको थाहा पाएर धेर बठ्याइँ गरेको पापस्वरुप भगवानले  मलाई सजाय दिए"
 दिदीले यति भनेपछि बहिनीले रुँदै मनमनै भनि ," तँलाई आमा जस्ती सम्झनु बेकारै रैछ पापिष्ठ!"
+++

१४. लघुकथा -अामाकाे राेजाई  ✍️बिष्णु उप्रेती 

               अामाकाे मुख हेर्न ,मुलघरमा जम्मा भएका सबै  छाेराछाेरी नातिनातिनाहरुले ,क्रमै संग  अामालाई सम्मान गर्दै उपहार दिने काम सुरु गरे।
                     जेठा छाेराबुहारी बाट सुरु गरि ,उपस्थित  सबै   सत्रजना बाट  प्राप्त  उपहारका झाेलाहरु अामाले क्रमैसंग हेर्दै  पर पर सार्दै गर्नु भयाे। 
                   कुनै काेसेली संगपनि अामाकाे मन खुसि थिएन भन्नेकुरा वाहाकाे अनुहारबाट प्रष्ट  बुझिन्थ्याे।
                     अामाकाे व्यवहार देखेर सबै छक्क परे। अामाकाे राेजाई र खाेजाई केहाे ? ,कसैले बुझेनन् । सबैले अापसमा मुखामुख गरे। केहिबेरकाे मौनता पछि जेठा छाेराले अामालाई भन्याे।
                    --" अामा , अाजहामी हजुरका  यतिधेरै सन्तानहरु भेलाभएर  सकेसम्म  खुसिपार्ने प्रयत्न गर्यौ। विभिन्न प्रकारका उपहार र काेसेलीले सम्मान गर्यौ।  तर अामा ...."
             अामले बिचैमा कुराकाटेर भनिन््   ""- ठिक बुझिस ,तैले ।कसैबाट  मलाई  भरलाग्दाे र मनपर्दाे उपहार अाएन।   म बयासी काटेकी , राेग र बुढ्यौलिले सताईएकी मान्छेलाई ,याे धेरै  मिठाई ,फलफुल   ,गरगहना लुटाकपडा के काम छ अब?  थन्क्याउने र बाँड्नेकाे हैरान।"
                      ""अनि अामाकाे मनपर्दाे उपहार चै के हाे त ?" कान्छीछाेरीले बिस्तारै साेधिन्।
              अामा धर्खराउदै उठिन् र  भनिन्  -" म संग हरपल संगै रहने । म जाहाँ जाँदापनि सगै जाने ।  मलाई साथदिने दिने ,अाड दिने ,भरपर्दो साथी  त्याे लौरो चैं खाेई त ?
२०८१/०१/२६/
माता अौसी 
 राधेराृ भक्तपुर
+++

१५. लघुकथा- आमाकाे मन  ✍️टीकाराम जाेशी
, टीकापुर।
"बुढाे! यहाँ आउनुस् न एकछिन्।"उनले भनिन्।
उनी लिची र आमका रुखबाट झरेका सुकेका पात बढार्दै थिइन्।
  बिहानै हल्का पानी  परेको हुनाले  वातावरणमा शितलता थियो। बयेली खेलीरहेको हावाकाे आनंद लिँदै गरेका साेचमग्न बुढा आमकाे रुखमा बाँधेकाे  पिङ्ममा झुल्दै थिए ।बुढीकाे आवाजले उनी तन्द्राबाट बिउँझे ।
बुढीले  जामुनकाे रुखमा छड्के परिराखेकाे अर्काे पिङ्काे डाेरीलाई व्यवस्थित गर्न थालेकि थिइन्।
उनी   सुखकाे माेहलाई तत्क्षण नै त्यागेर बुढीकहाँ पुगे।
" त्याे  टाढा भयाे।यता बस्नुस् न !" उनले पिङ्ममा बाँधेकाे चादरलाई चाैडा पार्दै भनिन्।
"त्याे भन्दा याे आरामदायी रहेछ तर दुवैलाई धान्दैन हाेला।"  चादरमाथि झुल्दै  बुढाले भने।
बुढाकाे नजर आकासतिरबाट हुँदै  रुखहरुमा फलेका अाँप ,लिची, बेलाैतीमा चिप्लिदै गयाे र अन्त्यमा बुढीकाे शान्त अनुहारमा स्थिर भयाे।बुढी कुर्सीमा बसेर बुढालाई निहार्न थालेकिथिइन्। सायद त्याे पिङ्गले  उनलाई छाेरा छाेरीकाे सम्झना गरायाे हाेला। बुढाले साेचे।
 यत्तिकैमा माेबाइलकाे घण्टी बज्याे। 
"आमा ढाेग गरेँ। हेप्पि मदर्स डे।"
"दीर्घायु हाेस्। उन्नति, प्रगति हाेस्।काँडा पनि न बिजाेस्।..."
लगातार एकपछि अर्को घण्टी बज्दै गर्याे।
"आमाकाे फाेन त कति बिजीकाे बिजी ,लाग्दै नलाग्ने भन्या। " बेलाबेलामा उताबाट बाेलेकाे सुनिन्थ्यो।
" अब पिङ्गका लागि झगडा खेल्ने काेही छैनन् ,बुढा! "बुढीले  भनिन्।

+++

१६. लघुकथा- आमा ✍️गुरुदत्त ज्ञवाली
'आमा महान हुन् " भन्ने कविता वाचन गरेको दिन । उनी साँझ अबेर गरेर घरमा पुगे । 
भोकाएका उनी, भात पाक्दै थियो । "एकैछिन् पख बाबु" आमाले के भन्न भ्याएकी थिइन्" उनले पाकेको गोलभेँडा जस्ता आँखा बनाएर, "उपति सुपति केही छैन बेलाँ भात खान पनि छैन" भन्दै घरबाट निस्के । 
उनी नजिकैको होटलमा पुगे ।  दिउसोको कवि गोष्ठीका साथीहरू भेट भए । उनको कविताको थप चर्चा भयो । त्यसै उपलक्ष्यमा रमझम पनि भयो । त्यो रात उनी घरमा फर्कने हैसियतमा भएनन् । 
उता आमाले छोरो आउला र सँगै खाउँला भन्दै भान्सा कुरेर बसिन् । बिहान छर्लङ्ग उज्यालो भयो । आमाका आँखा न झिमिक्क हुन पाए न त ओभाना रहे ।
तिलोत्तमा १, शंकरनगर 
रुपन्देही


