सन्दर्भ- विश्व जेष्ठ नागरिक दिवस विषयक लघुकथा
१. लघुकथा- अर्ती -श्रीप्रसाद पोखरेल
२. लघुकथा- गुरुको रोजाइ -नारायण कोइराला
३. लघुकथा- समस्या -त्रिपुरा खरेल
४. लघुकथा- अवहेलित -कुञ्जदेवी उपाध्याय
५. लघुकथा- बुढ्यौली -रञ्जुश्री पराजुली
६. लघुकथा- आमाको मन -नानि भारद्वज
७. लघुकथा - बुढ्यौली -बालकृष्ण गजुरेल
८. लघुकथा- हराएको क्याम्बिस -सोमकुमार सुब्बा
९. लघुकथा– माया –रञ्जना रिजाल
१०. लघुकथा– खुलेका आँखा –गजल आचार्य
११. लघुकथा– असिना –लक्ष्मी रिजाल
१२. लघुकथा– संकल्प –विष्णु भण्डारी आचार्य
१३. लघुकथा- वृद्धावस्था -सुरेशकुमार पाण्डे
१४. लघुकथा- सोझो सत्य -सूरज गजुरेल
१५. लघुकथा- हाँसीखुसी -पूजन न्यौपाने
१६. लघुकथा- घुइँचो -तुलसी पण्डित
१७. मैथिली लघुकथा- देवता -प्रेम विदेह
१८. लघुकथा- महत्त्वपूर्ण पुस्तक -खगेन्द्र बस्याल
१९. लघुकथा- आदेश -राजकुमार कार्की
२०. लघुकथा- उपचार -नन्दलाल आचार्य
२१. लघुकथा- सम्बन्ध -रमेशचन्द्र घिमिरे
२२. लघुकथा- वरदान -सविता भट्टराई
२३. लघुकथा- पूजा -गंगा खड्का
२४. लघुकथा- दीर्घायुको रहस्य -लक्ष्मण ज्ञवाली
२५. लघुकथा- चीसाे छाती -याेग भैरव
२६. लघुकथा- पुरस्कार -बाँस्कोटा धनञ्जय
२७. लघुकथा : सहारा -कल्पना भण्डारी
२८. लघुकथा- युग -मनोहर पोखरेल
२९. लघुकथा- सम्मान -अच्युत घिमिरे
३०. लघुकथा- महसुस -उमानाथ दाहाल
३१. दोस्रो लघुकथा- बाको तस्बिर -नारायण कोइराला
३२. लघुकथा- सम्मान -शान्ता तिम्सिना
३३. लघुकथा- सन्देश -लक्ष्मीप्रसाद पौडेल
३४. लघुकथा : बुढेसकाल -पदमप्रसाद दाहाल
३५. लघुकथा- मासु -रमेन्द्र कोइराला
३६. लघुकथा– आँसुको पोखरी –अम्बिका बास्तोला
३६. लघुकथा- बुढो बालक -गोपाल काफ्ले
३७. लघुकथा- उपहार -टङ्कबहादुर आलेमगर
३८. लघुकथा- डर -अन्जु शर्मा
३९. लघुकथा - जीवन जिउने सूत्र -चिरञ्जीवी दाहाल
+++
१. लघुकथा- अर्ती -श्रीप्रसाद पोखरेल
"गोडा दिनु त बा " भन्दै एउटा युवकले गोडा तान्यो । आफ्ना गोडा लुकाउँदै " को हौ नानि मेरा गोडा छुने ? वृद्ध क्षमानन्दले सोधे । "हजुरले चिन्नुभएन ?" युवकले पून: प्रश्न गरे । " चिनेको भए सोध्थेँ होला ? क्षमानन्दले खोक्दै प्रश्न गरेरै जवाफ फर्काए ।
" कसरी क्षमा माग्नुहोला?" मनमनमा गुन्दै युवकले गोडा तानेर ढोग्यो । " नानि! मलाई नचिनाई मेरा गोडा छोएर तिमीले मलाई भार लगायौ । अब भन तिमी कोहौ ?"
युवकले द्रवीभूत हुँदै भन्यो, "पहिलो भार त मैले जन्मलिनुनै भयो । दोस्रो भार तपाईँलाई छोडेर हिड्नु थियो । तेस्रो भार बाबुआमा भन्दा स्वास्नीलाई बढी महत्व दिएर लगाएँ ।
"ए श्रीधर पो होस् ? चुहिने छानो भएको घरमा बिजोग हेर्न आएको हो ? अझै त हिम्मत मरेको छैन शरीर मात्र गलेको हो ।
क्षमानन्द र श्रीधर बाबुछोरा थिए। श्रीमतीको भनाइमा लागेर वृद्ध हुन लागेका आमाबुबालाई छोडेर हिँडेको श्रीधर, श्रीमतीले भएको जायजेथा लिएर उसलाई छोडेर हिँडे पछि बाँच्ने सहारा खोज्दै आमाबुबाको शरणमा आइपुगेको थियो ।
राल काढ्दै भए पनि क्षमानन्दले जोसिलो भएर भने, "रमा हेर त , श्रीधर आइपुगेको छ ।
क्षमानन्दले भने,"भोकै होलास्। जा आमासँग मागेर कुराउनी चिउरा खाजा खा अनि कुरा गरौँला ।"
श्रीधर चटपटाएन । बरु बुबाका गोडा छेउमै बसिरह्यो । उनले भने," श्रीधर, दु:ख नमान । अबदेखि आफ्नो गोडा टेकेर हिड्नु, अरूले त के, आफ्नै छोराछोरीले त धोका दिन्छन् ।"
२०८०-०६-१२ इटहरी, सुनसरी
+++
२. लघुकथा- गुरुको रोजाइ -नारायण कोइराला
सेतै फुलेका बृद्ध मानिस बृद्धआश्रममा बस्ने गर्थेँ । बृद्धको मनमा कुराहरू खेल्दै थिए।
कार आएर उनको अगाडि रोकियो ।कारबाट उत्रने मानिस भलाद्मी थिए । हातमा महंगो मोबाइल थियो । ड्राभरले कारबाट विभिन्न खानाका परिकारहरू निकाल्दै थिएँ ।
ड्राइभरले खानाका परिकार उठाएर बृद्धको सामुन्ने राखिदिए । बृद्धमा कुनै खुसी देखिएन । भलाद्मी मान्छे नमस्कार गरी पुन आफ्नो कारमा बसे। ड्रभर कार स्टार्ट गर्दै थिए ।
उनी जाँदै गर्दा सधै जसो आऊने अर्को मान्छे आउँदैथिए । फोनहोल्ड गरी खोई के भने आऊने मान्छेको अनुहारको चमक हरायो ।
ती मान्छे बृद्धको अगाडि विभिन्न प्रकारका खाना देखेँपछि एकछिन टोलाएँ। उनको हातमा पनि खाना थियो । बृद्धको पाउँ समाउँदै आशीर्वाद लिएँ ।
यतिबेला बृद्धको अनुहारमा खुसी स्पष्ट देखियो ।
बृद्धले पछिबाट आएको खाना,खान थाले । ती महंगा खानाहरु जमीनलाई शोभा बढाउँदै थिए । दुबैजनाको मुहारमा मुस्कान आयो ।
एकछिन पछि त्यो कार फर्केर पुनः त्यही आयो । भलाद्मी रिसाउँदै भने,"यो खाना किन नखाएको ? बृद्ध चुपचाप सुनिरहे।" भलाद्मी बोलिरहे ।
बृद्धलाई कारमा बस्न भनियो । बृद्धले मानेनन् । कार आफ्नो बाटो लाग्यो। अर्को मान्छे अचम्म परें ।
बृद्धको मनमा भने अरू नै विचार आउँदै थियो ।
एक टुक्रा जमीनको लागि छोराले दिएको माया अपनाउने की ? चेलाले दिएको निश्चल सेवा ।
-तानसेन,पाल्पा
+++
३. लघुकथा- समस्या -त्रिपुरा खरेल
सुतेकै बेलामा प्रभादेवीलाई भाउन्न भयो । छोरा बुहारी,नातिनातिना शहरदेखि बाहिर घुम्न गएका थिए। तिनी पढेलेखेकी थिइन् , एक्लै मुटुरोग विशेषज्ञको क्लिनिकमा पुगिन्।
डाक्टर साबले बिमारीलाई समस्या सोधे
" नाडी ठीक छैन,रिँगटा लाग्छ, पसिना धेरै आउँछ,छिनछिनमा पखला लाग्छ।"
बिमारीको रगत, दिशा पिसाबको जाँच लगायत "ई. सी . जी ,ट्रेड मिल आदि टेस्ट भयो।
मुटु रोग विशेषज्ञले प्रभादेवीको रिपोर्ट हेरिसकेपछि तिनलाई सोधे,"तपाईंले आहार विशेषज्ञले बताए अनुसार खाना खानु भएको छ कि छैन?
"डाक्टर साब उहाँले बताए अनुसार नै खानामा पहरेज गरेकी छु। चिप्लोचाप्लो,मरमसला, चिनी ,माड आउने चामल नखाएको कतिभयो कति।"
"तपाईंको इलेक्ट्रोलाइटको रिपोर्ट ठीक छैन। पोटासियमको मात्रा धेरै छ।धन्न हृदयाघात भएन छ! फलफूल कति खानु हुन्छ?"
उहाँले भने जति नै खाँदै थिएँ। मेरी बहिनी तीन महीनादेखि मसँगै छे। उसले ठूलो रिकापीमा मेवा, अम्बा ,केरा, खरबुजा दिनमा तीनपटक दिन्छे। अचेल बेलुकाको खानाको साटो पनि त्यही खान्छु।
"ज्यादा खाँदा अमृत पनि बीष हुन्छ। उहाँ डाक्टर कि हामी डाक्टर?"
"ऊ रामदेवले बताए अनुसार खाना खान्छे,योगा गर्छे। आफ्नो शरीर र स्वास्थ्यको ख्याल राख्छे।"
" तपाईं मेरा कुरा मानेर,ढिलो नगरिकन अहिल्यै अस्पतालको आपतकालीन वार्डमा गएर चेकजाँच गराउनु होस्।"
गान्तोक, सिक्किम।
मिति : 30/9/2023
+++
४. लघुकथा- अवहेलित -कुञ्जदेवी उपाध्याय
यता बस्नुहोस् बुवा।मैले आफ्नो आसन छोडेर उठेँ।जसै त्यसै अडिएको उनको शरीर थुचुक्क बसेर म तिर सजल आँखाले हेरे।
कस्को छोरी नानी।आमा बुवाले धेरै संस्कार दिनु भएको रैछ। नत्रभने आजको दिनमा कसले कस्को दुःख देख्छ ।
निकै भावुक देखिए बृद्ध।
कै छैन् बुवा। कहाँ सम्म जानु हुन्छ हजुर?
म माथि बाइहाटा सम्म जान्छु नानी। तिमी?
म अझ अलिक पर सम्म जान्छु। एकछिनमा आसन खालि हुन्छ अनि बस्छु।हजुर चिन्ता नगरि बस्नुहोला।
उनी छोरी घर जान लागेका रहेछन्।
घरमा छोरा बुहारी नाति सबै छन् तर कोही केही सोध खोज गर्दैनन्।म सँग बात गर्ने उनीहरुको समय नै छैन्।सारै एक्लो भएँ नानी।घरको गोठालो झैं बसि रहन्छु। खान पनि साथमा दिँदैनन्।एक्लै खान्छु।जीन्दगी भरि उनीहरुकै लागि कमाएर राखि दिएँ तर छोराले बुझ्न सकेन।
उनको कुरा सुनेर मेरो मुटु चस्स घोच्यो।बृद्धावस्थामा किन अवहेलित हुन्छन् आमा बुवा !
असम,भारत
+++
५. लघुकथा- बुढ्यौली -रञ्जुश्री पराजुली
पत्र पत्रीकाहरु पढ्दा यदाकदा म प्राय उमेर भनेको खासमा संख्या मात्रहो भनेको सुन्दै आएको हुन्छु । योगी महाराजाहरु योगको साधनाले सय बर्षभन्दा बढी बाचेको पनि सुनिएको छ ।तर साधरण जीवन बाँचेर पनि युवा जोश र जाँगरले पनी स्वस्थ्य जीवन बाँचिदो रहेछ ।बिहान हिड्ने क्रममा धेरै मान्छेहरु सङ्ग भेट हुन्छ । यहाँप्राय संसारका सबै मुलुकका मान्छे पाइन् छन् ।भनिन्छ " अमेरिका विदेशीहरुद्वारा बनेको देश हो। म सङ्ग यहाँ प्राय मेक्सिकन बन्ठानेर होला स्पानीस भाषामा बोल्न आउँछन् ।
एउटी पाकी उमेरकी राम्री सेती महिला सङ्ग बिहान हिड्दा मेरो आकल झुक्कल भेट् हुन्थ्यो । हिड्ने ट्र्याक नजिकैपौडीखेल्ने पुल छ ।त्यतै एउटा सानो पार्क पनि छ ।पार्कमा बच्चाहरु खेले चिप्लेटी,पिङ्ग, ढिक्की च्याँउ जस्ता खेले साध्न पनि छ ।त्यहाँ सानासाना केटाकेटी खेलाउन ल्याउँ छन् । म हिडेर फर्किए पछि त्यहाँको बेञ्चमा बसेर एकै छिन जिउ तन्काउँछु ।ती आईमाईले मलाई याद गरि रहेकी रहेछिन् " माफ गर्नु होस् है! म तपाईं सङ्ग केही कुरासोध्न सक्छु?" भनिन् । म पनि सधैं देख्ने च्याट्ट परेकी ,अनुहारमा एउटा पनी चाउरी नभएकी ,भद्र महिलाले कुरा गर्न आउँदा किन" नाई" भन्थे।
पहिले उनले" तपाईं कहाँबाट " भनेर सोधिन् ।मैले " नेपाल बाट भनेँ। उनले आफू अहिले ९१ बर्षको भएको र अहिले सम्म " भिटामिन " मात्र कहिले काहीँ किनेर खाएको अरु कुनै रोग नलागेको र आफू डाक्टर कहाँ पनि जाने नगरेको भएर ९१ बर्षको उमेर सम्म बुढी नदेखिएको कुरा गरिन् । उनको जीवन भोगाईको अनुभवमा मान्छे निरोगि भएर धेरै बर्ष बाँच्नको लागि सकारात्मक सोचका साथै आहार विहारमा अनुशासनको आवश्यकता पर्ने कुरा गरिन् ।दस बर्ष अगाडि श्रीमानको मृत्यु हुँदा " अब जीवन कसरी बांच्ने भन्ने चिन्ताले सतायो ।त्यति बेला मैले योग र ध्यान सिके। अहिले बिहान हिड्छु ।योग ध्यान गर्छु ।सकारात्म सोच राख्छु । समाज सेवा गर्छु ।म अझै पनि बिना औषधि ,बिना डाक्टर स्वस्थ्य जीवन बाँचिरहेको छु। तपाईंलाई यहाँ सधैं बिहान जिउ तन्काउने ,श्वास प्रस्वासको एक्सरसाइज गर्नु भएको देखेर आज बोल्न आएको।तपाईलाइ अलमल अ गरिन हगि ? माफ पाँउ है " भन्दै उठेर फेरि भेटौंला है" भन्दै आफ्नो बाटो लागिन्
अमेरिका
+++
६. लघुकथा- आमाको मन -नानि भारद्वज
" तिम्री आमा आफू त जाने भइन् भइन् हाम्लाई पनि संगै लाने भइन्। धामीझाँक्री डाक्टर वैद्य सबै गर्दा बाउले दिएको बेसीको पाँच रोपनी खेत पनि गयो।"
गौतम्नीले सासुको जिर्ण शरीरमा खर्चिनुपरेको सम्पत्ति र समय समझेर टोकसो गरिन्।
"आमालाई त्यसो किन भन्छ्यौ ? हामी पनि त बूढाबूढी हुन्छौं। अन्न पानीको शरीर ,रोगब्याध हामीलाई पनि लाग्छ ।" गौतमले भने।
" वृद्घभत्ता चैं पटुकामा बाँधेर राख्छिन् यहाँ हाम्लाई कष्ट !", गौतम्नीले मन ओकलीन्। वास्तवमा उनीहरुलाई घरखर्च धान्न पनि धेरै कठिन थियोे।
" हेर ! यो उमेरमा आमालाई सरकारले दिएको मिस्रीपानीमा हामीले लोभगर्नु राम्रो हुँदैन। जति नै अप्ठ्यारो भए पनि हाम्रो उमेर छ, पाखुरी बलिया छन्। केही न केही गरौंला। किन दुःख मान्छ्यौ ?" गौतमले श्रीमतीलाई सम्झाउने प्रयास गरे।
त्यसैदिन टाढाबाट पाँच जना पाहुना आए।
"घरमा एक गेडो अन्न छैन, उधारो पनि कसैले पत्याउदैन, अब के गर्ने ?" भन्ने सोच्दै दुवै अँध्यारो अनुहार लाएर मुखामुख गर्दैथिए।
छोरा बुहारीको अनुहार पढेर आमाले पटुका खोल्दै भनिन्,"पाहुना टार्ने खर्च छैन होला लु यसैबाट काम चलाओ!"
विराटनगर , मोरङ्ग।
निरौला प्रसाद नारायण
+++
७. लघुकथा - बुढ्यौली -बालकृष्ण गजुरेल
बिमला राई नर्स थिइन् । उनी बिहान विहान अस्पताल जान्थिन् । एक्कासी एनजिअोमा जागिर मिल्यो । पन्ध्र सय डलर खान थालिन् । राई तथा जनजातिको हिसावले संस्थाले मानवअधिकार कर्मी बनाइदियो ।
चार तारे होटलमा मदिराको चुस्की लिँदै एक साँझमा भनिन्, " बाल, युवा, बयस्क तथा बृध्द अवस्था सामान्य प्रकृतिको नियम हो । स्विकार्दै जानुपर्छ । " सबैले थपडी बजाए ।
बेलुकी खान खाएर सुतिन् । सासू बिरामी परेको निकै भैथ्यो । बृध्दाको ढाड घुँडामा पीङ्ग खेल्न थाल्यो । उनी बेला बेला ख्वाक्क ख्वाक्क गर्थिन् । बिमलालाई रिस उठ्यो । उनले बम्कँदै भनिन्, " यस्ता असती घरमा भएपछि रातमा निदाउन किन पाइन्थ्यो ?
+++
८. लघुकथा- हराएको क्याम्बिस -सोमकुमार सुब्बा
एक बिहानीपख।सधैं झैं म दौडमा जान तर्खरमा थिँए।क्याम्बिस भेटिएन। चप्पलमैं कुदेँ।आजको दृश्य भिन्नै थियो।सडकमा युवाहरूको भन्दा, वृद्धवृद्धिको ताँती बढी थिए।कोइ लाठीको भरमा,कोइ साथीको भरमा।कोइ योग साधना,कोइ प्रणायाम,कोइ ध्यान र कोइ कसरत गर्नमा व्यस्त थिए।त्यो समूहमा मेरो पितापनि थिए।म अचम्म मान्दै अघि बडे।त्यो दिनदेखि यो सिलसिला जारी नै रहयो।मलाई पनि सामान्य लाग्न थाल्यो।
केही महिनापछि एक साँझ।मेरो पिता खुशीले गदगद हुँदै आए।मैले अचम्मिन्दै सोधेँ।
"के भो बा,आज निकै खुशी देखिनु हुन्छ त?"
बाले केही नभनी एउटा कागत र खाम मेरो हातमा थमाइदिनु भयो।प्रमाण पत्र रहेछ। मैले पढे।
"सबैभन्दा बढी उमेर पुगेका सुस्वस्थ व्यक्तिलाई(पिताको नाम) सम्मान स्वरुप ज्येष्ठ सम्मान पत्र।"औ खाममा पचास हजार नगद रहेछ।
मैले मनमनै कार्यक्रम आयोजित समितिप्रति धन्यवाद चढाउदै पिताको पाउ ढोके।हराएको क्याम्बिस चिने।
+++
९. लघुकथा– माया –रञ्जना रिजाल
‘तपाईंलाई हाम्रो माया रत्तिभर रहेनछ ।’ अकस्मात मैले मामूसामु मुख खोलेँ ।
‘कहिल्यै यस्ता हावादारी कुरा नगर्ने यो कान्छीको मन आज किन मात्तिएछ ।’ मामूको मुखबाट निस्केको ध्वनि मेरा कानमा परिहाले । उहाँले भाउजूलाई फोन दिइसक्नुभएको रहेछ । पुनः मामूकै हातमा मोबाइल दिन भने भाउजूलाई । यस अघि पनि मोबाइल भाउजूले नै दिनुभएको थियो ।
‘आफ्नो ज्यानभन्दा बढता माया गर्छु मेरा प्यारा छोराछोरी र नातिनातिनालाई । मेरो मन नबुझीकन माया गर्दिनस् भन्दा चित्त फाट्दो रहेछ ।’ मामूले रुञ्चे पाराले स्पष्टीकरण दिन खोज्नुभयो ।
‘त्यसो त अझै भन्छु र भनिरहन्छु ।’ यसो भनेर मैले मामूलाई अझ तडपाउन पुगेँछु ।
‘तँ चुरा फुटाएर आमाको माया जाँच्न खोज्छेस् ? सात समुन्द्र पारी बसेर बडो फुटानी लगाउँदी रहिछ ।’ यस पटक भने मामूको मन बलास्ट भयो ।
हत्तपत्त मैले भने; ‘नङ काट्दा हाम्रो नङ कोत्रियो भने पनि तपाईंलाई चिन्ताको पहाडले थिच्छ ! दिनदिनै पिएको धुँवाले तपाईंको शरीर गाल्दै लगेको देखेर चाहिँ हामीमा कसरी खुशियाली छाउँछ त ?’