+++
१७. लघुकथा : आमा ✍️सुस्मिता अधिकारी

सावित्रीले मातातिर्थ औशीको दिन फेसबुकमा आफ्ना आमा ,काकी र सासुको महत्वको बारेमा लेखिन्। 
उनको लेख पढेर अपरिचित व्यक्तिले पनि कमेन्टमा उनि जस्तो छोरी र बुहारीको कामना गर्न थाले। 
श्रीमानसँग उनि आमाको मुख हेर्न माइतीघर पुगिन। 
दाइ भाउजूले बाहिर बाट नै आमा घरमा  नभएको सुचना दिदा उनि आत्तिदै सोध्छिन् ,”कहाँ जानुभयो आमा ?”
दाइ ,”बृद्धा आश्रममा !”
सावित्री ,”हैन कस्ता छोरा बुहारी हौ आमाको स्याहार सुसार गर्नु पर्ने अवस्थामा झन् बृद्धाआश्रम पुर्र्याउने ? कुन् आश्रम हो भन्नु ,हामी  लगेर पाल्छौं आमालाई “। 
ठेगाना हेरेर साबित्रिका श्रीमान अँध्यारो मुख बनाउदै थिए। 
दाइ भाउजू पनि उनीहरुका पछि पछि आउदै थिए। 
आश्रम पुगेर सावित्री दौडदै आमा भन्दै कराउन थालिन्। 
हजुर भन्दै आँखाबाट आशु खसाल्दै आमा बोलेको सुनियो। 
साबित्रिका श्रीमान आमालाई अँगालो हालेर रोए। 
साबित्रिका दाइ ,”पहिला घरकी एउटी आमा पाल्नु अनि हाम्रो घर आमा भेट्न आउनु “
सुस्मिता अधिकारी ,काठमाडौँ
+++

१८. लघुकथा - फेरिएको मन्दिर ✍️खगेन्द्र बस्याल

अचानक उसलाई आफ्नो महल शून्य लाग्यो ।
उसकी गृहलक्ष्मीले सोधिन् ," यस्तो ताजमहलमा बसेका छौँ ।किन चेहरा विरक्त देखिन्छ नि!"
उसले भन्यो ," मैले ठूलो भुल गरेँ।आज मेरो मन ठेगानमा छैन।"
उनलेे भनिन् ," मन्दिर गएर आउ।अनि मन ठेगानमा आउँछ ।सधैं अफिसको काम मात्रै सम्झेर हुन्छ र!"
मन्दिर जान निस्केको ऊ घरमा ढिलो आइपुग्यो । त्यो देखि
श्रीमती गृहलक्ष्मीबाट महाकालीको रुप धारण गर्दै भनिन् ," कुन मन्दिर गएका थियौ ,यति ढिलो आइपुग्यौ?"
उसले शान्त हुँदै भन्यो ," तिमी आफै अनुमान लगाउ,कुन मन्दिरमा गएँ हुँला?"
उनलेे अनुमान लगाउँदै भनिन् ," काठमाडौंमा भएका पशुपति ,गुह्येश्वरी,मैतीदेवी या भद्रकाली त होला नि!"
उसले भन्यो ," तिमीले म गएको मन्दिर पत्ता लगाउने छाँटै देखाइनौ।"
उनलेे भनिन् ," मुख्य मन्दिर छोडेर कुन मन्दिरमा गएको ,हरे तिम्रो शुध्दि !"
उसले बतायो ," हिजो हामी छुट्टी भिन्न भए देखि आमा मेरो चाहना विपरीत दाजुको घरमा बस्नु परेको छ,यसर्थ त्यो घर मेरालागि पशुपति मन्दिर भन्दा कम छ त !"
* तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही ।०८१ बैशाख २६

+++

१९. लघुकथा : व्यस्त छोरो  ✍️ एलपी पराजुली 
एक्कासी कसैले आँखा छोपि दिएपछि मनमाया अलमलमा परिन् । आँखा छोप्ने को होला भनेर अनुमान नगरी उनले हात हटाएर हेर्दा आफ्नै छोरीलाई देखेपछि मन र आँसु दुबै थाम्न सकिनन् । एक वर्ष पछि छोरी अस्मिता आज औंसीको दिनमा आमा भेट्न आएकी थिइ त्यसैले मनमायाका हर्षका आँसु अविरल बगिरहेका थिए । 
"कस्तो छ आमा तपाईंलाई ?" 
"ठिकै छु छोरी ? तिमिहरूकै सम्झनामा बाँचेकी छु । बरू तिमिहरूले पो शहर पसेपछि यो आमालाई बिर्सिहाल्यौ । "
"अँ आमा पनि । बिर्सिएको भए आज आउने थिएँ त ?" 
"तिमिले त एक वर्षमा भएपनि सम्झिँदैछ्यौ छोरी तर विधुवा आमालाई सधैं सम्झिनु पर्ने तिम्रो दाजुको मुख नदेखेको तीन वर्ष भयो । होइन तिम्रो दाजुले के गर्छ हँ शहरमा ? कहिल्यै आउन भ्याउँदैन त ।"
"खोइ आमा जागिरे भएपनि आज औंसीको दिन त जसरी पनि भ्याउनु पर्ने हो । तै आइहाल्नु हुन्छ कि म फोन गर्छु है त ।"
अस्मिताले दाजु अशोकलाई मोबाइलमा सम्पर्क गरि ।
"हेल्लो दाइ कता हुनुहुन्छ ?"
"म अफिसको काममा जाँदैछु । अहिले बाटोमा गाडी चलाउँदै छु पछि कुरा गरौंला । अहिले फोन राख है ...."
अस्मिताले आमाको मुख हेर्न दाइ आउने नआउने बारे सोध्न चाहन्थी तर दाइले अवसरनै दिएन । मोबाइल थन्क्याउन लाग्दै थिइ अचानक मोबाइलमा सुनेको वार्तालापले अस्मिताको मन अमिलो भयो । 
"त्यो चोकको मिठाइ पसलबाट मम्मीलाई मनपर्ने लालमोहन र मिल्ककेक लैजान पर्छ है ।"
"अनि सालीहरूलाई मनपर्ने तात्तातो जेरी र कलाकन्द पनि त लैजानु पर्ला नि होइन र ?" 
कपन, काठमाडौं                                   
२६ वैशाख २०८१