२०८०.०६.१२ काठमाडौं, हाल– अमेरिका ।
०००
१०. लघुकथा– खुलेका आँखा –गजल आचार्य
–तपाईं खाली कचकच गर्नुहुन्छ; तपाईंको नजिक पर्नै मन लाग्दैन ।
–तिम्रो उमेर काँचो छ । त्यसैले बुझाइ पनि काँचै रहेको बोध गराउँछ ।
–काँचो र पाको बुझ्दिनँ; मेरा कामकुरामा कसैको हस्तक्षेप रुचाउँदिनँ ।
मेरो यस्तो बोली सुनेर हजुरबा शान्त हुनुभयो । ओठ मात्रै चलमलाएको भेटेँ । आवाज सुनिनँ ।
स्कुल जान लाग्दा सधैँ हजुरबा भन्नुहुन्थ्यो– कसैसँग अप्रिय वचन निस्केला कि भनी हेक्का राख्नू । हरेक पिरियडमा नयाँ के सिकेँ भनी नोट गर्नुू ।
सत्तरी कट्दा पनि ३० वर्षे जवानको फुर्ती देखाउनुहुन्थ्यो पहिले । आज केही नबोली टुलुटुलु हेरिमात्र रहनुभयो ।
‘आज केही भन्नुभएन त हजुरबा ?’ मेरो यस सवालको जवाफमा उहाँले भन्नुभयो; ‘नातिनी सानी छिन् भन्ने ठानेको रहेछु ।’
‘मेरा कुराले मन दुखेछ, सरी हजुरबा ।’ मैले कान पक्रँदै माफी मागेँ ।
उहाँले हँसिलो मुहार बनाएर थप्नुभयो; ‘मायाले मेरा आँखा टालिएका रहेछन् । आज तिमीले खोलेर चिन्ता मुक्त पारिदियौ ।’
२०८०.०६.१३, कक्षा–४, श्री बुढानिलकण्ठ आवासीय मावि, गोलबजार–४, सिरहा ।
०००
+++
११. लघुकथा– असिना –लक्ष्मी रिजाल
मैले भित्र डयाङ् कि ड्याङ लाठीले सिरक कुटेको देखेर वरपरका छरछिमेकी आत्तिए । मानिसहरू आँगनमा जम्मा भए ।
बोल्ने आँट कसैले गरेन । नातिनी आएर लाठी पक्रिई । म रुकिनँ । अझ न्वारानदेखिको बल झिकेर पिट्न थालेँ । असिनपसिन भएकी थिएँ । मलाई रोकिने मन थिएन । शरीरमा तागत हराए्र गयो । नचाहँदा नचाहँदैमा रोकिनु प¥यो ।
‘तेरो बुद्धि कहाँ गयो नानी ?’ काम बिग्रेको देखेर मैले व्यङ्य मिश्रित सामान्य प्रश्न सोधेको सझिएँ ।
त्यसबेला नातिनीको उत्तर आएको थियो– खोलैखोला बाख्रालाई घाँस काट्न गएको छ । प्रेमले बोलाए फर्कंन्छ; नत्र उत्तै गुम हुन्छ ।
‘उम्रेर दुई पातका भएका छैनन्; वचनका सुइराले घोच्न कत्ति सिपालु !’ मैले मनमनै भनेकी थिएँ । ओठ चलाएर रडाको मच्चाउन चाहेकी थिइनँ ।
‘हजुरीको रिससँग जम्काभेट कहिल्यै भएको थिएन । आइन्दा बचनले चिमोट्ने छैन ।’ यसो भन्दै उनले कान पक्रिरहिन् । उनको दीनहिन हालतका सामु मेरो अहङ्कार तातो भेटेको असिना भयो ।
अनायासै मेरा हात कान पक्रेका उनका हात छुटाउन पुगेछन् । मेरो मुहारमा पूर्णिमाको जून देखा पर्दा नपर्दै उनको आवाज सुनियो– साना मान्छेले ठूला मान्छेको इज्जतमा धावा बोल्न खोजे आफैं भड्खारामा जाकिने निश्चित रहेछ ।
०००
२०८०.०६.१४ कंचनरुप १२, सप्तरी ।
+++
१२. लघुकथा– संकल्प –विष्णु भण्डारी आचार्य
तिर्थ जाने कुरो चल्यो । धनन्जयले पनि बुबाआमा र आफ्ना जोइपोइलाई भनेर चारओटा टिकट लिए ।
यो कुरा सुनाएदेखि पवित्राको झर्कोफर्को अचाक्ली नै बढ्न थाल्याे ।
एकचाेटि त धनन्जयले सुन्नेगरी नै भनिन -“त्यस्ता अकडा बुढाबुढीलाई लिएर डुलाउन जानुपर्ने ।”
“हत्तेरीका किन रिस झर्को फर्को गर्छ्याै ,सबैले आफ्ना बाआमालाई तिर्थ लाने भने , मैले पनि टिकट लिएँ के भोत , मान्छे धर्म गर्न काँ काँ पुग्छन ,
जीउदा भगवान आफ्नै घरमा छन् । पहिला हामीलाई कति दुःख गरेर हुर्काउनुभयाे , उहाँहरूको लागि हामीले के गर्न सकेकाछाैँ ? तिर्थ लान सकियो भने भारा काटिन्छ, कस्तो नबुझेकी तिमीले ।”
“अँ कट्छ भारा, अरू छोराछोरीले चैँ नलाँदा नि हुने, के हामीलाई मात्रै भारा लाग्ने हो ? म त जाँदैजान्न तपाइँ मात्रै लिएर जानोस ।” रुखाे बाेली निकालिन् पवित्राले।
साथीहरूको अघि लाजमर्दो , धनन्जय एक्लैले भएपनि लानैपर्ने भयो ।लिएकाे चारअाेटा टिकट पवित्रा नगएपछि एउटा टिकट कसलाई भिडाउने वा फिर्ता कसरी गर्नेहोला !
भोलीपल्ट विहानै हिड्नुपर्ने भएकोले पवित्रासँग बोलचालै नभै निस्के धनन्जय। त्यो दिन रिसले पवित्राले भात पनि पकाकी थिइनन् ।
साँझपख पबित्राकै बुबाआमालाई लिएर एकैचोटी घरभित्र छिरे ।
एक्कासि पवित्राको खुसी मिसिएको बोली फुट्यो ।
लोग्नेपट्टि फर्किदै भनीन् “हैनहौ खोइ..... तपाइँपनि, कुरा रहस्यमै राखेर मेरो दिमाग चाट्न खुब सिपालु हुनुन्छ हैन त, शुरूमै भन्नुपर्छ नि, यतिखेर म तिर्थ जानको लागि सामानतुमन तयार परिसक्थेँ ।”
हस्याङ फस्याङ गर्न थालीन् । धनन्जयलाई टिकट फिर्ता नगर्न पनि भनीन् ।” लोग्नेको उदारता देखेर मनमनै संकल्प गरीन । अर्कोपल्ट सासुससुरालाई लिएर तिर्थ अवश्य जानेछु र उहाँहरुलाई सधैँ सम्मान दिनेछु ।
विष्णु भण्डारी आचार्य
बेलबारी—८ मोरङ
+++
१३. लघुकथा- वृद्धावस्था -सुरेशकुमार पाण्डे
"गाउँगाउँ खान पाएन भन्दै हिँड्ने तर घरमा दिएको नखाने । केहो यस्तो तपाईको पारा ? " - बुहारी शर्मिलाले ससुरा कलानिधीमाथि आक्रोश पोखी ।
" के भनेर बुहारी मैले त कतै केही पनि भनेको छैन् ।तिमीलाई कसैले अनाहकमा लाइने कुरा लगायो कि ? " -कलानिधीले सफाइ दिँदै भने ।
हजूरले नै भन्नुपर्छ र ? सिरानकी भाउजुका घरमा गएर आटो मागेर खाए त भैगो नि । के मलाई थाहा हुँदैन र ? " -शर्मिलाले चर्को स्वरमा प्रतिप्रश्न तेर्स्याइ ।
ृ" होइन बा ! के हो यो हजूरको र शर्मिलाको दिनहुको कचकचले म आफै पनि दुःखी भएको छु । हजूरलाई गाउँमा किन खानुपर्यो जे खाए पनि त घरमै खाए हुन्छ नि !? "
नरहरीले बीच बचाव गर्दै भन्यो । " ऊ भर्खर कामबाट घर फर्किएको थियो ।
" भैगो ! हजूरले उचाल्नु पर्दैन् बालाई धेरै !
बरू घरमा मकै भट्मास जे पाक्छ त्यही खानुपर्छ; भनेर भन्दिनुहोस् आफ्नो बालाई । " शर्मिला फत्फताउँदै भान्छाकोठामा गई ।
नरहरीले शर्मिलाको कथन सुनेपछि आफ्नो बातिर पिर्लुक्क हेर्यो ।
उनको मुखमा एउटा दाँत पनि थिएन आँखाभरी आँशु थियो ।
- दाङ घोराही - १८ ।
१३अश्विन २०८०(३०-०९-२०२३)
+++
१४. लघुकथा- सोझो सत्य -सूरज गजुरेल
तेलियागाउ, तेजपुर (असम)
- ‘जुन दिन देखि आखॅा नदेख्नेले देख्न थाल्छ नि, सर्वप्रथम उस्ले फ्याकि पठाउने जिनिस भनेको नै उस्लाई अफ्ठ्यारा दिनमा साथ दि आएको उस्को चिर परचित लौरो हो….।’
- ‘किन तेसो भन्नु भएको ? एस्ता निराशाजनक कुरा सुहाएन हई तपाईजस्तोको मुखमा।’
- ‘कहिले नसुहाउने, अहिले सुहाउने भयो। समयको चक्र कहिले माथि, कहिले तल।’
- ‘ह्वैन, के भयो आज ….।’
- ‘आज ममा बितेको, भोलि कसैकोमा बित्ला। कुनै दिन तिमिमै बित्ला। यो समय चक्रको चाल … बडा कठोर छ अनि अवश्यमभावि पनि ।’
- ‘खै… मैले केहि बुझ्न सकिन …..’
- ‘आफुलाई परे पछि सबैले बुझ्ने कुरो हो। अ… नपरून्जेल बुज्ने बिरलै होलान ।’
- ‘कस्तो कुरो घुमाएर बोल्नु हुदैछ ….’
- ‘यो कुरो मात्रै किन, समस्यानै घुमौरो छ, जटिल छ।’
- ‘छोरा बुहारी उच्च शिक्षित, बिदेशमा नाम कमाई बसेका ठुला मानिस, छोरी जुवाई पनि देश भित्रै उच्च पदमा आसिन । नाती नातीना खाईलाग्दा होनहार विद्यार्थी । तपाई पनि अवकाश प्राप्त सरकारी अधिकारी, चुस्त-तन्दुरूस्त काया । सबै तिर जय जय फेरी पनि के को गन गन … निराशाका कुरा ?’
- ‘सबै साचो र सत्य हो तर यो त बाहिरी दुनियान हो, मन बाहिरको संसार । अरूलाई के थाहा मन भित्रको दुनिया कस्तो छ, मनको संसारमा के चल्दै छ ?’
- ‘तो त मनको मालिकले नै जान्ला …’
- ‘हो…. तेई सत्यनै एत्रोबेर देखि सुनाई रहेको छु। यो मेरो मात्रै कथा होईन, सबैको हो…. परिवेश परिस्थिति अनुसार स्थान कालको भेदले बेग्लै अलग्गै देखिने।’
- ‘अहो… सारै जटिल र मार्मिक समस्याको उठान गर्नु भयो त।’
- ‘हो… तर आदिकाल देखि भई आएको… आफैले नभोगुन्जेल बुज्न नसकिने…..।’
एक बृद्धको र एक अधबैसें तन्देरीको बिचमा वार्तालाप चलिनै रहेको थियो। धेरै सुख दुखका तानावाना बुनिए होला। बृद्धले पनि आफ्ना मनभित्रका अटाई नअटाई गुम्सेका दुखेसो पोखे होला । तर मलाई हतार हुनाले सरक्क तेहाबाट हिडि पन्सिए…।
अनि तपाईहरूको मन मस्तिकमा एतिखेर चलि रहेको भाव तरंग जस्तै ति बृद्धका बिदेश बस्ने उच्च ओहोदाका छोरा बुहारी, राम्रो घरवार गरि बसेका छोरी जुवाई अनि वरिपरिको समाज र तिहा बस्ने हामीजस्तै मान्छेहरूको धेरै कुरा, विम्व, प्रतिविम्वहरूले मेरो मन मस्तिकमा पनि हलचल मचाउदै घर गरि बसे…. ।
+++
१५. लघुकथा- हाँसीखुसी -पूजन न्यौपाने
हरि दाइ कति फूर्तिलो हो के तपाईं त?किन मोहन के फू्र्तिलो भएँ र म?
अनि यो उमेरमा पनि तपाईं यसरी काम गर्नु हुँदो रहेछ।हेर बाबु सक्ने काम त गरेकै राम्रो हो नि।फेरि त्यसै धुमधुम्ती बस्न पनि त पट्यार लाग्छ नि।
दाइ म त तपाईं ओछ्यानमा नै सुति राख्नु हुन्छ होला,केही गर्न सक्नु हुन्न होला भन्ने सोच राखेर तपाईंलाई हेर्न आएको थिएँ।तर म त यहाँ आएर चकित भएँ।तपाईं त नातिनातिनीलाई गृहकार्य सिकाउने,तरकारी केलाउने,काटकुट गर्ने जस्ता काम गरेर घरको काममा सघाउनु हुँदो रहेछ।
दाइ जस्तो परिस्थिति भए पनि रमाउन जान्नु पर्छ भन्ने कुरा तपाईंलाई हेरेर प्रष्ट हुन्छ।
भाउजू बितेको तीन वर्ष भइ सक्यो।उमेरले सत्तरीको हाराहारीमा हुनुहुन्छ र पनि यसरी हाँसीखुसी जीवन व्यतीत गरि रहनु भएको छ।
मोहन संसारमा आए पछि मर्नु त एकदिन छँदै छ।फेरि एकजनाको मृत्युुले उसका आफन्त सबैको जीवन ढप्प पनि त बन्दैन ।ऊ मलाई छोडेर गए पनि उसका मायाले सिर्जेको यो घर त मसँगै छ नि।अनि फेरि यी कलिला मुना नातिनातिना मसँगै छन्।श्रवण कुमार जस्तो छोरो छ।आफ्नो पितालाई जस्तै माया गर्ने बुहारी छे।म दु:खी भएर बसेँ भने त यिनीहरूलाई पनि त खल्लो हुन्छ नि।
जति बाँच्छु हाँसीखुसी नै रमाएर बाँच्न पाइयोस् ।के गर्नु दमको रोगी भइयो।यो अक्सिजन सधैं लगाउनुपर्छ। नत्र त म यतिबेला सम्ममा त राजबिराज बजार एक चक्कर लगाएर आइ सक्थेँ।
समाप्त
+++
सप्तकोसी न.पा.१ फत्तेपुर,सप्तरी ।
+++
१६. लघुकथा- घुइँचो -तुलसी पण्डित
छोरा तिमीले हठ मात्र गरेका छौँ । यति ठूलो उद्योग खोलेका छौँ । तर मैले भनेको पटक्कै मानेका छैनौं । "बाबा तपाईं ढुक्क हुनुहोस् हाम्रो उद्योगको सामान निकै राम्रा र बलिया छन् । त्यसैले यो बढी मात्रामा बिक्नेछ । "
समय बित्दै गयो । उत्पादित सामान सबै बजारमा गएर बसे । बिकाउनै गाह्रो भो । सामानले बजार पाएको छैन । छोरोले सोच्यो । " के भयो । कहाँ कमजोरी भयो । अझ अचम्म यति राम्रो सामान पनि बिकेन । बाबाले भन्दै हुनुहुन्थ्यो । मैले भनेको कुरा अप्नाउ छोरा । नत्र जति ठूलो उद्योग खोले पनि घाटामा चल्नेछ ।"
ऊ बाबा छेउ पुग्यो । बाबाले भनेको कुराले उसलाई घच्घचाइ रहेको थियो । उसले सोच्यो । "त्यस्तो के उपाय होला । जसले उद्योग सफलताका साथ चलाउन सकिन्छ ।"
बाबा घरै रहेछन् । जो शिक्षकबाट निवृत्त भएर बसेको पनि दस वर्ष भएको थियो । उसले वृद्ध बाबाको खुट्टामा टाउको राख्दै भन्यो । "बाबा म उद्योगबाट डुबे ?" " के गर्ने मैले भनेको थिए मानिनस् । त्यो तरिका अप्नाएको भए तँ मालामाल हुने थिइस् ।"
"बाबा अहिले मलाई पछुतो लागेको छ । वृद्ध भएका बाबु आमाले के नै सल्लाह दिन्छन् र भन्ने जस्तो लाग्यो । अहिले परे पछि चेत फिरेछ । के हो बाबा उद्योगलाई सफल बनाउने सुत्र ?"
"उत्पादित सामानको विज्ञापन र पुरस्कारको कुपन प्रथा । त्यो पनि सामान किनेपछि उत्ति खेरै कुपन तान्ने । अनि सामान किन्ने मान्छेको घुइँचो हुन्छ ।"
+++
१७. मैथिली लघुकथा- देवता -प्रेम विदेह
- बुढबा -बुढियाके सेवामे खूब लागल रहैछी कर्णजी!
- माए-बापके सेवा कएनाइ त धर्मे छै ने ?
- हम त ओतेक मतलब नइँ रखै छिऐ।
- ई ठीक नइँ भेल वर्माजी।
- आइकाल्हि बुढबा -बुढिया बड्ड तङ्ग करै छै बेटा -पुतहुके। भटर -भटर भरिदिन बोलिते रहै छै।पोतापोतीके सेहो चयन नइँ रह' दै छै।
- देखियौ वर्माजी,मनुक्ख बूढ भेलापर बच्चेसन भ'जाइ छै।बच्चे बूझिक' सेवा कर' पडत।माए-बाप साक्षात् देवता होइ छै यौ।...........अपन बचपन याद करू ने।कतेक तङ्ग कएने होएबनि हुनकासभके।तैयो पोसलक,पाललक,सिनेह देलक।
( वर्माजी मूडी गोँति लैछ।)
- आब मतलब रखबै ने ?
- अहँ।
- बुढारीमे दस्सा करबै कि ?
- हँ,करबै।
- साँचे ?
- झूठे!हाहाहाहा................
( कथाको मुख्य भाव नेपालीमा)
कर्णजी र वर्माजी दुईजना साथी परस्पर कुरा गर्दै छन्।कर्णजी आमाबाबुलाई सेवा गर्ने पात्र हुन् , वर्माजी खासै वास्ता नगर्ने पात्र।बुढो भएपछि मान्छे बच्चाजस्तो भै हाल्छ।उनको खरो व्यवहार सहेर सेवा गर्नुपर्छ। आमाबाबु साक्षात् देवता हुन् भनेर कर्णजी साथीलाई सम्झाउँछन्।अनि वर्माजी साथीको उपदेश आत्मसात् गरी आकर्षक पारामा जवाफ दिन्छन् । २०८०/६/१३ जनकपुरधाम
+++
१८. लघुकथा- महत्त्वपूर्ण पुस्तक -खगेन्द्र बस्याल
दैलातुङ्ग फाँटमा बिदा हुने बेलामा ताराले हिरालाई भने" तपाईंले पाँच छ घण्टामा पढ्न सकिने महत्त्वपूर्ण पुस्तक ल्याउने छु भन्नुभएको थियो ,पुस्तक पढन त के कुरा टाढाबाट दर्शन गर्ननैं पाइएन।"
हिराको जवाफ रह्यो " देखेर पनि नपढेपछि मेरो के लाग्छ र! सवै समय आफ्नै छोराछोरीको तारिफ गर्न मैं खर्चनु भयो ।सायद् यसैले मैले ल्याएको महत्त्वपूर्ण पुस्तक चिन्न सक्नु भएन।"
ताराले भने" पहिले पहिले राजनीतिका कुरा गर्न निकै चासो लिन्थें।जुन जोगी अाएपनि उस्तै देखेपछि यो बाटो अँगालेको हुँ । तपाईंले पुस्तक दिनु भएको भएता पनि तपाईं संग कुराकानी नगरी रहन सक्दिनथें।"
हिराको कुरा रह्यो " संगै पढ्न सकिन्थ्यो नि!"
ताराले अचम्म मान्दै सोधे " संगै पढ्न सकिने पनि पुस्तक हुन्छ र!"
हिराले बताए " संगै चासोका साथ पढ्न सकिने पुस्तक हुँदोरहेछ भन्ने दैलातुङ्ग फाँटमा आएर प्रमाणित गर्ने मेरो धोको थियोे ,त्यो पूरा हुन बाँकी रहेको चाहना बिर्घा गएर पूरा गर्नु पर्ला।"
ताराले गम्भीरतापूर्वक सोधे " पढ्न नपाए पनि त्यो पुस्तक त देखाउनुस्।"
हिराले संगै गएका अन्दाजी बहत्तर बर्षिय पाहुनालाई देखाउँदै भने "उहाँ संग पशुपालन तथा कृषिमा कसरी चमत्कार ल्याउने भन्ने बिषयमा राम्रो ज्ञान छ।के स्वयंमा उहाँ निकै महत्त्वपूर्ण संगै बसेर पढ्न सकिने पुस्तक होइन त!"
* तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही । ०८० असोज १३
+++
१९. लघुकथा- आदेश -राजकुमार कार्की
"बेलामा जचाउनुभन्दा टेर्या होइन ।अहिले दस थरी समस्या ।",भन्दै रमा राजेशलाई घोच मार्छिन्।
"अब झगडा गरेर भयो त भोलि नै काठमाडौ जानू छ।"
"त्यसोभए खोजेर जानू।माग्ने ठाउँ सकियो।चारैतिर साहू नै साहू के गर्ने ?"
रमा र राजेश राजेशको नियमित जाँचको लागि राजधानी जानुपर्ने भएकाले खर्च जुटाउन नसक्दा आपसमा गलफत्ती गर्छन् ।
एक्कसी रमा मसिनो स्वरमा," हिजो बुवाले बृद्धभत्ता झिकेर ल्याउनु भएको छ क्यारे !माग्नू नि!"
"माग्नु त हुन्थ्यो बुढाको पहिले चलाएको फिर्ता गर्या छैन ।कुन मुखले माग्ने?"
रमा उठेर भान्सतिर लागिन्।राजेश आफ्नो स्वास्थ्य अवस्था र गरिबीको मारबाट थकित हुँदै टोल्हाई रहेको हुन्छ।
"कान्छा तँ भोलि जँचाउन जाने भन्ने सुन्छु ।हामीसँग त केही सल्लाह गर्दैनौ के हो?"
झस्किदै ,"राजेश ,जाने भन्या त हो बुवा खै...!!"