+++
२०. लघुकथा : माताको ममता ✍️कल्पना भण्डारी 

मातातिर्थ औँसीको दिन थियो । बिहान मिठाई पसलमा मिठाई किन्नेको भिड थियो । शेखर पनि आमालाई मिठाई किन्न भनेर पसलमा लाइनमा बस्यो। आफ्नो अगाडी छिमेकी हर्षितलाई पनि लाइनमा देख्यो । उस्ले मनमनै सोच्यो ससुरालीमा जान लाग्यो कि । हर्षितले पनि शेखरलाई देख्यो । तपाई पनि आउनु भएको ? ल सँगै जाउँ भनेर पर्खियो । शेखरले पनि मिठाई किनेरसँगै हिडे। शेखरले भन्यो,  "हर्षित दाइ के तपाई पनि ससुरालीतिर पठाउनको लागि मिठाई किन्न आउनु भयो?" "हैन शेखर आज मिठाई चढाउनको लागी लिन आएको । आज आमाको लागि पनि चढाउन खोजेको बाँचुन्जेल केही गर्न सकिएन । अहिले सक्ने भएको छु तर आमा हुनुहुन्न । पितृलाई भएपनि चढाउनु पर्यो। "अँ साँच्ची आमाको खबर के छ तिम्रो?"
"के भन्नु खै दुई चार महिना भयो आमालाई त घर बाहिर पो राखेका छौँ घरमा हेरविचार गर्ने कोही नभएर मिठाई किनेर पुर्याउनु पर्यो भनेर किन्न आएको ।"
यो कुरा सुनेर हर्षितले भन्यो "के कुरा गरेको यस्तो? आफूलाई जन्मदिने आमालाई बृद्दा आश्रममा राखेर कस्ताे सम्पत्ति कमाउन खाेज्दै छाै  । संसारमा आमा भन्दा ठूलो को छ? " 
यो कुराले शेखरले शिर निहुरायाे। हर्षितले भन्यो जाऊ । आमा लिएर आऊ । शेखर आमालाई लिन गयो । आमाले छोरालाई अङ्गालो हालेर रुन लाग्नु भयो ।  
बाबु तिम्रो परिवार सबैलाई सन्चै छ ? मलाई यहाँ ल्याएर छोडेदेखि तिम्रो यादले मलाई कुनै समय सन्चो छैन बाबु । आमा हिक्क हिक्क गर्दै रुन लाग्नु भयाे । "बाबु यता भेट्न आउने मान्छेहरुले मलाई  दिएको पैसा जम्मा गरेर राखेकी छु राख बाबु । नातीलाई लुगा किन्दिनू । बुहारीलाई ओखर किनिदिनू । आफ्नो घर व्यवहार राम्रोसँग चलाउनू । मेरो सधैँ आशिर्वाद छ बावु !" यति भन्दै छोराले लगेको मिठाई हेर्दै आमा बेहोस हुनभयाे।
सिन्धुपाल्चोक जिल्ला हाल काठमाडौं 
२०८१/१/२६

+++

२१. लघुकथा- माफी ✍️अन्जु शर्मा 
रातोपुल(2081/01/25)
  मन्दिरको कुनामा एकजना वृद्ध महिला चुपचाप बसेको देखेर एकजना पूजारीले "आमा!तपाईं जेष्ठ नागरिक भएको कारण  लाइन बस्नुपर्दैन,दर्शन गर्न सक्नुहुन्छ ।"  वृद्ध महिला नबोलि बसिरहनुभयो।उपस्थिति धेरै महिलाहरूले छोराको माग गरे,कतिपयले सन्तान भए पुग्छ भने ।पुरूष बर्गले धन,सम्पत्ति ,जागिर ,उधोग,बाणिज्य सबै माग्न भ्याए।वरदान माग्दा मान्छेहरू भगवानलाई घुष पनि संगसंगै चढाउथे ।
ती वृद्ध महिला खाली हात थिइन् ।धेरैबेर सम्म नबोली बसेको देखेर भगवानले स्वयं भन्नुभयो -" माते! के वर चाहिएको छ? माग्नुस।धेरैबेर देखि तपाईं यो चिसोमा बसिरहनुभएको छ।"
"भगवान! मलाई माफी दिनुस्"।वृद्ध आँसु झार्छिन्।
" के को माफी ?"भगवान छक्क पर्छन् ।
" मैले पनि यी महिला र पुरूषहरूले जसरी सन्तन र सप्पत्ति मागेकि थिए ।त्यहीँ सम्पत्तिको लुछाचुडिमा सन्तानले दिएको अपमान सहनु भन्दा नि:सन्तान भएर बाच्न पाउँदा पक्कै मैले मुक्ति पाउथे भन्ने लाग्यो ।त्यसैले मेरो गल्तीको माफी माग्न पर्खेर बसें प्रभु!