"अनि किन अन्कनाको त ?हेर! माकुराका बच्चा माउ खाएर हुर्किन्छन तर माउले बच्चा कहिले खाँदैन।", भन्दै बुवा गोजीबाट पैसाको मुठा झिकेर दिँदै,"स्वास्थ्य जस्तो कुरामा खेलवाड नगर भोलि नै जँचाउन जा।" समाप्त २०८०/६/१२/
कटारी-१ उदयपुर
+++
२०. लघुकथा- उपचार -नन्दलाल आचार्य
# सबै सुख दिइस्; अब मात्रै एक पटक दु:ख दे ।
# म बालाई सुख दिन जन्मेको हुँ । दुःख दिन मेरो संविधानमा लेखेकै छैन ।
# नलेखेको भए लेख् ।
# आफ्नो अनुकूल संविधान फेर्दै हिँड्न चाहन्न ।
# म तेरो बाउ, तँ मेरो छोरो ! म भन्छु, तँ समयानुकूल काम फत्ते गर् ।
यसरी बुबाले जिद्दीको महाभारत ठड्याउनुभयो । म हायलकायल भएँ । चौरासी गरिसकेका बुबाको मन चिमट्ने साहस आएन मेरो ।
म पग्लेको देखेर हात जोड्दै उहाँले भन्नुभयो, "तेरो सेवामा कुनै कमजोरी छैन । तँ मेरो विन्ती बुझिदे । मलाई आनन्दको श्वास फेर्न दे ।"
"जीवनसँग जुध्नुको मज्जा अर्थोकबाट पाइन्न ।" मनमा यस्तो विचार आउँदै थियोे । बुबाको दयनीय अवस्थाले गर्दा आँखा र ओठले एकसाथ धर्म छाड्न पुगेछन् ।
बुबाले नै मनमा ऊर्जा भरिदिनुभयो र भन्नुभयो; "माया र भावनाको पिछलग्गु बन्दा धोका मिल्छ, वास्तविकताको पछि लागे संसार जितिन्छ ।"
म शान्त भएँ । मन बलियो बनाएँ । उहाँको उपचारमा अनेक ठाउँ पुर्याएको र सबै ठाउँबाट घरै फर्काउन भनेको सम्झेँ । शारीरिक पीडाले उहाँ हर्दम छट्पटिएको साक्षी म स्वयं थिएँ ।
बुबासँगै चौबीसै घण्टा रहेर पनि उहाँको मन पढ्न नसकेकोमा म घोत्लँदै थिएँ; उहाँको बोली सुनेँ; "पीडाले छट्पटाउँदै हरपल मर्न सक्तिनँ अब ।"
मैले जिज्ञासु नेत्रले उहाँतिर हेरेँ । उहाँले थप्नुभयो; "डाक्टरको रोहबरमा सिर्फ एकै पटकमा सेलाउने कानुनी उपचार गरिदे ।"
२०८०-०६-१४ सिर्जनाकुटी, सिरहा ।
+++
२१. लघुकथा- सम्बन्ध -रमेशचन्द्र घिमिरे
गाउँका स्थानीय नेताको देहावसान भयो । उनी कुनै अमुक पार्टीका सक्रिय कार्यकर्ता थिए ।
सख्त बिरामी परेदेखि नै सहरिएका र बिदेसिएका छोराछोरी एवम् बुहारीहरूले बालाई स्याहारसुसार अनि रेखदेख गरेकै थिए ।
एक दुईजना आफन्तहरूलाई कुर्नुपर्ने थियो, ती पनि सबै आइसके ।
यता रुवाबासी चल्दै थियोे । उता गाउँलेहरूले तयारी पूरा गरिसकेका थिए ।
`अब दाहसंस्कारका लागि ढिलो गर्नुहुन्न, गइहाल्नुपर्छ । यहाँ राखिराख्नु भनेको सबैलाई रुवाउनु मात्रै हो ।´
गाउँलेहरू भन्दै थिए ।
घाटमा लगेपछि पनि धेरै बेर नै कुर्नुपर्ने भयो ।
`किन अल्मल्याई राखेका होलान्, है ?´ एउटा गाउँलेको प्रश्नमा अर्को गाउँलेले उत्तर दिए,` नेतालाई कुरेका रे नि त !´
धेरै ढिला गरेर नेता आए, श्रद्धाञ्जलि दिए, झन्डा ओढाए र `हतार छ´ भनेर फर्किहाले ।
पछि दुईचार जना मात्रै दाजुभाइ र आफन्त त्यहाँ रहे । तिनीहरूसँग मृतकका परिवारको पार्टीगत भन्दा पनि आत्मीय सम्बन्ध बढी थियो ।
--------
२०८०/०६/१३ भोर्लेटार, लमजुङ
+++
२२. लघुकथा- वरदान -सविता भट्टराई
जनकपुरधाम।
आज "जेष्ठ नागरिक सम्मान दिवस"टोल सुधार समिति ले भव्य कार्यक्रम को आयोजना गरेको छ।
उनीहरूले टोल सुधार समिति मा अरु के के थप कार्यक्रम हरु गर्ने?जेठ नागरिक बाट सुझाव लिने। सर्वोत्कृ्ट नागरिक सम्मान गर्ने।आदि कार्य क्रम राखेका छन्।
कार्य क्रम सुरु भयो सर्वोत्कृष्ट जेठ नागरिक सम्मान असी वर्षीय हरी प्रसाद जी लाई दिइयो।
अन्त्यमा युवाहरुले "सर्वोत्कृष्ट जेस्त नागरिक " कसरी बन्न सकिन्छ?साथै टोल सुधारमा के के आवश्यक छ "भनेर वहाँलाई सोधे।
हरि प्रसाद लठ्ठी टेक्दै मञ्चमा जानु भयो र भन्नु भयो"हेर् बाबु हरु हामी जेष्ठ नागरिक हरुले जीवनको ओरालो लागे पछि आफ्नो खुशी भन्दा आफ्नो परिवारको खुशीमा रमाउनु पर्छ।घरमा शान्ति भयो भने घर नै मन्दिर तुल्य हुन्छ।फेरि यो निर्जीव उपहार भन्दा मेरो परिवारले मलाई दिएको खुशी नै मेरो असली उपहार हो ।यो सम्मानको हकदार मेरी बुहारी हुन ।
हाम्रो आगामी कार्यक्रम मा सार्वजनिक स्थलमा वृद्धाश्रम भन्दा हामीलाई" चौतारी पार्क" "को खाँचो छ।जहाँ हामी बोट बिरुवा रोपेर वातावरण लाई अक्सिजन युक्त बनाउन चाहन्छौ।साथै हामी हाम्रो वृद्धभत्ता मिलाएर एउटा अक्षयकोष खडा गर्छौं।जहाँ सारो गारो परेको बेलामा एक अर्कालाई मदत गर्न सकौं। हामी वृद्ध हरू बोझ होइनौ वरदान हो भन्ने आगामी पुस्ताको लागि सन्देश बनाऔं।भन्दै आखाबाट आँशु खसाल्नु भयो।वहाँको कुरालाई थपडी बजाएर युवाहरुले थप सम्मान दिए।
+++
२३. लघुकथा- पूजा -गंगा खड्का
"लौ न सर ,प्रमुख अतिथिको आशन ग्रहण नगराई कार्यक्रम सुरु नगर्ने भनेर कुर्दाकुर्दै हजुर त निकै ढिलो पो हुनुभयो त !"
ज्येष्ठ नागरिक दिवसको अवसरमा आयोजना हुन लागेको कार्यक्रमको आयोजकले आधा घण्टा ढिला आइपुगेका प्रमुख अतिथिलाई भने ।
प्रमुख अतिथिले कत्ति पनि नहडबडाई भने ," तपाईंहरुले कार्यक्रम चाँडै राख्नुभएछ । म घरका देवी देवतालाई खुसी नपारिकन कहिल्यै घरबाट बाहिर निस्कन्नँ । "
" अनि घरका देवी देवतालाई खुसी पार्न र पूजा गर्न हजुर नै चाहिन्छ र ? अरुले नि गरे हुन्न र ?"
आयोजकको जिज्ञासालाई पूर्णविराम लगाउँदै प्रमुख अतिथिले भने," हाम्रो घरका देवीदेवताको पूजा सबैले सधैँ गर्ने चलन छ । त्यही भएर त मेरा वृद्ध बाबाआमा कहिल्यै परिवारका मायाको भोका भएर छट्पटिनु परेको छैन नि ।"
बूढानीलकण्ठ , काठमाडौँ
२०८०-६-१३
+++
२४. लघुकथा- दीर्घायुको रहस्य -लक्ष्मण ज्ञवाली
विदेशबाट छुट्टी मनाउन घरमा आएको पनातिले जिबालाई मुसार्दै प्रश्न सोध्यो, "जिबा हजुर कति वर्षको हुनुभयो ?"
कान कम सुन्ने जिबाले 'के भन्छ हँ" भन्नुभयो ।
पनातिले जिबाको नजिकै गएर पुन:सोही प्रश्न दोहोर्यायो ।
बल्ल जिबाले उत्तर दिनु भयो । "म १0४ वर्षको भएँ ।अब आउने चैत्र २५गते बाट १०५ वर्षको लाग्छु ।"
"ओ माई गड " पनातीले दङ्ग पर्दै भन्यो, "यतिका वर्ष कसरी बाँच्न सक्नु भयो त ? मलाई पनि बताउनुस न जिबा ! पनातिले जिज्ञासा राख्यो ।
जिबाले भन्नु भयो, "मैलेभनेका कुरा राम्ररी सुनेर आफ्नो जीवनमा लागु गर है बावु ।
घरमा बनाएका शुद्ध चिजहरू मात्र खानु ।
अखाद्य वस्तु ( जंक फुड ) नखानु ।
समयमै खाना खानु ।
समयमै सुत्नु र मस्तसँग निदाउनु।
बिहान भुक्भुकोमा (सूर्योदय सँगै )उठ्नु र नुहाइ धुवाइ सर-सफाई नियमित गर्नु ।
ब्यायाम,खेलकुद गर्नु
अध्ययन निरन्तर अगाडि बढाउनु ।
सकारात्मक कुरा सोंच्नु र सबैको भलो चिताउनु ।
परोपकारी सहयोगी बन्नु ।
सादा जीवन उच्च बिचार राख्नु।
भुत (विगत)बाट पाठ सिक्नु
भविष्यप्रति आशावादी बन्नु चिन्ता नगर्नु।
वर्तमानको चिन्ता गर्नु।
आज राम्रो गर्नु ।आज राम्रो कर्म गर्न सके भूत,भविष्य वर्तमान सबै सप्रिन्छ।
यिनै दिव्य वाणी सुनाउँदै जिबाले पनातिलाई दीर्घायुको रहस्य बताउनु भयो।
पनातिको शिरमा हात राखी अश्रुमिश्रित नयनले पनातिको चेहरा नियाल्दै आशिर्वाद दिदै भन्नु भयो - संसारको जुनसुकै ठाउँमा रहेपनि आफ्नो देश, आफ्नो धर्म ,भाषा , संस्कृति, आफ्ना परिवार आफ्ना मान्छे नविर्सिनु नि !
जिबाको दीर्घायुको रहस्यले हर्षान्वित बनेको पनातिले जिबालाई भन्यो, हजुर अझ धेरै वर्ष बाच्नुस है ! म अर्को पटक हजुरको बर्थ डे मनाउन धेरै गिफ्टहरू लिएर नेपाल आउछु ल !
तिलोत्तमा १
नीलगिरिपथ
शंकरनगर रूपन्देही ।
२०८०/६/११
+++
२५. लघुकथा- चीसाे छाती -याेग भैरव
"उसका अाफ्ना सपना त थिए नै हाेलान् , त्यसमाथि हामीले हाम्रा अधुरा सपना पनि उसकै थाप्लामा थाेपरेर निकै ठुलाे मान्छे बनायाैं बाबू ! अनि कसरी समय निकालाेस हामीलाई भेट्न अाउने ? हामी त उसका बाबुअामा हाैं , उसका समस्या बुझ्छाैँ ; तर अरुले त बुझ्दैनन् नि । हामी त याहाँ अाश्रममा अारामले बसेका छाैँ , ऊ पाे विचरा यसबेला कहाँ हाेला ? के गर्दै हाेला ? बेलैमा खायाे खाएन ? " अठहत्तर वर्षीय शान्ताले परेलीका डिल नाघेर छचल्किन लागेका अाँशुका थाेपाहरूलाई राेक्न खाेज्दै, मलीन अनुहारकाे बाबजुद अाेठमा बनावटी मुस्कान ल्याउने काेसिस गर्दै भनिन् । तथापि उनका अाँशुकाे कुण्डमा डुबेका अाँखाहरू अनन्त अाकाशकाे शुन्यमा केही खाेजिरहे जस्ता देखिन्थे । शान्ताले यसाे भनिरहँदा दशरथका उदास अाँखा शान्ताकाे चाउरी परेर झाेल्लिएकाे अनुहारमा विष्मयसूचक भावमा एकटकले टिकेकाे बत्तीकाे मधुर प्रकाशमा पनि स्पष्ट देख्न सकिन्थ्याे । सायद उनकाे मनले शान्तासङ्ग " तिम्राे छाती कति चाैडा छ, पीडाकाे
बिस्कुन जति सुकाए पनि हुने " भनेर प्रश्न गरिरहेकाे थियाे ।
दशरथका अाँखामा अब उनकाे अतीत नचिरहेकाे थियाे । हुनेखाने घरमा हुर्केकी शान्ता एउटा सामान्य परिवारमा बिबाह भएर भित्रिएकी थिइन । त्यसैले उनलाई एउटा निम्नमध्यम वर्गीय घरका सीमाहरू थाहा थिएनन्
र थाहा पाएर सीमामा बाँधिन पनि चाहिनन् उनले । यही भएर त छाेराका सबै ईच्छा पूरा गर्नुपर्छ भन्ने जीद थियाे उनकाे । एकदिन स्कुल जने समयमा भावेशले दस रुपैयाँ माग्दा अाफुले दिन नसकेपछि शान्ताले उनलाई सम्झाउँदै भनेकी थिइन " हैन ! एउटा छाेराेकाे यति सानाे अावश्यकता पनि पूरा गर्न सक्नुहुन्न हजुर। मान्छेका छाेराहरू कस्ताे एेशअाराममा हुर्केका छन , हाम्राे भने ... ।" यस्तै यस्तै गुनासाहरू रहन्थे शान्ताका दशरथसङ्ग ।
"अरुकाे त कमाई हाेला र पाे त , अाफु त प्राथमिक विद्यालयकाे मास्टर परें , के गराैं ।" संझाउन खाेज्दै भनेका थिए - दशरथले शान्तालाई ।
शान्तालाई एकटकले निहारिरहेका दशरथका अाँखाबाट अाशुकाथाेपा खसे र माटाेमा बिलाए । त्यसपछि ऊ वर्तमानमा फर्कियाे । उसका अाँखा अहिले चाहिँ अाकाशबाट चुडिएर धरतीमा झर्दै गरेकाे तारालाई निहारिरहेका थिए ।
यत्तिकैमा शान्ताकाे सानाे माेबाईलमा मुटु नै थर्काउने गरी टीरिङ्ग टिरिङ्ग घण्टी बज्याे । उनले मलीन अाँखाले ठम्याउन खाेज्दै माेबाईलमा नाम हेरिन । छाेराे भावेशकाे नाम देख्ने बित्तिकै शान्ताकाे अनुहार सिकुवामा बलिरहेकाे वत्तीभन्दा पनि तेजिलाे भएर धपक्क बल्याे ।
शान्ताले हत्तपत्त बटम दबाएर माेबाईल कानमा लगाईन । उताबाट अाएकाे अावाज स्पष्ट सुन्न सकिन्थ्याे। ऊ अाफ्ना एकाेहाेराे भन्दै थियाे " अामा ! ढाेग गरें । हेर्नुस न अाज म दैशैंकाे टीका थाप्न अाउन पाईंन । के गर्नु , छाेराछाेरीले दार्जिलिङ घुम्न जाऊँ भनेकाेले उनीहरुकाे खुसीकाे लागि यता अाएँ । हेर्नुस न ! मन्त्रालयकाे कामले अरुबेला भेट्न अाउने फुर्सद पनि मिल्दैन । तपाईं त मेराे कुरा बुझ्नुहुन्छ नि अा...मा.." भावेश अाफ्नाे सफाई राख्ने प्रयास गर्दै थियाे । शान्ताले सल्लाकाे रुख सुसाए झैं सुसाउँदै -" हाे बाबू ! म तिम्रा कुरा बुssझ्छु " भन्दै माेबाईल कानबाट बिस्तारै हटाउँदै गईन । माेबाईल अाफ्नाे दलिल पेश गर्दै थियाे ; तर शान्ताकाे छाती चिसिदै चिसिदै गइरहेकाे थियाे ।
+++
२६. लघुकथा- पुरस्कार -बाँस्कोटा धनञ्जय
सुधीर अहिले कक्षा ७ मा पढ्छ । बिहान ट्युसन पढ्न जान्छ । दिउँसो विद्यालय जान्छ । त्यहँबाट आएपछि ऊ खेलकुदको लागि विद्यालयकै खेलमैदानमा जान्छ । बेलुका खानापछि मोबायलमा टाँसिन्छ, अनि घुप्लुक्क निदाउँछ ।
सुधीरको यो दिनचर्याले उसका बाआमा, हजुरबा हजुरआमा सबैसंगको समीप्यता कमजोर बन्दैथियो । सम्वादहिनता जस्तै थियो । ऊ कसैसंग पनि खासै बोल्दैनथ्यो ।
‘भाग लियो नि, कहिल्यै जितिने होइन ! बोल्न पनि आउँदैन । ट्युसनमा पनि त्यही होमवर्क गर्न मात्रै सिकाउँछन् । के बोल्नु बोल्नु ! ममी बाबालाई विजिनेस भए अर्थोक चाहिंदैन .......स्कुलै नजाउँ जस्तो लाग्छ ।’
अपरान्ह सुधीर उसका बाआमा आइपुन्नुभन्दा पहिले आइपुगेर लुगा फुकालेर भुईंमा प्mयाँदै फलाक्दै थियो ।
उसका हजुरबा बार्दलीमा घाम ताप्दै थिए । उनले पनि सुने ।
‘नाति, के भयो? किन रिसाएको ? यता आइज त!’