+++

२२. लघुकथा : मातातीर्थ औँसी ✍️कात्यायन

अलिअघिको कुरा हो । कहिलेकाहीँ पोल्ने गर्छ । कहिले घोच्ने र मनमा शान्ति पनि !
उनी पर भएको दिन पनि अविस्मरणीय हुने रहेछ !
सबेरै रित्तिकाले फोन गर्दै सोधेकी थिइन्, "के गर्दै छौ ?"
मैले भनेँ, "म त ओछ्यानमा नै हो ।"
"के आजको दिन पनि कुम्भकर्ण बनिरहेको ? मातातीर्थ औँसी हैन ? हिँड जाऔँ मातातीर्थ ।"
"ल ल म आइहालेँ ।"
"तिमी त लोसे छौ ! कतिबेर लाउँछौ ?"
"फ्रेश हुन बाहेक दस मिनट त हो तिम्रोमा आइपुग्न ।"
"ल, आधाघण्टा भित्र आइहाल ! धेरैबेर कुर्दिन ! फेरि कुनै बहाना गर्ने हैन नि? म बाटोमा नै हुनेछु ।" उनले उर्दी जाहेर गर्दै, सचेत पनि गराएकी थिइन् । मैले 'हुन्छ' भन्न नपाउँदै आदेश दिइन्, "आउँदा पुजासामाग्री पनि लिएर आउनु नि !"
उनीसङ्ग बिहानै भेट हुन पाउने अवसर पाउँदा, म अपार खुसीले गदगद थिएँ । हतारहतार नुहाइधुयाइ गर्दा पनि तयार हुँदा बीस मिनेट गइहाल्यो । 
खल्ती खोतलेँ, एकहजार रहेछ । पुजासर्दाम र खाजाकोलागि पुगिहाल्छ । छिटोछिटो  बाइक स्टार्ट गरेर हुँइकिएँ ।
महाराजगन्जको कान्ति-बाल अस्पतालनिर पुग्दै थिएंँ । बच्चा बोकेकी एक महिलाले रोक्ने सङ्केत गरिन् । रोकेँ । अनुग्रह गर्दै भनिन्, "दाइ ! हेर्नू न बच्चा बिरामी छ । जँचाउने, औसधि किन्ने पैसा नै भएन । एकहजार भए दिनुस्न !"
"छैन बहिनी !" झूट बोलेँ ।
फेरि दयालाग्दो भावले भनिन्, "प्लिज दाइ !"
मनलाई दह्रो पार्दै भनेँ, "आज पैसा नै बोकिन बहिनी !" 
फेरि पनि अनुरोध गर्लिन् भनेर ती महिलाको अनुहार हेर्दै नहेरी बाइक अगाडि बढाएँ । 
मनमा कुरा खेलाउँदै रित्तिकाको घरनजिकै पुग्दै थिएँ । मन खल्लो हुँदै थियो ! उनले दिएको आधाघण्टा सकिन लागिसकेको थियो । थाहा छ, उनी कुर्दिनन् समयभन्दा बढी ! 'अबकोपल्ट अन्तिम हुन्छ नि' भनेकी पनि थिइन् अलिअघि नै ! सोचेँ; सके फेरि फकाउँला !
म फर्केँ अस्पतालतिर । ती महिला त्यहीँ थिइन् । फेरि सामुन्ने आईन् ।
केही नभनी, मसङ्ग भएको एकहजार दिएँ । हर्षले आँसु बगाउँदै पुलुक्क मलाई हेरिन् ।
आँखा जुध्यो । मैले, उनको अनुहारमा मेरी आमाको प्रतिविम्ब पाएँ ! अङ्गालोमा च्यापिएको, रोगी बच्चामा, म रूपान्तरित हुँदै गएँ !
***   ***   ***
चाबहिल, काठमाडौं - ७
२०७९ / ०१ / १७
++++

२३. लघुकथा- मातृत्व  ✍️लक्ष्मण ज्ञवाली

"हैन किन यसरी  झुम्मिएका तिमिहरू ? "
"सबै आ आफ्ना ठाँउमा  बसेर पढ न ।"
उजेलीले केटाकेटीहरूलाई संझाईन ।
"उनीहरू भने वरी परीबाट उजेलीलाई घेरेर कसैले श्रङ्गारिक सामान पहिर्याउदै थिए त कसैले मिठाई  फलफुलका परिकार खुवाएर  आशिर्वाद माग्दै  प्रणाम  गर्दै थिए ।"
उनी आफ्नो विगतलाई संझेर झरी वर्षे सरी वर्षिइन ।आँसु थाम्न सकिनन् । 
 "आमाहजुर किन रूनु भा को ?"
ति मध्धे ठुली नानिले प्रश्न गरि ।
उनीले आफ्नो विगत बताउदै गइन 
"कुनैवेला म पनि पाँच सन्तान कि आमा थिएँ ।दैवले सबै सन्तान हरि दियो ।ठूलो भूकम्पमा परेर सबै पुरिए ।म अभागिनी लाई बाँच्न लेखेको रहेछ कालले पनि लगेन ।"
"बिदेश कमाउन गएका श्रीमान पनि बाकसमा सजिएर आए ।त्यस पछिका बैधब्य दिनका पिडाको के पो बयान गर्न सकिएला र!"
उनी भन्दै गईन 
"म सडकमा  आएँ ।सडक पेटी ,पुल पुलेसाका ओत मेरा वासस्थान बने ।सडकमा मैले दर्दनाक अवस्थाका धेरै वालवालिकाहरू भेटें ,सबैमा मैले मेरै छोराछोरीका अनुहार देखें ।म जस्ता अभागिन हरूको संख्या पनि ठूलै भेटें  ।"
अनि के भो त आमा ? 
"मेरो मनले यौटा अठोट गर्यो ।मैले आफैले जन्माएका नभएर केभो र -यि सबैलाई  कसै न कसैले त प्रसव पिडा भोगेर जन्माएकै त हुन "।
"स्याहार पो त गरेनन् ।कसैले नालीमा मिल्काए होलान,कसैले टुहुरो भन्दै लखेटे होलान ।"
"आमाको आश्रय  नपाएका हरूलाई जुटाएर  परिवार बनाउछु ।पढाउँछु,संस्कार सिकाउँछु असल नागरिक  बनाउँछु भनेर यसैमा  लागें।"
उनका आँसु अझै थामिएका थिएनन  ।
"पिर नगर्नुस आमा  हजुरका हामी यति धेरै सन्तति छौं  हजुरको इक्षा पूरा गरि छाड्छौं ।आज माता तीर्थऔंशी ,ऐले त हजुरको मुख हेर्न र आशिर्वाद लिन जुटेको पो त " ।
ठुली नानीले आफ्नो भनाइ राखी  ।
उजेली  ले फेरी भनिन 
"बाल संरक्षण केन्द्र जहाँ आज तिमीहरू छौ । परिवार चलेको छ ।तिमीहरू खुशी छौ  म पनि खुशी छु । "म असल आमा बनेर मातृत्वलाई गाढा बनाउँछु ।" 
                                    समाप्त 
तिलोत्तमा १ 
नीलगिरिपथ 
शंकरनगर रूपन्देही 
२०८१/१/२६