‘किन पनि होइन !’
हजुरबा सुधीर भएकै ठाउँमा गए ।
‘म केही जान्दिनँ, हो । तर मान्छेले गधा, काग, सर्पबाट पनि शिक्षा लिनुपर्छ भनेर हामीले पढेका थियौं । म त तिम्रो हजुरबा !’
‘तपाईंले के गर्न सक्नुहुन्छ र ? सहरीया जीवनभन्दा गाउँले जीवन राम्रो भनेर वक्तृत्वकला प्रतियोगितामा मैले भोलि कक्षामा बोल्नु छ !’
‘भरे म भन्छु है त, नाति !’
भेलिपल्ट सुधीरका बाबुआमा बजार बन्द भएकाले घरमै थिए । सुधीर विद्यालयबाट हाँस्दै हाँस्दै आयो । पुरस्कार र प्रमाणपत्र झोलाबाट झिक्यो, अनि हजुरबालाई अंगालो हालेर रुन थाल्यो । उसका बाबुआमा ट्वाल्ल परे । जादु भयो । यस्तो दृष्य त्यस घरमा पहिलोपटक देखिएको थियो ।
‘बा केही जान्दैनन् भन्नुभएको होइन ? उहाँले सिकाउनु भएका कुरा मैले सप्पै कापीमा टिपें, त्यही बोलें, र फस्ट भएँ । हजुरबाबाट सिक्नुहोस, डेडीममी !’
हजुरबाको अनुहारमा चमकता र उनका छोराबुहारीको अनुहारमा ग्लानी प्रष्ट देख्न सकिन्थ्यो ।
दमक, झापा
+++
२७. लघुकथा : सहारा ✍️कल्पना भण्डारी
"मैना आज बुबालाई अलि सन्चाे छैन राम्रोसँग हेरबिचार गर है" भन्दै सन्ताेष कार्यालय गए । घरधन्दा सकेर उनी फेसबुक हेर्न लागिन् । विरामी ससुराबा बिहानै खुवाउनुपर्ने औषधी खुवाउन बिर्सेछु भन्दै मैना बुबालाई खाजा र औषधी खुवाइन्।
सन्ताेष कार्यालयबाट घर आउने बेलामा गाडीमा एकजना आमाले "बाबु मलाई छाेराबुहारीले घरबाट निकाले । मेराे जाने ठाउँ कतै भएन । आज एकदिन बास दिनुहोस् न बाबु" भनेर सन्ताेषकाे पछिेपछि लागिन् । सन्ताेषलाई पनि माया लागेर आयाे र घरमा लिएर आए ।
मैनाले बुढासँग काे आएकाे हाेला भन्दै हेरिरहिन् । सन्ताेषले सबै कुरा बताए ।
खाना खाने बेलामा ससुरबा र आमा दुवै जनालाई सँगै राखेर खाना दिइन् । खाना खाएर दुवै जना गफ गर्दै आ-आफ्ना दु:खहरू सुनाउन थाले । सन्ताेष पनि बुबाको छेउमा गएर बसे।
सन्तोषका बुबाले भने "छाेरा, तँलाई धेरैधेरै धन्यवाद । म यी दु:खी आमासँगै मिलेर बस्न चाहन्छु ।" सन्ताेषले खुसी हुँदै भनेे "दुवै जना खुसी हुनुहुन्छ भने म हजुरहरू बाँचुन्जेल खुसी हुनुहोला र एकअर्कालाई खुसी राख्नुहोला, बधाइ छ ।" यति भनेर सन्तोषले एकअर्काका हातमा हात राखिदिए ।
सिन्धुपाल्चोक
हाल काठमाडाैँ
+++
२८. लघुकथा- युग -मनोहर पोखरेल
“झण्डै लडेको, हेरेर त हिडनुपर्छ !” छोराको झिझ्याहटले विस्मित भएँ । काँधमा झोला भिरेर सिढीबाट ओर्लिदा लौरोले ठाउँ छाडेर लरबरिएको थिएँ ।
तोती बोल्न र तातेताते गरेर हिंडाएको छोरा झर्कोफर्को गर्दै थियो । थाङ्गना धोएर, मायाले हुर्काएको छोरा चिटिक्क बनेर हिंडन उपदेश फलाक्दै थियो- “कमिजको टाँक पनि तलमाथि छ, कलर पनि दोब्रिएको छ, पाखे नै हुनुभयो ।”
बाल्यकालको छोरा सम्झदै गर्दा त्यतिबेला जिवित रहेका बुवालाई सम्झिएँ । तत्क्षण छोरा युगको ठाउँमा आफूलाई र आफ्नो स्थानमा बुवालाई उभ्याएँ । म पनि बुवालाई सम्झाइ रहन्थे “कति पुरानो कपडा मात्र लगाएको, दाह्री किन नकाटेको, जुत्ता नलगाई चप्पल लगाएर किन निक्लिएको ।”
यसपछि बुवा विस्तारै शक्तिहीन र असमर्थ बन्दै जानु भएको थियो । वाकक्षमताले सबैलाई मुग्ध बनाउने बुवाले मौनता साँध्नु भएको थियो । अह्राउने, सिकाउने बानी बदलिएर सुन्ने बानी विकसित भएको थियो ।
“बाबा जाने होइन ।” नातीको आवाजले झस्किएँ । लगत्तै पुरानो स्मरणबाट बर्तमानमा आएँ । हतारहतार कमिज ठिकठाक पारे । नातीलाई स्कुल पुर्याए । फर्किदा बुवाले झैं दूध र तरकारी किनेर ल्याएँ । आफ्नो दैनिकी सम्झे । बिजुली, फोन, खानेपानीको बिल तिर्न जानु पर्नेछ । दिनभरी घर कुरुवा बस्नु छ । साँझ फुलबारीमा पानी पटाउनु छ, लुगा उठाउनु छ ।
भोगाईसँगै बुझाईको गहिराईमा डुबेको शिथिल मनले सोच्दै थियो, “म पनि विस्तारै बुवा बनिरहेको छु ।”
राजविराज-६, सप्तरी
+++
२९. लघुकथा- सम्मान -अच्युत घिमिरे
सुकिला दुई युवायुवतीले भरियालाई हकारे-
चार तले घरमा इङ्कित गर्दै -" याे भारी माथि पुर्याइदे।"
भरिया सम्भवतः बिरामी थिए ।
भारी हेरे,निक्कै गह्रुङ्गाे देखिन्थ्यो र केही नबाेली निहुरिएर बसिरहे।
युवकचाहिँले काेट्याएर झपार्दै भन्याे-
"हिजाेअस्ति त लुरुक्क टेर्थिस् त । तलाई लाज लाग्दैन, तेरो कामै भारी बाेक्ने हाे। पर्खी, तलाई अब मेराे घरकाे पेटीमा बस्नै दिन्न।"
युवती पनि युवकलाई साथ दिँदै थिई।
युवायुवतीका कर्कस आवाज सुनिरहेकाे उसले भरियालाई नियालेर हेर्याे -
लगभग पचहत्तर वर्षका,सेतै कपाल फुलेका ती बुढा भरिया बाकाे अवस्था देखेर उसलाई माया लाग्याे ।
कस्तो निर्दयी युवक रहेछ,बुढा बाकाे कमजोर अवस्था त प्रष्ट देखिएकै छनि । लगभग पचास कटेकाे उसले मन थाम्न नसकेर भन्याे -
"उहाँ बिरामी जस्तो देख्नु हुन्न । तपाईंको त्यत्राे भारी कसरी बाेक्ने ? " युवक ऊसँग पनि जाई लाग्यो । उसले मूर्ख युवकसँग बाेल्न उचित ठानेन र आफ्नाे बाटो लाग्यो । र दिनभरि मनमा एउटै प्रश्न खेलाइरह्याे -
अहिलेका पुस्ताले बुढाबुढीलाई गर्ने सम्मान यही हाे ?
achyutghimire01@gmail.com
माे. ९८५१११४०६६
+++
३०. लघुकथा- महसुस -उमानाथ दाहाल
शिवसताक्षी नगर पालिका झापा
" बाबा ! हजुरबालाई अर्को कोठामा सारिदिनु न " प्रान्जलले आग्रह गर्यो ।
" के भन्छ यो ? किन सार्नु ?" बाबाले जान्न खोजे ।
" रातभरी खोक्नु हुन्छ, सुत्नै पाँइदैन । कस्तो घिनलाग्छ मलाई " प्रान्जलले कारण बतायो ।
" तेस्तै त हो बुढोपाको मान्छे , घिन मान्नु हुदैन ?" बाबाले सम्झाए ।
उनले अझै थपे " हजुरबा पनि पहिले तिमी जस्तै सानो हुनुहुन्थ्यो, अलि पछि हामी जस्तो हुनुभयो, अहिले बृध्द हुनुभयो । सबैको पालो यस्तै हो " । उनले बुझाउन खोजे
" नाईँ म त , कस्तो गाह्रो भएको छ आफुलाई " । प्रान्जलले असहमति जनायो ।
बाबाले भित्र गएर हजुरबाको बाल्य अवस्थाको फोटो ल्याएर देखाउँदै भने " यी यो हेर त , हजुरबाको सानाको फोटो । अहिले तिमी यस्तै छौ , पछि तिम्रो पनि हजुरबा जस्तै हुने दिन आउँछ । अनि तिम्रो नातीले तिमीलाई पनि कोठा सार्नु घिन लाग्यो भन्यो भने कस्तो लाग्ला ? सके घरै सार्नु भन्देला " ।
प्राञ्जल केही नबोली बाबाको मुखमा हेरिरह्यो । अनि हजुरबाको फोटो हातमा लिएर एकछिन् हेर्यो र बाबा पट्टी फर्केर भन्यो " होस् नसार्नु, बरू राम्रो दवाई ल्याइदिनु " ।
+++
३१. दोस्रो लघुकथा- बाको तस्बिर-नारायण कोइराला
मेरो विदेशको कमाई र बा'को स्वदेशकै मिहिनेतले हाम्रो लागि घर बनिसकेको थियो। घर बनाउने बेलामा बा'को साथी नजिकैको ठूलो रुख थियो। मेरो मरुभूमि ।
अहिले बा'को मृत्यु भइसकेको छ।त्यो रूख बुढो भएर सुक्ने अवस्थामा छ। रुखमा नवदुर्गाको पूजा गरेर बा'ले बाँध्नु भएको घण्टी देख्दा मेरो आत्मबल बढ्छ।घण्टी र रुखमा बा'को तस्बिर देख्छु। बाले मलाई छहारी दिनुभएको थियो भने , "त्यो रुखले बा'लाई।" घण्टी र रुख दुबैलाई बा'को चिनोको रुपमा राख्न चाहन्छु। मनमा कुरा खेलाउँदै विस्तारामा पल्टिएँ।
मध्ये रातमा जुरुक्क उठेर विस्तारमा बसेँ। सपनामा सुनेको घन्टीको आवाज र बा'का शब्दहरू मेरो मस्तिष्कमा गुँन्झिए।
अहिले रुखको काठबाट नवदुर्गाको मन्दिर बनेको छ । घण्टी र बा'को तस्बिर मन्दिरमा सझाएर राखेको छु।
ता.न.पा.७ लामडाँडा लुम्बिनी प्रदेश तानसेन,पाल्पा
+++
३२. लघुकथा- सम्मान -शान्ता तिम्सिना
भक्तपुर
"तँ त कहिले पनि, बुढो नभएस् है बाबू ! रोग लागेर ओछ्यानमा थला पनि नपरेस्।
दु:ख गरेर भए पनि छोरालाई अथाह सम्पत्ती कमाइदिएस् । एकमात्र सन्तानलाई राम्रो संस्कार दिएस् ताकी भोलि मेरो जस्तो दु:ख तैले खेप्नु नपरोस्।"
नातिको साथमा आमा भेट्न पुगेको छोरालाई एकोहोरो आमाले सम्झाउदै थिइन् । घर छोड्ने बेला छोराले भनेका वचनरुपि बाँण उनका गलामा अड्किरहेका थिए । उनी अरु केही नबोली आफ्नो कोठामा छिरिन् ।
आमाको खुट्टा ढोग्दै नातिले छेउमा गएर भन्यो , " आमा ! हजुरको जुठो खाएर हुर्केको म , हजुरले दिएको सँस्कार कहिल्यै पनि भुलेको छैन मैले । बाबाको जस्तो व्यवहार कहिले गरिन । सदा बाबालाई असल बन्न सम्झाइरहें । बाबा पनि आज त हजुर जस्तै बन्नु भएको छ। असल आमाको नाति म ।"
"हजुरले भन्नू भएको थियो नि ! ठूलो मान्छे मात्र हैन , अशल बनेर परिवार र देशको सेवा गर्नु पर्छ भनेर , हो ! आज म त्यही स्थानमा छु ।"
"अब म कमाउने भैसकेको छु , आमा ! हजुरले दिनु भएको सँस्कार बिर्सेको छुइन । आज सम्पत्ति पनि कमाएको छु ।हजुरलाई सम्मान गर्छु, अनि बाबालाई पनि । अब हामी सबै सँगै बस्ने है ! "
हर्षका आँसु झार्दै नातीको कार चडेको देखेर आश्र्मका सबै बृद्ध बृद्धाहरु आँखाभरी आँसु पार्दै कार गुडेतिरै हेरिरहे।
2080/6/14
+++
३३. लघुकथा- सन्देश -लक्ष्मीप्रसाद पौडेल
--"खरिदार बा, नमस्कार ! सञ्चो छैन भन्ने सुनेर आएको हुँ ! कस्तो छ स्वास्थ्य हजुरको ? "
--"ठिकै छ । यो उमेर नै यस्तै हो । घामछाँया । परेलीको डिल सुख्खा हुनुहुँदैन, घरिघरि सम्झाउन आइपुग्छन् मौसमी बिरामहरू। "
खरिदार बा चार छोरा दुई छोरीका धनी थिए उबेला । छोराछोरी सानैदेखि लक्षणका थिए । कुनै शंका/ द्विविधा थिएन उनलाई सन्तानमाथि । संस्कारी । छोरीको अंग दानपछि आफू मालमा जागिरे भएको बेला नै पछि के कसो हुन्छ, नेपाली मालअड्डाको रवैया उस्तै हो भनेर चार छोरालाई सरोवरी भाग लगाएर पुर्जा कागज जिम्मा लगाएका थिए ।
पहाडी भूगोल भएपनि छोराहरूलाई पढेको पढाएका थिए । बरू छोरीहरू ठगिएका हुन् । जेठोले प्रवेशिका माथि चढ्न सकेन । ठेकेदार बन्यो जिल्लातिर । माइलो छ दुना अक्षर पढेर भारत पस्यो । उतै घरजम चलायो । साइँलो गाउँमा माष्टरी गर्दैथ्यो । कान्छो सामाजिक छ , बाबुआमासँगै छ । समाजमा भुल्नेहरू अक्सर घर गाउँ छोड्दैनन् ।
मैले छोराहरू कता छन् भनेर सोध्न नभ्याउँदै बुढाले मेरो आशय बुझेछन् । मेरो पल्याकपुलुक हेराइले उनलाई जिस्काएछ ।
-- "केही काम थियो कि कान्छासँग ! बिना काम त मान्छे डुल्दैन आजकल ? " उनले सोधे।
--"त्यस्तो खासै केही थिएन । अलिकति जेठो वसन्तसँगको व्यवहार थियो हाम्रो सहकारीको ?"
---"ए , त्यसो पो ! तिमी मेरो हालखबर बुझ्न होइन, तेरो छोराको रिन छ भनेर भन्न आएका हौ ? जाऊ ! जसरी आएका थियौ त्यसरी नै । ऊ बस्दैन आजकल यो घरमा ! उ त्यो बाँझो पाखो हो त्यसको भाग । त्यही बेच । असुल । सोधेका थियौ, बुझेका थियौं मसँग ? "
बुढा झोक्किए । गाँठो रहेछ भित्र जेठोदेखि ।
"अंश भाग लिएर भिन्न भइसकेका छोराको धन पनि उसैको, ऋण पनि उसैको । न दाजुभाइको कर न बाबुआमाको भर ! जो गर्छ सोही भोग्छ ! मेरो बुढेसकाललाई नगिज्याउँदा राम्रो बाबु ! "
'घरखेत बाँझो राखेर रिनले अन्न बेसाए, न देश उभो लाग्छ न छोरो ।'
धनगढी, कैलाली
२०८०/०६/१४
+++
३४. लघुकथा : बुढेसकाल -पदमप्रसाद दाहाल
शिवसताक्षी ११ दुधे, झापा
पत्नीले नरम स्वरमै भनिन् , "पतिदेव ! अति भो, अब मैले यो सबैकुरा धान्न नसक्ने भएँ ।" पतिले आश्चर्य मान्दै सोधे ," के भो प्रिये ! कुरा खोलेर भन न !"
"कुरो के भने नि ! तिम्री आमाको ख्याक ख्याके खोकीले मलाई रातभर निद्रा परेन । छोरो रामूले राम्ररी पढ्न पनि पाएन । दिनभरको कचकच , जरो आयो , तातोपानी ले , दवाइ खुवा, केके हो केके ।" पतिले लामो सुस्केरा फाले , पत्नीलाई सम्झाए , "बुढेसकाल यस्तै हो , हामी पनि यही अवस्थामा पुग्छौं ।"
कुरा सक्न नपाई पत्नीले सन्किँदै भनिन् , "तिमीले दुइटामा एउटा कुरा रोज , कि मलाई त्याग कि आमालाई वृद्धाश्रममा राख ।" पतिले पत्नीलाई त्याग्न सकेनन् । उनीहरूले फकाएर आमालाई वृद्धाश्रममा लैजाने सल्लाह गरे । छ वर्षीय छोरा रामूले पनि बुवाआमाको कुरा अलिअलि सुन्दैथियो । उनीहरुले आमाको पाउ सुम्सुम्याउँदै भने , " हजुरलाई यो घरमा सन्चो भएन । केही समय वृद्धाश्रममा लैजान्छौं । त्यहाँ त ! हजुरकै उमेरका धेरै साथीहरू हुन्छन् , गफगाफ पनि मिल्छ ।"
आमाले गहभरी आँसु पार्दै भनिन् , "नानी ! तिमेरका बा पनि यही कोठामा बिते । म यहीं बस्छु यहीं मर्छु । जान्न वृद्धाश्रम।" केही सिप नलागेपछि पतिपत्नीले पुनः सल्लाह गरे । आमालाई मन्दिर घुमाउन लैजाने भनी वृद्धाश्रममा छोडेर आउनुपर्छ । ऊनीहरूले नम्र भएर आमालाई सम्झाए , "आमा ! हजुरलाई यो उमेरसम्म पनि तीर्थ घुमाउन सकेनौं , हजुर मन्दिर दर्शनका लागि तयार हुनुहोस् ।" आमालाई यो कुरा मन पर्यो । उनी तयार भइन् ।
पोकापत्यौरा ठीक पारेर हिंड्नै लाग्दा एउटा वाल आवाज आयो ,"खवरदार ! हजुरआमालाई लैजान पाउनुहुन्न । म पाल्छु मेरी हजुरआमालाई ।"
+++
३५. लघुकथा- मासु -रमेन्द्र कोइराला
इनरुवा -९ बबिया सुनसरी
" बाबू सयरुपैया देउ न । आज माघे सङ्क्रान्ती हो । मीठो मसिनो खानुपर्छ । " बाटो हिंड्ने गाउँलेसंँग आमाले मागिन् ।
" एकसे एक छोराहरू छन् त्यही पनि माग्नु पर्छ ?" छिमेकीले मुख बिच्काउँदै सय रुपैयाँ दियो ।
"के गर्नु बाबू ? आ - आफ्नो भाग्य हो ।" उनको भित्र कतै पीडा लुकेको महसुस हुन्थ्यो ।
" केही नबनाउनु यतै हुन्छ । " त्यस्तो वार्तालाप सुनेर नजिकैको छोरो बाबुरामले भन्यो । उसलाई आमाले अरुतिर मागेको मन परेको थिएन ।