+++
२४. लघुकथा : महिमा  ✍️शुक्रराज कुँवर
          कक्षामा नेपाली विषयको पढाइ भइरहेको थियो । कक्षा शिक्षकले विद्यार्थीहरुलाई आफूलाई मन पर्ने नाम वाचक शब्द र मन पर्नुको कारण कालोपाटीमा लेख्न भने ।
          पहिलो विद्यार्थीले लेख्यो - गुरु । किनकी गुरू ज्ञानका भण्डार हुन् , ज्ञानको ज्योती बालेर दिव्य प्रकाश छर्छन् ।
          दोस्रो - डाक्टर । रोगीको प्राण रक्षा गर्ने डाक्टर जिउँदो देवता सरह हुन्छन् ।
          तेस्रो - देशभक्त । देशलाई समुन्नत पार्न , देशलाई माया गर्ने देशभक्तको खाँचो पर्दछ ।
          त्यसै गरि विद्यार्थीहरुले क्रमश: कसैले वकिल , कसैले इन्जिनियर ,कसैले राजनेता , कसैले कुशल प्रशासक ,कसैले साहित्यकार कसैले पत्रकार आदि इत्यादिको महिमा गाउँदै गर्वका साथ लेखे ।
          र अन्तमा एउटा विद्यार्थीले सटिक ढङ्गले कालोपाटीमा सुन्दर शब्द लेख्यो - " आमा ।" 
          र उसले अगाडि लेख्यो ती सबै महापुरुषको जन्म आमाकै कोखबाट हुन्छ । आमाको महिमा जति गाए पनि कम हुन्छ ।
धरान १०
२०८१/०१/२६