" हुन्छ छोरा । " भनेर आमा आफ्नो घर गइन् । तीन छोराहरू गाउँमा छेउछाउ मै बस्थे। त्यैपनि व्यवस्थापन नमिलेर आमा भिन्दै बस्थिन्। छोराहरूले केही रकम भाग लाएका थिए जसले आमालाई पुग्दैनथ्यो । र घरीघरी कुनैकुनै मनकारीसँग माग्न पुग्थिन् ।
बाबुरामकी श्रीमतीले चाड अनुसारको मीठो मसिनो खाना तयार पारी र लोग्नेलाई खान बोलाई । लोग्ने थाल लिएर बाहिर गयो।
त्यो देखेर स्वास्नी कराई -"भित्रै बसेर खानु नि । बाहिर अरुले देख्छन् । "
स्वास्नीलाई सम्झाउँदै बाबुरामले भन्यो - " तिमीले आमाले देख्नुहुन्छ भनेको होला । आमालाई नदिई लुकेर खानु भनेको मान्छेको मासु खाए सरह हुन्छ ।"
+++
३६. लघुकथा– आँसुको पोखरी –अम्बिका बास्तोला
सधैँ क्रोधको आगो बल्ने गंगाप्रसादको घरमा आज विहानै रोदनको स्वर सु्नियो ।
उनी नब्बे कटेका थिए । अरुको सहाराले मात्र उठबस गर्थे । उनका दुई छोराका बुहारीहरू दिनभर उनी माथि नै शासन गर्थे । विहान बेलुका मात्र छोराहरू नजिक टुसुक्क बस्न पाउँथे । अझ बुहारीहरूले नै आफ्ना पतिसँग बाले यता फोहर गरे; उता त्यसो गरे भनेर कुरा लगाउँथे । त्यसैले छोराहरूको मुखबाट समेत कहिलेकाहीँ उनले अघाउँजी भनाइ खान्थे ।
‘दिसापिसाब गरेर टाउको खायौ बुढा ! अब हामी दुईदिदी बहिनीलाई खाएर मात्रै धर्ती छाड्ने रहेछौ ।’ जेठी बुहारी भन्थी ।
कान्छी दुलही गंगारामलाई घृणाले धकेल्दै भन्थी; ‘बाँच्नलाई मात्रै खानु, घाँटी भिजाउन मात्रै पिउनु क्या । भेटेपछि अलकत्रा पनि घिच्नुछ, अनि... ।’
बुहारीहरुले पर्याप्त खाना र पानीसम्म दिँदैनथे । गंगारामले मुस्किलले सास धानेका थिए । दयावती मरेदेखि गंगारामसँग कसैले मिठो मुखले बोलेन ।
त्यस घरमा मोबाइल हेर्दै बुहारीहरू छिल्लिएको आवाज मात्रै सुनिन्थ्यो । धेरै भए गंगाधरले मुख छोपेर खोकेको सुनिन्थ्यो । बरु उनले छोराबुहारीबाट खानुपरेको हप्किदप्की सुनिन्थ्यो । तर रोएको कहिल्यै सुनिन्थ्यो । आज सखारै ठूला मान्छे रोएको आवाजले चारैतिर आश्चर्य छायो ।
नजिकको छिमेकी चामबहादुर गएर आँगनबाट चियाउँदा देख्यो र सुन्यो– सिकुवामै गंगाराम आनन्दले सुतेका थिए । दुबै जोडी छोराबुहारी वरपर बसेर छाती पिटिपिटी अलापविलाप गर्दै थिए । नजिकै गोहीका आँसुले पोखरी तयार हुँदै थियो ।
२०८०.०६.१४ सप्तकोशी नपा. फत्तेपुर, सप्तरी ।
०००
३६. लघुकथा- बुढो बालक -गोपाल काफ्ले
"ई, दिन्छु तिमेर्लाई मेरो सम्पत्ति " खाउला ठूलो भाग । म मरेपछि मेरो सम्पत्ति खाउँला भनेर बस्याछन् आँ .. गरेर ...। याँ' भोकले मान्छे सिद्धिन लागिसक्यो । खाजा ल्याउलान् भनेर कुरेको कतिबेर भइसक्यो । ल्याउने कुरै छैन .... I थप्रेङको डिलमा चकटीमा बसेका हजुरबा कुर्लिए ।
विदेशी लाहुरेबाट रिटायर्ड हजुरबा बाघ नै ठान्दथे आफूलाई । हदभन्दा ज्यादै कडा स्वभावका हजुरबाको मुख झन् कडा थियो । जिब्रो बिछट्टै स्वादे थियो । उस्तै सुकिलामुकिला सफाचट हुनुपर्ने । बुढेसकालमा पनि उहाँको रापताप खप्न दाउरालाई पनि मुस्किल पर्थ्यो । गाउँलेको यही ठम्याइ थियो । यथार्थ पनि यही थियो ..।
सबै कुरा सहेर जे भन्यो त्यही पुर्याइदिने हजुरआमा अघि लागेपछि उहाँको अहंमा ठुलै धक्का पर्यो ।तर स्वभावले मजबुर उहाँको हठीपन , कडा बोली , अलिअलि अपशब्द मिसाएर बोल्ने आदत जाने कुरै भएन । सबै गाउँले एकमत थिए , - "अब बुढाबाले कुकुरले नपाएको दुःख पाउँछन् ... I "
समयले कोल्टे फेर्यो बुढाबाको बानी व्यवहार , बोलीचाली, जिद्दीपन , अहंताले टसमस गरेन । पुरानै व्यवहार लगातार चलिरह्यो .... I तर साना नातिनातिनी छोराबुहारीले बुढेसकालमा मान्छे बालकझैं हुन्छ 'बुढो बालक ' भन्ने कुरा यति राम्ररी बुझ्या' रहेछन् कि बच्चालाई जस्तै गरी खान लाउन खेल्न बोल्न चल्न ... हेरचाह र स्याहारसुसार गरिरहेका छन् आजकाल पनि । गाउँलेहरु हेरेका हेरै भए ।
"हजुरबाको छत्रछायाँमा बस्न पाउनु हाम्रो अहोभाग्य हो , उहाँलाई पाल्ने हाम्रो हैसियत कहाँ छ र ? भोलि हामी बुढो हुँदैनौं र ? " जेठो नातिले गम्भीर हुँदै भन्यो ।
छिमेकी पाकाहरू तिनैबाका जस्ता सन्तान र हेरचाहको अपेक्षा गर्छन् । तल्लाघरे साहिंलाबाले आँखामाथि हत्केलाले पाली हाल्दै भने , "सन्तान हुन् त बहादुर बुढाका जस्ता ... ! " धन्यवाद !
+++
३७. लघुकथा- उपहार -टङ्कबहादुर आलेमगर
रमेशले बुबा नभएको समय पारेर बुबाले हेर्ने तस्बिर हेर्याे, तस्बिरलाई ढाेगर छात्तीमा टसायाे । दुइथाेपा अश्रु खसायाे । तस्बिर दुइवर्ष अगाडि खस्नु भएकी आमाको थियोे । अर्को पेजमा च्यापेकाे चिट्ठी हेर्याे । हाँस्दै बुरुक्क उफ्रियाे ।
भित्तेपात्राे हेर्याे आज जेष्ठ नागरिक दिवश ।
हतारिँदै बाहिरियो । माेटरसाइकलमा झिक्न थाल्यो । रमेशकी श्रीमती कराई "कता हिँडेका । आज जेष्ठ नागरिकलाई सम्मान गर्न बृद्धाश्रम जाने हाेइन ?"
"भरै जाम्ला । पहिले घरको जेष्ठनागरिकलाई सम्मान गर्न परेन ?"
रमेश हुँइकियाे ।
तीन घण्टाकाे यात्रा पश्चात् घर आइपुग्याे । बुबाको काेठामा पुग्यो । आमाकाे तस्बिर र पुरानो चिट्ठी हेरेर घाेत्लीरहेकाे बुबालाई डाक्याे । बुबा तर्सेर तस्बिर र चिट्ठी लुकाउँदै "किन बाबू ?"
ढाेक्दै "आज विश्व जेष्ठनागरिक दिवस । सम्मान सहित शुभकामना । बाहिर आउनाेस् मेरो उपहार हेर्न ।"
"के उपहार बाबु ?"
बाहिर निस्केर हेर्दा बुबा फुरुङ्ग हुनुभयो । त्यहाँ त क्याम्पस जमनाकाे केटी साथी प्यारी चिट्ठीवाली पाे रहेछिन् ।
त्रियुगा नगरपालिका - ११, उदयपुर
काेशी प्रदेश
+++
३८. लघुकथा- डर -अन्जु शर्मा
रातोपुल(2080/06/14)
"बाबु ! मलाई कहिले पनि बैरो,लङ्गडो,अन्धो फोहरी नभन ल!"
" बा!म किन त्यसो भनौंला त?"म त हजुरको छोरा पो त!"
" क्या बाबू! उबेला जब तिम्रो हजुरबा बुढ्यौलीका कारण हुने समस्याबाट ग्रसित हनुहुन्थ्यो।त्यसबेला म अलि झर्कोफर्को गर्थे ।त्यो संझेर जतिबेला पनि मन कटक्क हुन्छ।तिमीले पनि त्यसै पो गरौलाकि भन्ने डर लागेर संझाएको नि बाबू!"
" हैन,तपाईंलाई आजकाल के भा छ हँ?रातमा पनि ,दिनमा पनि यतिकै बरबर गरिरहनुहुन्छ।फेरि तपाईंलाई घृणा गर्न तपाईंको छोरा यो देशमा बसेको छ र?सुखको खोजीमा बिदेश गैसक्यो उ त।"आमाले झर्केर बालाई गाली गर्नुभयो ।
" मलाई माफ गर्नुस् बा-आमा ।म फर्केर आए।म हजुरहरूको आस्थाको धरोहर हुँ,म कहिले गाली गर्दिन ।"म तरङ्गिदै बिउँझे।मेरो अगाडि बा र आमा मुसुमुसु हाँसिरहनुभएको।
" कामको बोझ पनि कति धेरै छ तिमीलाई ।कुर्सी माथि नै मीठो निद्रा निदायौ।"आमाले लामो श्वास फेरेर भन्नुभयो ।
+++
३९. लघुकथा - जीवन जिउने सूत्र -चिरञ्जीवी दाहाल
जब हामी बाबुछोरा केही दिनको नेपाल बसाइपछि अमेरिका फर्कियौं , मेरो छोरो डेभिडमा अनौठो परिवर्तन आयो । उसको बोलीचाली र चालढाल पहिले भन्दा निकै भिन्न थियो । ऊ निकै सोचमग्न भइरहे जस्तै लाग्थ्यो।
एकदिन उसले एक्कासि भन्यो “ बा म पुनः नेपाल फर्कन चाहान्छु । हजुरबासँग धेरै कुरा सिक्ने इच्छा छ । उहाँसँग जीवन जिउने अनगिन्ती सूत्रछन् । थाहा छ बा, उहाँले मलाई के भन्नु भएको थियो ?
“के भन्नु भएको थियो ? "
सायद आमा र तपाइँको सम्बन्धबारे सुइँको पाएर होला उहाँ भन्दै हुनुहुन्थ्यो “पति या पत्नीले एकअर्कालाई धन्यवाद दिन शब्दको सहारा लिइरहनु पर्दैन । आँखामा कृतज्ञताको भाव भए पुग्छ । कतिपय पतिपत्नीको सम्बन्ध एक अर्कामा धन्यवाद दिन नसक्दा टुट्ने गर्छ ।" सायद यही कुरा तपाइँले पनि बुझेको भए,आज आमा हामीसँगै हुने थिइन् ।
“जब हजुरबाले यसो भन्नु भयो,उहाँको ज्ञान र वाक्पटुताबाट म निकै प्रभावित भएको थिएँ । एउटा विश्वविद्यालयमा पढ्न नपाइने विषय हजुरबासँग पढ्न पाइनेरहेछ । उहाँ जस्तो जेष्ठ नागरिकको सान्निध्यमा रहन पाउने हो भने जीवनमा कायापलट हुने थियो । त्यसैले मैले नेपाल फर्कने निर्णय गरेको हुँ । कृपया मलाई नरोक्नु होला बा, म भोलि नै नेपाल जानेछु । ढिलो भए यो अवसर गुम्न पनि सक्छ ।" त्यसबेला मैले उसकी आमाको अनुहार झलझली सम्झिरहेको थिएँ ।
चितवन।
+++
४०.