+++
 
२५. लघुकथा-  भोक  ✍️रमेन्द्र कोइराला 
इनरुवा -९ बबिया,सुनसरी 
    "बाबू हो ! केही छ भने खान देऊ  न । " माग्नेजस्तै देखिने एक बुढी आमाले आँगनमा बस्दै भनिन् । 
    भोकको कमजोरीले उनको हातको लौरो समेत काँपिरहेको थियो मानौं उनले खान नपाएको निकै दिन भएको थियो । अनुहार चाउरिएको थियो। शरीर सुकेको थियो । अभावले उनलाई पुरै गाँजेको थियो ।
      उनको हेराइ बरन्डामा खाना खाइरहेको एक बच्चामा थियो । 
    त्यतिखेरै भित्रबाट घर मालिक्नी कराउँदै निस्की -" भित्र गएर खा बाबू ! बुढीले आँखा लगाउँछे । "
   अनि बुढीतिर फर्केर भनी -"तिमीलाई लाज लाग्दैन मागेर हिंड्न । बडो छोराले खाएतिर हेर्दी रहिछ । जाऊ भाग । "     
     निराश भएर बुढी जान लाग्दै थिइन् मानौं उनको आशामा ठूलो तुषारापात भएको छ । 
      त्यतिखेरै एक वृद्धको कडा आवाज आयो -" भोक भन्दा पीडा अर्को केही छैन बुहारी त्यसैले अलिकति खाना देऊ तिनलाई । 
२०८१/१/२६
+++
२६. लघुकथाः मातृस्नेह  ✍️कल्याण पन्त
‘आफ्नो खुसी सबैभन्दा पहिले कसलाई बाँड्नु पर्छ ?’
‘आमालाई...’
‘कसलाई रे ?’
‘आमालाई...’ 
कक्षामा रामचन्द्र गुरुले लेग्रो तानेर ‘मातृभाषा’, ‘मातृस्नेह’ आदि शब्दार्थको व्याख्या गर्दै हुनुहुन्थ्यो । त्यतिबेलै एउटा कुनोबाट आवाज निस्क्यो । सबैको ध्यान त्यतैतिर खिचियो । हेर्दाहेर्दा उसले आफूलाई सम्हाल्नै सकिनँ । 
आडैको साथीले भनी, ‘पोहोर साल उसकी आमा..... । ’ ऊ पनि बोल्दाबोल्दा भावविह्वल भई । यसै बिच मातृ बरखीमा रहनुभएका गुरु पनि खल्तीबाट रुमाल झिक्दै बाहिरिनु भयो ।
+++
२७. लघुकथा- मृत आमाको चाहना ✍️इन्द्रराज पौड्याल
     आज आमालाई सम्मान गर्ने दिन।समाजिक सञ्जालका भिताहरू पोतिएका छन् आमालाई सम्मान गरिएका तस्बिरहरू र सन्देशहरू बाट।
                 जीबित छंदै आदर श्रद्धा र माया ममता बाट टाढिएकि एक आमाले भन्दिहुन् माथिबाट”मेरो सन्तानको ढिलै भएपनि धर्म र कर्तब्यप्रतिको आस्था जागेछ।हात शिरमाथ राखेर खुशी र सुखी हुनु भन्ने आशिरबाद दिन पाइन।अब यति टाढाबाट स्पर्श नगरि दिएको आशिरबाद लाग्छ कि लाग्दैन !”
                   यस्तै सोच्दा सोच्दै भन्दिहुन् “आशिरबाद दिन्छु लागेपनि लागोस नलागेपनि नलागोस।अपमानित भएर बाच्न नपरोस।जीबनभर सुखमा खुशीसाथ बांचोस र यस्का
सन्तानबाट जिबित छॅदै सम्मान पाओस”
                                                      २०८१-०१-२६
+++
२८. लघुकथा: मदरस् डे ✍️प्रेम पुन मगर
ऊ बिहानैदेखि पिएर फिट्टु थियो। होसै भएन। दिउँसोतिर टिनीनी फोन बज्यो। हेर्दा इमोमा सानी बहिनीको रहेछ।
उसले " हेलो " भन्दा बित्तिकै उतैबाट भनि। "आमाले शहर पसेको मेरो  छोरासँग कुरा नभएको धेरै महिना  भयो भनेर पीर गर्नुभएको छ।...."
उसले भन्यो। "मेरो फुर्सद भए म आफै फोन गर्छु राख।"
 आधारातको रुम गएर मुहार पुस्तिका  खोल्यो। जतासुकै आमाको पोस्ट  देखेर झस्कियो। पछुतो मान्दै हतारहतार  पाँच छ वटा आमाको तस्बिरहरू निकाल्यो र पोस्ट  गर्यो लेख्यो हेप्पि मदरस् डे।  
२६/१/८१
+++
२९. लघुकथा- आमा ✍️माधव पाेखरेल गाेज्याङ्ग्रे
मातातिर्थ अेौसीका दिन रमेश अस्पतालमा उपचार गराई रहेकी आमालाई भेट्न घरबाट निस्क्याे । बाटामा उसकाे ससुराली घर भएकाेले सासू आमा श्रीमती छाेराछाेरी भेटेर जाने सुरले ससुराली घरमा पस्याे । 
तर रमेशकी सासू र श्रीमतीले खाना खाएर जानू भने । उसले साेच्याे जन्म दिने आमाकाे मुख नहेरी कसरी खानु ,आजकाे म हुनु आमाकै देन भएकाे सम्झ्याे ।
खाना खाएपछि श्रीमतीले मलाई सञ्चाे भएन अस्पताल जाऊ भनिन् । रमेशले आमा उपचाररत अस्पतालमा जाऊँ भन्याे । तर उसकी श्रीमतीले त्यहाँ नजाने अड्डी कसिन । रमेशकाे केही लागेन र अरु नै अस्पतालमा श्रीमतीलाई उपचार गराउन लिएर जाने निधाे गर्याे ।
रमेशले जे भए पनि जन्म दिने आमाकाे मुख हेर्नू पर्छ । बिरामी भएकाे बेलामा  उपचार गर्नु  हेर्नू पर्छ । उपचारमा सहयाेग गर्नु पर्छ भन्ने साेचले श्रीमतीलाई अस्पताल लगेर फर्काएपछि आमालाई भेट्न जाने निधाे गर्याे र श्रीमतीलाई लिएर हिड्याे ।
घरबाट निस्केपछि श्रीमतीले भनिन् अहिले मार्केटतिर जाऊ पछि जाउँला अस्पताल । 
रमेशले म आमालाई भेटेर घर फर्कन्छु भन्याे तर उसकी श्रीमतीले दिनभरी बजार घुमाइन । बजारमा घुम्दै गर्दा रमेशलाई भाइकाे फाेन आयाे आमा सिकिस्त हुनुहुन्छ छिटाे भेट्न आउनु भनेर ।
तर श्रीमतीले साँझ परिसक्याे अब भाेलि जानू भनेर राेकिन र माइती घरतिर लिएर गइन । माइती घरमा पुगेकाे केही क्षणमा पुनः भाइले रमेशलाई फाेन गर्याे र भन्याे आमाकाे बैकुण्ठबास भयाे । 
याे खबरपछि रमेश र उसकी श्रीमती दुबै हतार हतार अस्पतालतिर लागे ।
+++
३०.  लघुकथा : ममता ✍️ सुनिता निरौला पौडेल
आमासँग झगडा गर्दै घरबाट निस्कियो ऊ। 
गाडीको ढोका ढ्याम्म पारेर गाडी हुईँकायो । केही बेरमा ठूलो आवाज आयो ऊ निदायो । 
गाइँगुईँ  हल्लाले केही क्षणमा आँखा खुल्यो । शरीरबाट रगत बगिरहेको थियो । 
"हैन ! हैन ! मर्यो होला यो । कसै कसैले भन्दै थिए ;
"अलिअलि त तातो छ, जिउँदै  जस्तो छ । " 
" कस्तो हौ ,मान्छेको सहयोग नगरी फोटो ,भिडियो खिचेको "भन्ने आवाज सुनिराखेको थियो । 
उसको भाग्य बलियो समयमा प्रहरी आयो । फेरि बेहोश भयो  । मुख सुकिरहेको थियो । जताततै पीडा भइरहेको थियो । आँखा खोल्दा वरिपरि आफन्तहरूले भन्दै  गरेको  आवाज कानमा पर्यो ।
" मलाई चिनिस् " कसैले तस्वीर कैद गर्दै थिए मानाै -ऊ चिडियाखानाकाे एउटा अनाैठाे जनावर हाे । त्यसैबेला आमा छेउमा आएर चम्चाले पानी ख्वाउँदै भन्नुभयो ; "बाबु तिमिलाई केही हुन्न , म छु नि ।"  
भक्तपुर : राधे राधे , निकोशेरा ।
२०८१ - ०१- २६ गते ।
+++
३१. लघुकथा : जननी ✍️सुस्मिता अधिकारी
छिटो उठ्नुस् न ! आमाकोमा जान ढिलो भइसक्यो।
श्रीमान ,” ल ल तिमी कोसेली मिलाउ ,म पनि तयार भइहाले “। 
मानो छुट्टिएर बसेका बुबा आमाकोमा पुगे उनीहरू। 
कोसेली आमाको हातमा राखिदिदै दुबैले आशिर्बाद मागे। 
आमा ,”कति चाँडो आइपुगेका ! जागिर त छोड्यौ भन्ने सुनेथे।विदेश कहिले जादैछौ?
छोरा ,”दश दिन पछिको टिकट छ “
आमा ,” सम्धिनीलाई भेट्न कतिखेर जादैछौ त “? 
प्रविधिको मद्दतले साक्षातकार भइसक्यौ बुहारीले भनिन्। 
छोरा ,”तयारि गर्नु धेरै छ तैपनि  बिदाइ गर्न यतै आउदै हुनुहुन्छ। ”
आमा ,”ल ल विदेश बसाई सुखद र उज्वल रहोस्। आमा भनेका नारी मात्र होइनन् माटो पनि हुन्। अहिलेको चलन फेसबुकमा फोटो पोस्ट्याएर मात्र उम्किने नगर्नु है “। 
सुस्मिता अधिकारी ,काठमाडौँ
+++
३२. लघुकथा- आमा ✍️ टीकाराम जाेशी
 टीकापुर।
  काेठामा सजाइ राखेकाे तस्वीरमा उसले  नियालेर हेर्याे। 
 "फाेटाेमा देखिने सुन्दरी काे रहिछन्?अरु काे काे हुन् यिनी आमा? "उसले साेध्याे।
  उनले आफ्नाे विरुप अनुहार एेनामा नियाल्दै भनिन्,"फाेटाेमा म ,मेरा पति , दुई छाेरा र एक छाेरी छाैँ।"
"कति सुन्दर परिवार रहेछ है आमाकाे तर , मैले  यिनीहरुलाई आजसम्म देखेकाे छैन।"
"छाेरा छाेरी  विदेसमा घरजम गरेर बसेका छन्। हाेनहार दैव नटार। पतिले  कराेनालाई जित्न सक्नुभएन।"
"तपाईँ विदेश जानुभएन।"
" घरमा उनीहरुका  मान्छे भेट्न आएभने  मलाई आफ्नाे काेठाबाट बाहिर ननिस्किनु भन्थे। विदेशमा मलाई कस्ले लग्थ्यो र।
"अनुहार कसरी बिग्रेको हाे ,आमा।"
" आगाेबाट छाेरा छाेरी बचाउन लाग्दा अनुहार पाेलिएकाे हाे ,बाबु ।" उनले आँखा चिम्लिन्।
उनका आँखा रसाएका देखेर ऊ माैन भयाे।
"आमा! ढाेग गरेँ। हजुरकाे माया र आशिर्वाद सधैँ पाइ राखुँ।" आवाजले उनी झस्किन्। साँच्चै  भेट्न आएछन् त विदेशबाट!
आश्चर्य लागेर उनले आँखा उघारिन्।उनका वरिपरि उनले सञ्चालन गरेकाे अनाथालयका युवायुवतीहरु हातमा उपहार लिएर उभिएका थिए।
+++
३३. लघुकथा - भार  ✍️ बालकृष्ण गजुरेल 
रमणको बुहारी चिच्याइन्, "कस्ति शाशू आमा हुन् ? सँधै मैले मात्र पानी खोल्नु पर्छ ।" 
पानी खोलेर उनी काम धन्दा तिर लागिन् । रमण पुस्तक पढ्दै थिए ।  पानी ट्याङ्की फुटेर छतभरी भयो । 
छिमेकी चिच्यायो, "वो... रमण दाइ, ठूलो ट्याङ्की फुटेछ ।"
रमण छतमा पुगे । सँगसँगै वुहारी पुगिन् । वुहारी झर्किन् , " चार लाख तिरेर ल्याएको पानी ट्याङ्की फुट्यो । " 
रमणले भने, "कृतिम पानी ट्याङ्की फुट्दा चिच्याउँछेउ । तिम्रो सासू आमालाई  हेर । हृदय चिराचिरा हुँदा पनि लाखौँ भार थाम्दै छिन् । तिम्रै  जस्तो आमा होइनन् र !  "
+++
३४. लघुकथा- कोसेली ✍️तुलसी पण्डित 
उसले सम्झ्यो । हिजो आफ्नो आङ् भरी जुम्रा हुन्थे ।आमाले भन्नु हुन्थ्यो । आउँ बाबु तिम्रो रगत सबै जुम्राले खाइसक्यो । म जुम्रा हेरेर फाली दिन्छु । उसको कपालको पत्रपत्रमा जुम्रा थिए । अझ कपडामा जुम्रा उस्तै थिए । आमा जुम्रा टिप्दै भन्नु हुन्थ्यो । 
"खानु खाएछ यी ढाडीले तेरो रगत । हेर त हातको नङ सबै रातै भयो । न हेरेको भए यिनै ढाडीले तलाई रुखमा लागेर झुण्डाउने थिए ।"
आमाको मायाममता पाएर ऊ सफल व्यक्ति भयो । ऊ अहिले अमेरिकामा छ । सबै परिवार उतै छन् । घरमा आमा एक्लै हुनुहुन्छ । बुढौली लागि सक्यो । लठ्ठीको सहारामा हिड्नु पर्छ ।लुगा धुन न सकेर जुम्रा सग्सग हिड्छन् । जुम्रा टिपेर फालि दिने कसले ।
विदेशबाट छोराले फोन गर्यो ।
" आमा हजुरको याद आयो । म माता तीर्थ औसीमा हजुरलाई भेट्न आउँछु । बरु भन्नु आमा हजुरलाई के कोसेली ल्याइ दिउँ ?"
"बाबु तिमीले मलाई  केही कोसेली ल्याउनु पर्दैन बरु यहाँ आएर मेरो आङ्मा भएका सबै जुम्रा टिपेर फालि देउँ ।"
+++
३५.  लघुकथा- माया ✍️राेशन पराजुली
 जस्ले जे भनुन तर कर्म गर्न नछाड्नु तिमीले।
जीवन बाेध हाे हर्ष र बिष्मातले कहिल्यै छाड्ने छैन्।
जति गर्छौ त्यति मै सन्तुष्टि लिन सक्नु।
 जीवनकाे अन्तिम घडिमा आमाका यी वचन पूरा गर्न मलाई कम्ता गार्हाे भएन!
 बुझ्नेले कति बुझे जाने मलाई केही हेक्का नै थिएन।तर पनि साथमा दुई दिदी भाइ मात्र रहेका थियौ।
समय वितेर जान पनि कतिवेर लागेन। उहाँका वचन पूरा गर्न मैले दिदिलाई अरुमै सुम्पिए।एक्लाे जीवन काट्न साहारा चाहिने हुदा सुन्तली साथी भइन।
चल्दै थियाे जीवन भएका सन्तान पनि वाटाे लागे।सुन्तली पनि अस्ताईन,फेरि एक्लै परे।
धेरै दिन पछि फेरि न्यास्राे लाग्न थाल्याे।
सिरान माथि राखेकाे तस्बिर नियाले।दिदी र म आमाकाे काखमा थियौ।
 बा पनि कामकाे खाेजिमा कतै अर्काे गाउँ हराउनु भएकाे थियाे फर्किनु भएन।
 अनायसै आँसु बगेर आयाे। मन थाम्म सकिन बा,आमा,दिदी सम्झदै झकाएछु।
ए साने हैन कता छस हौ! आवाज आएतिर फर्केर हेरे दिदी लौराे टकटक गर्दै भित्र पस्नु भयाे।
हैन किन गुमसुम बस्या।
केही हैन आज मातातिर्थ ओैषी यी फाेटा हेर्दै थिए भुसुककै निदाएछु। 
 २६/०१/२०८१, बरगाछी,धरान।
+++
३६. लघुकथा - सन्तुष्टि ✍️खगेन्द्र बस्याल 
         * माता तिर्थका दिन सवैले आफ्नी आमालाई मिठाइँ ,फलफूल एवम् उपहार लिएर हिडिरहेका बेला गाउँमा एक्लै बसेकी मनमायालाई बजारमा आएको  मौकामा  रविलाले सोधेँ ," तपाईंलाई आजको दिन अौशीको रात जस्तै  लागेको होला है?"
 मनमायाले जवाफ दिइन् ," तपाईंले के भन्नुभएको ,  मलाई त पूर्णिमा जस्तो पो लागेको छ।
 रविलालले जिज्ञासा राखे," के कारणले यस्तो मनैछुने सुन्दर अभिव्यक्ति दिनु भयो ।हृदयदेखिको बोली हो त यो ?"
 मनमायाले जानकारी लिइन्," म डाँडा माथिको जूनले झुटो कुरा गर्न सुहाउँछ त!"
 रविलालको कौतुहलता चुलियो।यसैले सही उत्तर मागे," भन्नुस् त ,के कारणले छोराछोरी नभएकोमा पछुतो छैन ?"
 उनलेे हाँस्दै भनिन् ," सवैलाई आफ्नै छोराछोरी मानेर व्यवहार गरेको  कारण गाउँ भरकि आमा बनी सोही अनुसार माया पाएपछि मलाई अरु के नै चाहियो ।आज फलफूल र मिठाइँ बढी भयो , खान संगै जानू हुन्छ कि कोही मार्फत पठाई दिउँ!"

* तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही ।०८१ बैशाख २६

+++
. लघुकथा- समय ✍️सविता भट्टराई
जनकपुर
"आमा !आमा ! कता हुनुहुन्छ ? माइतीको भर्याङ चढ्दै सरिताले आमालाई बोलाईन्।"म ए तै छु नानी !"पूजा गरी रहेकी छु।आमाले पूजाकोठा बाटै जवाफ दिनु भयो।
"अनि दाजु भाउजू खोइ त?आज माता तीर्थऔसीको दिनमा पनि आमालाई एक्लै छाडेर कता गएका होलान्?सरिताले रिस पोखिन्
सरिता आज मातातिर्थ औसी को दिनमा आमालाई भेट्न माइत आउँदा दाजु भाउजूलाई घरमा न देख्दा दुःखी भइन्।
"छोरी ! न रिसाउन ! तिमी मलाई भेट्न आएको होइन,हेर, म त छदैछु नी!भाउजूलाई पनि आफ्नो आमा भेट्न मन लाग्छ नि?तिमी आउछौ भनेर हामी दुई जना लाई खाना पकाएर गएकी छिन्।दाजु पनि उतै गाएको च।
"अनि दाजु भाउजू ले तपाईंलाई आज के दिनु भएछ !आफूले ल्याएको कोसेली पोको खोल्दै सरिताले भनिन। आमाले हाँस्दै भन्नु भयो"नानी दाज्युले हामी बुढाबुढी लाई चाहिने अमूल्य समय दिएको छ।उसको लागि त सधै मातातिर्थ औसी!!!!¡
सरिताले असल ज्ञान पाइन् । र आखाबाट आशु खसलिन।

Friday, May 3, 2024

लघुकथा प्रतिष्ठान नेपालका व्यवस्थापक मनोहर पोखरेल मातृशोकमा

लघुकथा प्रतिष्ठान नेपालका व्यवस्थापक मनोहर पोखरेल मातृशोकमा

साहित्यका अनेकन विधामा फुटकररूपमा कलम चलाए पनि मूलतः लघुकथाका क्षेत्रमा ख्यातिप्राप्त मनोहर पोखरेललाई मातृशोक परेको छ ।
पोखरेलकी ८२ वर्षिय आमा मेनकादेवी पोखरेलको २०८१ बैशाख १९ गते निधन भएको थियोे । उहाँको जन्म भने वि.सं. १९९९ बैशाख १ गते भएको थियो । 
मनोहर पोखरेलको पारिवारिक वातावरण नै प्रजातान्त्रिक आन्दोलनबाट प्रभावित थियोे । विद्यार्थीकालदेखि नै अनेक पटकका जनआन्दोलनमा होमिएका पोखरेल पेशाले पत्रकार र मानवअधिकारकर्मी हुन् । हर्दम जनआन्दोलनमा सरिक भएको देख्दा आमा मेनकादेवीमा वितृष्णा जाग्नुको साटो आशक्ति जागेको एउटा रोचक घटना छ-
२०६२/२०६३ सालको लोकतान्त्रिक आन्दोलनमा अग्रपंक्तिमा मनोहर पोखरेल सरिक थिए । खासगरी सप्तरीका  जनतालाई जनचेतना जगाउँदै मनोहरले आन्दोलनलाई उचाइमा पुर्‍याउने काम गर्दै थिए । त्यसबेला उनी पक्राउ परे । प्रहरीले अरूलाई छाडे पनि उनलाई छाडेन । मुद्दा चलायो र दोष ठहर्‍याई जेलचलान गर्यो । आन्दोलनले झन् उग्र रूप लियो । यस घटनाको विरोधमा राजविराजमा 'जेल भरौँ' आन्दोलन चल्यो । कयौंले गिरफ्तारी दिए ।
बिग्रँदो माहोल सपार्न प्रशासनले आत्मसमर्पण गर्न भन्यो मनोहरलाई । उनी आफ्नो पूर्ववत् अडानमा चट्टान बने । मनोहरका पक्षधरले नि:सर्त सम्मानजनक रिहाइ गर्न भने । यद्यपि प्रशासनले अनेकौं तिकडम अपनायो । एउटा झुकाउने अर्को सम्मानजनक रिहाइ खोज्ने हुँदा समस्या बल्झिरह्यो । आमा मेनकादेवीलाई छोराको तर्फबाट सार्वजनिक माफी माग्न लगाई मनोहर र उनका समकक्षीलाई रिहाइ गर्ने कदम चाल्न पुग्यो प्रशासन ।
त्यसबेला उहाँले भन्नुभएको थियो- "मेरो छोराले नेपाल आमालाई रुवाउने कर्म गरेको रहेछ भने देशको कानुनले कुवाओस् । हँसाउने काम गरेको रहेछ भने तपाईंहरू नै उसको नीतिको अनुयायी बन्नुस् । यसमै सबैको भलो छ । मलाई विश्वास छ, मनोहर मेरो कोखबाट जन्मेको भए पनि नेपाल आमाको छोरो हो । जनताको हितमा डटेर लाग्छ । पिठ्युँ फर्काएर कायरपन देखाउँदैन । उसलाई मैले यस्तै पारिवारिक संस्कार दिएकी छु ।"
यस्तो दृढता व्यक्त गरी सत्य र न्यायको पक्षमा निडर भई परोक्षरूपमा सङ्घर्ष गर्ने   मेनकादेवीको स्वर्गारोहणले एक असल आमा र अभिभावकको अभाव खट्किरहने छ । उहाँको आदर्शलाई अस्त्र बनाउन सके मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जली भएको ठहर्ने छ ।
(नन्दलाल आचार्यद्वारा प्रेषित )

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...